नेविसंघको नेतृत्वलाई लंग आइल्याण्डमा स्वागत

AddThis Social Bookmark Button

लंग आइल्याण्ड,न्यूयोर्क,अगष्ट १२ । संयुक्त राष्ट्र संघको एक कार्यक्रममा सहभागी हुन नेपाली विद्यार्थी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यहाँ आएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर,महामन्त्री सरोज थापा र नेविसंघ वैदेशिक विभाग सल्लाहकार डिवी सुनारको स्वागतमा एक कार्यक्रम सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति,अमेरिका लंग आइल्याण्ड च्याप्टरले शुक्रवार साँझ विद्यार्थी नेताहरुको सम्मान र स्वागतमा यस्तो कार्यक्रम गरेको हो । आफुहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले राजनीतिक विचारमा संगठित वीपी कोइरालाद्वारा स्थापित नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्यहरुलाई प्रवासमा रहेका सबै नेपालीहरुको सहयोगी संस्थाको रुपमा सामाजिक गतिविधिमा क्रियाशील हुन आग्रह गरे । महरले पारस्परिक एकताका लागि समितिका सबैलाई आग्रह गरे । मुलुकभित्रै अन्तर्राष्ट्रिय गुणस्तरको परिणाममुखी शिक्षा दिलाउन सके अवसरका लागि युवाशक्ति विदेशतिर पलायन हुने काम रोकिने भन्दै महरले विदेशमा बसेका नेपालीहरुको मातृभूमिको चिन्ताबाट आफु प्रभवित भएको बताए ।

यथास्थितिबाट देशलाई छिट्टै समृद्वितर्फ लैजान नसके यूवाहरुमा नैराश्यता र विचलन आई ठूलो समस्या आउने हुँदा राज्यले ठोस दृष्टिकोणका साथ छिट्टै कार्यक्रम र योजना ल्याउनुपर्ने महरको भनाई थियो । राम्रो कामको सकरात्मक समीक्षा र गलत कामको आलोचना गर्ने आँट गर्न सवैमा आग्रह गर्दै विद्यार्थी नेता महरले सवै दलमा आफ्नो दल र आफ्नो मानिस कसरी ठूलो वन्ने, वनाउने  होडवाजी चल्नुभन्दा राष्ट्र कसरी ठूलो बनाउने भन्ने चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याए । चर्का, उत्ताउला ,उत्तेजित तथा असम्भव कुरा देखाएर आफ्नो पक्षमा पार्ने गलत संस्कारको विरोध गर्दै अनेकभाँती तर्क राखेर सत्यलाई पछि पार्न खोजियो भने राजनैतिक दलप्रति जनताको विश्वास रित्तिन सक्ने र त्यसको असर राष्ट्रमा पर्ने हुँदा सकरात्मक सोचले परिवर्तन सम्भव रहने बताउँदै महरले मन्तव्यको क्रममा देश समृद्विको दिशामा अग्रसर भएको छ भने । 

मुलुकको राजनैतिक अवस्थावारे चर्चा गर्दै नेविसंघ अध्यक्ष महरले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाको नेतृत्वको गठवन्धन सरकार संविधान कार्यान्वयन र देशलाई  एकतावद्व बनाउने अभियानमा लागेको बताए । 

विद्यार्थी नेताहरुलाई अमेरिकामा स्वागत गर्दै नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति अनान्द विष्टले समितिले महाप्रलयकारी भूकम्पका बेला मातृभूमि पुगेर राहत,उद्धार र सहयोगमा जुटेको र अमेरिकाको नेपाली समुदायको हितमा समिति सामाजिक सेवाभावले क्रियाशील रहेको चर्चा गरे । मुलुकका विभिन्न स्थानमा विद्यालय पुनर्निर्माण,विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामाग्री वितरण लगायतका कार्यहरु समितिले गरिरहेको समेत सभापति विष्टले अवगत गराए । सभापति विष्टले अब छिट्टै समितिका च्याप्टरहरुको अधिवेशन गरी केन्द्रीय महाधिवेशन गर्ने तयारीमा आफुहरु लागेको समेत बताए । समितिका विभिन्न च्याप्टरहरुले  रक्तदान लगायत अन्य सामाजिक कार्यक्रमहरु संचालन गरिरहेको सभापति विष्टको भनाई थियो । च्याप्टरका सभापति विश्वराज बाँस्तोलाको सभापतित्व र उपसभापति विनोद थापाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री सरोज थापा , नेविसंघ वैदेशिक विभाग सल्लाहकार डिवी सुनार, नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य परमानन्द खनाल , रक्तदाता अर्जुन मैनाली ,लंगआईलेण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकाल, पण्डित पिपलमणी सिग्देल ,नेपाली जनसम्पर्क समिति प्रशिक्षण विभाग सदस्य सुजन खनाल, संगठन विभाग सदस्य महेन्द्र साह, साँस्कृतिक विभाग सदस्य संखनारायण प्रजापति ,जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर सदस्य सुरेन्द्र वाँस्तोला लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

Add comment


Security code
Refresh