टिपीएसबाट ग्रीनकार्ड लिने बाटो खुल्यो

AddThis Social Bookmark Button

वासिंगटन डिसी,अमेरिका,अप्रिल ६ | यदि तपाईं गैर कानुनी प्रक्रियाबाट अमेरिका छिर्नु भएको थियो र यस बीचमा अमेरिकी सरकारले प्रदान गरेको अस्थायी सुरक्षाको सुविधा लिनु भएको थियो भने अब तपाईंले ग्रीनकार्ड समेत आवेदन गर्न सक्नु हुनेछ | तर त्यसका लागि तपाईंले निश्चित प्रक्रिया पुरा गरेको हुनुपर्नेछ | अमेरिकाका ११ वटा सर्किट कोर्ट मध्ये नवौं सर्किट कोर्टले केही दिन पहिले अस्थायी सुरक्षा अनुमति लिएका र अमेरिका छिर्दा कानुनी बाटो अवलम्बन नगरेकाहरुले ग्रीनकार्ड लिन सक्ने निर्णय गरेको हो | तर ग्रीनकार्डका लागि आवेदन गर्न पारिवारिक माध्यम अपनाउनु पर्नेछ |

यसलाई नेपाली कानुन व्यवसायीहरुले पनि निकै सकारात्मक निर्णय भनेका छन् | न्यूयोर्कमा बसेर अध्यागमन विषयमा नै वकालत गर्दै आएका अधिवक्ता बिनोद रोका नवौं सर्किट कोर्टको यो निर्णय कागजपत्रविहीन अवस्थामा बसेका सबै आप्रवासीका लागि खुशीको विषय हो भन्छन् | अधिवक्ता रोकाले ग्लोब नेपाल डट कम प्रतिनिधिलाई प्रतिक्रिया दिदैं भने,- यो पक्कै पनि राम्रो निर्णय हो | कागजपत्रविहीन भएर बसेका,श्रीमान्-श्रीमती मध्ये कोही एकजना गैर कानुनी अवस्थामा बसोवास गरिरहेका र अमेरिका छिर्दा कानुनी बाटोभन्दा अन्य बाटोबाट छिरेकाहरुले यो सुविधा लिन सक्नेछन् | 'तर त्यसका लागि पारिवारिक रुपमा श्रीमान वा श्रीमतीले कसैले स्पोन्सर गर्नुपर्छ'अधिवक्ता रोकाले भने | यस्तै निर्णय सन् २०१३ मा छैठौं सर्किट कोर्टले पनि गरिसकेको छ | छैठौं सर्किट कोर्ट अन्तर्गतका राज्यहरुमा टेनेसी ,केन्टकी,ओहायो,इन्डियाना लगायतका राज्यहरु छन् | यी राज्यहरुमा छरिएर रहेका नेपालीहरुको संख्या उल्लेख्य भएतापनि कागजपत्रविहीन नेपालीहरुको संख्या भने निकै कम रहेको सामाजिक अभियन्ताहरुको अनुमान छ | छैठौं सर्किट कोर्टको निर्णयमा पनि यस्तो आप्रवासीले अमेरिकी नागरिकसंग विवाह गरेको हुनुपर्ने उल्लेख छ |

नवौं सर्किट कोर्टको कार्य क्षेत्रका राज्यहरुमा अलास्का,एरिजोना,क्यालिफोर्निया,सियाटल (वासिंगटन),नेभाडा, आइडाहो,ओरेगान,मोन्टाना र हवाई राज्य पर्दछन् | यी राज्यमा बसोवास गर्ने कागजपत्रविहीन अवस्थामा रहेका तर टिपीएस सुविधा लिएका आप्रवासीहरुले ग्रीनकार्ड आवेदन गर्न पाउनेछन् | ग्रीनकार्ड आवेदन गर्नका लागि पारिवारिक सदस्य (श्रीमान्-श्रीमती मध्ये एक) ले स्पोन्सर गरेको हुनुपर्नेछ | जस्तोकि यदि कुनै आप्रवासीले अमेरिकी नागरिक महिला/पुरुषसंग विवाह गरेको छ तर विगतमा अध्यागमन कानुनले त्यस्तो आप्रवासी व्यक्ति गैर कानुनी माध्यमबाट अमेरिका छिरेको थियो/थिइन् भने त्यस्तो आप्रवासीले अब विवाहको कागजात राखेर ग्रीनकार्डका लागि आवेदन दिन सक्नेछन् |

कति नेपाली लाभान्वित होलान् ?

अमेरिकी सरकारले गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीलाई अस्थायी सुरक्षा अनुमति (टिपीएस) सुविधा प्रदान गरेको थियो | गत डिसेम्वरमा सकिएको एक वर्षको अस्थायी सुविधा पुन: नवीकरण गर्ने र पहिलो वर्ष आवेदन गर्न छुटेकाहरुले नयाँ टिपीएस सुविधाका लागि आवेदन दिन सक्ने व्यवस्था अमेरिकी सरकारले गरेको थियो | यद्यपि यसरी टिपीएस सुविधा लिएर लाभान्वित भएका नेपालीहरुको एकीन संख्याको कुनै आधिकारिक आँकडा छैन | तर अनुमानमा यसरी सुविधा लिने नेपालीहरुको संख्या सात हजार जति हुन सक्ने बताइन्छ | यी मध्ये पनि अधिकांश अमेरिकाका पूर्वी र दक्षिणी राज्यहरुमा बसोवास गर्नेहरु छन् भने पश्चिममा क्यालिफोर्निया राज्यमा बसेका कागजपत्रविहीन नेपाली आप्रवासीहरुले टिपीएस सुविधा लिएका छन् | यस बाहेक नवौं सर्किट कोर्टको कार्य क्षेत्रका राज्यहरुमा नेपालीहरुको बसोवास अत्यन्त न्यून छ र ती राज्यहरुमा बस्ने मध्ये प्राय: सबैले कानुनी प्रक्रिया पुरा गरेर बसेका छन् | जसका कारण नवौं सर्किट कोर्टको यो पछिल्लो निर्णयबाट लाभान्वित हुन सक्ने नेपालीहरुको संख्या अत्यन्त न्यून हुन सक्ने अनुमान छ | अधिवक्ता विनोद रोका पनि यस्तै अनुमान गर्नुहुन्छ | रोकाका अनुसार,यति नै नेपाली भन्ने आँकडा नभएकोले ठ्याक्कै भन्न सकिन्न तर मलाई लाग्छ त्यस क्षेत्रमा तुलनात्मक रुपमा थोरै नेपाली आप्रवासी मात्र लाभान्वित हुन सक्छन् | 

Add comment


Security code
Refresh