आँधीको यात्रा

AddThis Social Bookmark Button

चन्द्र रानाहँछा

 हातमा सपनाको फूल

र पाउमा घामको साइत बोकेर

पर्खिरहेछु अाँधीको यात्रा … ।

सखारैदेखि

मेरो बिदाइमा

गाइरहेछन् चराहरु

सुसाइरहेछ खोला

भुर्भुराइरहेछ आगो … ।

मलाई लिन

अँध्याराका सहश्र बाँधहरु भत्काउँदै

आउनेछ आँधी ।

कतै अल्मलिएला भनी बाटो देखाउन

मुस्कुराउँदै

उदाउनेछ जून ।

म हिँडेपछि –

गृहकार्य गरिरहेकी छोरीलाई

सोध्नेछन् अक्षरहरुले

जीवनको सौन्दर्य ।

एक्लै खेलिरहेको छोरालाई

टक्क रोकिएर बतासले

सोध्नेछ समय ।

साँझपख

आँसु पुछिरहेकी मेरी प्रियतमालाई

जलिरहेको मैनबत्तीले

बुझाउनेछ प्रेमको अर्थ ।

जुनबेला म –

गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन

सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।

काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न

उज्यालोको लौरो टेक्दै

पुगिसक्नेछु क्षितिजमा ।

मसँग –

मेरो हत्केला जो छ

मुठी कस्दा पृथ्वी बन्छ

मुठी खोल्दा आकाश खुल्छ ।

आमा !

यै हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै

एकदिन –

ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा ।

(नेपाल प्रज्ञा-प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा शुक्रवार राजधानीमा आयोजित राष्ट्रिय कविता महोत्सव ०७४ मा प्रथम भएको कविता) 

Add comment


Security code
Refresh