एनआरएन निर्वाचन: मिल्नुको विकल्प छैन

AddThis Social Bookmark Button

गौतम दाहाल

चुनावी माहौलमा होमिएको एनआरएन अमेरिकाको आगामी नेतृत्व सहमतिमा चयन गर्न सम्भव छ ? आजकै परिस्थितिमा जवाफ दिने हो भने सिधै छैन भन्दा गलत हुँदैन | तर नेपाली समाजमा के विश्वास छ भने अन्तिम घडीसम्म हुने पहलले अनपेक्षित परिणाम पनि निकाल्न सक्छ,सकिन्छ | यदी एनआरएनको हितलाई केन्द्रमा राखेर प्रयत्न गर्ने हो भने सबैले सम्मानजनक परिणाम हात पार्न सक्ने सम्भावना छ र यस्तै सम्भावनाको वरिपरि यो आलेख केन्द्रीत रहनेछ | आलेखमा कुनै पनि उम्मेदवार र उनका समर्थकलाई व्यक्तिगत रुपमा आक्षेप लगाइएको अर्थमा नबुझिदिनु हुन अनुरोध गरिन्छ | 

यसपटकको निर्वाचन मैदानमा नेतृत्वको हानाथाप गर्ने अध्यक्षका प्रत्यासीहरुमा पाँच जना छन् | वर्तमान कार्य समितिका अध्यक्ष डाक्टर केशब पौडेल,वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल,उपाध्यक्षद्वय राम सी पोखरेल र रबिना थापा अनि कार्य समितिकै सल्लाहकार गौरी जोशी | पाँच मध्ये अहिले नेपाली समाज मूख्य रुपमा जोशी,पौडेल र थापा पक्षमा विभाजित छ | स्वतन्त्र भूमिमा आफ्नो स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्छ | आफ्नो समर्थन जसलाई गर्न पनि व्यक्ति स्वतन्त्र छ | यस अर्थमा डाक्टर पौडेललाई आफ्नैले चुनौती दिए भन्नु उचित नहुन सक्छ | के पोख्रेलद्वय र थापाको वैयक्तिक स्वतन्त्रता र अधिकार छैन आफ्नो नेतृत्वका लागि अग्रसर हुनु ? यस अर्थमा पौडेललाई के चुनौती ? उनीहरुले आफ्नो निर्णय गरे,पौडेलले आफ्नो बाटो रोजे | यसलाई पौडेल समर्थकले उनले नेतृत्व जन्माए भनेर तिघ्रा ठटाउनु कुनै जायज तर्क होइन | पौडेलका लागि हिजोका आफ्नै गुट आज चुनौती बने जसलाई व्यवस्थापन गर्न र च्याप्टरलाई समेट्न पौडेल पूर्ण रुपमा असफल भएका हुन् | यो सत्य हो | यस अर्थमा पौडेलले दोश्रो कार्यकालका लागि नेतृत्वमा इच्छा जनाउनु व्यक्तिगत रुपमा जति स्वागतयोग्य भए पनि अन्य धेरै कारण सहज स्वीकार्य होइन,छैन | सम्भवत: यसको महसुस पौडेल स्वयम्ले गरेको हुनुपर्छ | 

आज उम्मेदवारी दिएर प्रचारमा उत्रिएका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षद्वयले पौडेलले हाम्रो कुरै सुन्दैनथे,सल्लाह समेत हुँदैन थियो,उनी केही व्यक्ति विशेषसंग मात्र सिमित भए भनेर आलोचना गर्नु पटक्कै उचित होइन | नैतिकताको कठघरामा सबैजना बराबर छन् | यदी त्यस्तो थियो भने कुनै दिन उनीहरु अध्यक्षले आफुहरुको सुझावलाई समेत बेवास्ता गरेको भन्दै सार्वजनिक रुपमा आए ? आएनन् | त्यसैले उनीहरुले चुनावको सम्मुख पौडेलको आलोचना गर्नु सस्तो लोकप्रियता खोज्नु र बलेको आगो ताप्न हानाथाप गर्नु बाहेक केही होइन | यस अर्थमा यी चारै जना विगत दुई वर्षको जस,अपजसको भागीदार हुन तयार हुनुपर्छ | 

चारै जना व्यक्तिगत रुपमा सक्षम हुनुहोला, तर यी चारले एक जना मात्र उम्मेदवार बनाउन र बन्न सकेको भए त्यसको सन्देशको परिणाम अर्कै हुने थियो | दोश्रो कार्यकालका लागि निरन्तरता दिन चाहने चिकित्सक पौडेल र आफ्नै नेतृत्व स्थापित गर्न अग्रसर पोखरेलद्वय र थापाका बीचमा सहमतिको केही पहल भयो तर आफुलाई केन्द्रमा राखेर मात्र | जसका कारण त्यस्तो प्रयास सफल भएन | 'यहाँ यिनीहरु आफैं मिले भने त हाम्रो के महत्व हुन्छ ? यिनीहरु मिलेर एक भए त हामी भूमिका शून्य हुन्छौं,त्यसैले हाम्रो काम भनेकै लडाउने र आपसी दूरी बढाई राख्ने हो,नत्र हाम्रो कसले मतलब गर्छ ?' यस्ता सोच र प्रवृत्तिका पात्र यी चारजनाका बीच आफ्नो महत्व सावित गर्न लागिपरेका छन् | जसले गर्दा एकै नेतृत्वका चारजना एकापसमा लडेका छन् | 

  जहाँसम्म डाक्टर पौडेलको सन्दर्भ छ,उनले दोहोर्याउनका लागि पहल गर्नुको कुनै त्यस्तो आधार छैन जसले उनको अपरिहार्यता देखियोस् | उनले दुई वर्षमा जे जति योगदान गरे त्यही नै यो डायस्पोराका लागि यथेष्ठ छ | उनले जति अरुले पनि योगदान गर्ने हो भने हाम्रो डायस्पोराको उचाई अर्कै हुन्थ्यो | दुई वर्षमा गर्न नसकेको त्यस्तो नयाँ काम नै के छ र ? जसले उनको उम्मेदवारीलाई बल पुगोस् | त्यस्तो अब केही छैन | बरु उनले थप ध्रुवीकरण बढाएका छन् | उनका वरिपरि,उनलाई उचालेर आफ्नो महत्व दर्शाउने केही पात्रहरुको कब्जामा छन् पौडेल | जसलाई उनका केही अन्तर्वार्ता र भनाईले पनि आधार प्रदान गर्दछ | उनले भनेका छन्,-'सबैले मिलेर जानुपर्छ भन्छन् भने मेरो मात्र अडान केही छैन | सबैलाई स्वीकार्य हुने मिलाप मेरा लागि पनि स्वीकार्य छ |' त्यसो त उम्मेदवारी दिने अन्तिम समयसम्म पनि पौडेल मिलेरै जाने पक्षमा उम्मेदवारी समेत दिने कि नदिने दोधारमा थिए भन्ने समेत सुनिएको थियो | जेहोस् उनले नमिल्ने भनेका छैनन् | उनले पनि दुई वर्ष पहिले र आजको यथार्थ बुझेका होलान् | उनकै कार्यकालमा कानुनी लफडामा एनआरएन फसेको छ | एकतर्फी ढंगले उनी अघि बढे भन्दै उनकै कार्य समितिका कतिपयले आलोचना गरेका छन् | समेट्न सकेनन् पौडेलले च्याप्टरहरुलाई भन्ने पनि देखियो | यो सबैलाई बुझेर नै होला उनी दोधारे बनेका | तर उनी स्वविवेकमा भन्दा दवाब र आफ्नाहरुको स्वार्थमा जेलिए भन्ने यसपटक धेरै छन् | 

अर्का उम्मेदवार हुन् गौरी जोशी | उनका बारे अहिले नेपाली अमेरिकी डायस्पोरा अन्य उम्मेदवारका जस्तै पक्ष,विपक्षमा विभाजित छ | तैपनि उनले शंकाको लाभ (बेनिफिट अफ डाउट ) लिएका छन् | हाम्रो एनआरएन,राम्रो एनआरएन,सबैलाई समेट्ने साझा एनआरएन भन्ने एजेन्डा बोकेर टेक्सासको नेपाली समाजको नेतृत्व गरिसकेका यी व्यवसायिक पृष्ठभूमिका जोशी अहिले अन्य चारजनाको होडबाजीको फाइदा बटुल्दै छन् | यसपटक नयाँ र सबैको साझा उम्मेदवार भन्दै जोशीलाई अघि सारिएको छ | उनी कम बोल्छन्,मेहनेती छन्,कर्मशील छन् र स्थापित पनि | नेपाली समाज उनका बारे आशावादी छ | 'डाक्टर पौडेलको हिजोको माहौल छैन | त्यो माहौल आज गौरीका पक्षमा गएको छ | जसले गर्दा जोशीलाई यो दौडको अग्रपंक्तिमा देखिएको छ' लस एञ्जलसबाट दुई वर्ष पहिले केशब पौडेललाई समर्थन गरेका एक सदस्यलेआज साँझ भने | 

यसरी सरसर्ती हेर्दा पाँचै जना आफुलाई सक्षम सावित गर्न अग्रसर भैरहँदा सबैभन्दा बढी दवाबमा छन् डाक्टर केशब पौडेल | केवल हिजोको साख जोगाउन यो दौडधुप गरिएको हो भने त्यो अवस्था कायम नरहेको भन्दै उनलाई अघि नबढ्न सुझाव दिनेहरु पनि नभएका होइनन् | 

अनि को संग,कसरी मिल्ने ? 

आजकै अवस्थामा सबै उम्मेदवारले ठण्डा दिमागले सोच्ने हो भने मिल्ने झिनो आशाको दीप निभेको छैन | तर कसरी मिल्ने, को संग, के का लागि मिल्ने ? जवाफ सपाट छ- आफ्नो विवेक प्रयोग गर्ने र एकले अर्काको सम्मान गर्दै इगो भन्दा बाहिर निस्केर मिल्ने | के यसको सम्भावना छ ? पक्कै छ, इमान्दार र नि:स्वार्थ भएर आफ्नोभन्दा एनआरएनको हितलाई माथि राखेर सोच्ने हो भने सबै एकै ठाउँ बस्ने र अट्ने ठाउँ अझै छ | गौरी,केशब,रबिना,कृष्ण,राम सी सबै अध्यक्षका प्रत्यासी एकै ठाउँ अटाउन सक्ने विकल्प छ र अन्य उम्मेदवारहरु पनि क्षमता र व्यक्तित्व अनि योगदानका आधारमा एकै ठाउँ बस्न र एनआरएन अमेरिकालाई सबैको सामु गर्विलो बनाएर देखाउन सक्ने समय अझै छ | 

मिल्ने विकल्प नम्वर १ 

यसको संकेत केही दिन पहिले टेक्सास पुगेका केशब पौडेलले गरेका छन् | तर उनी कति प्रतिवद्ध रहन्छन् त्यसमै मिल्ने र नमिल्ने खेल चल्नेछ | पौडेलले नै सुरुवात गर्नुपर्छ यसका लागि | नेतृत्वमा रहनेले आफ्नो मात्र स्वार्थ नहेरी संस्थाको बृहत्तर हित र स्वार्थका लागि सोच्ने हो भने भोली आइसीसीको लागि सहयोग माग्दै पौडेलले यो पटक त्याग गर्ने उदारता देखाउनु नै संस्थाको हितमा छ | जसले गर्दा अन्य उम्मेदवारलाई समेत सिधा दवाब पुग्नेछ | 

मिल्ने विकल्प २: 

अमेरिकामा नै एनआरएनका सबैभन्दा बढी सदस्य छन् र आगामी आइसीसीमा सोही सदस्यताको आधारमा एकै मुलुकबाट एकसय भन्दा बढी डेलिगेट्सले आइसीसीको नेतृत्व चयन गर्न अवसर पाउनेछन् | यस अर्थमा एनआरएन अमेरिकाले आफ्नो बार्गेनिंग क्षमता बढाएको छ | खगेन्द्र जीसीलाई उपाध्यक्ष, डाक्टर केशब पौडेललाई उत्तर अमेरिका क्षेत्र संयोजक,रबिना थापा,कृष्ण पोखरेल र राम सी पोखरेललाई आइसीसी,एनसीसी वा अन्य जिम्मेवारीमा सम्मानजनक भूमिकाको व्यवस्थापन गर्न एनआरएन अमेरिकाले सामुहिक पहल गर्ने | यता एनआरएन अमेरिकाको आगामी नेतृत्वमा गौरी जोशीलाई समर्थन गर्दै अन्य पदमा उम्मेदवार दिएका सबैको योगदान,जिम्मेवारी र क्षमताका आधारमा एकै ठाउँ समेट्न पहल गर्ने हो भने सम्पूर्ण एनआरएन समुदायमा नै अमेरिकाको छबी उँचो हुनेछ र अमेरिकामा रहेका नेपालीहरुका प्रति विश्वास र सम्मान बढ्नेछ | तर यसका लागि सबैले त्याग र उदारता देखाउन सक्नुपर्छ | साथै यो पहल गर्न एनआरएन अमेरिकाका अभिभावककै रुपमा रहेका डाक्टर अम्बिका अधिकारी,खगेन्द्र जीसी,नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टलगायतका केही प्रतिनिधिहरुले विशेष पहल गर्नुपर्छ | उम्मेदवारहरुले झेल्नु परेको खर्च,प्रचार र आरोप/प्रत्यारोप भन्दा सहकार्य,मेलमिलाप र एकता जहाँ सबै अट्ने ठाउँ छ भने त्यो सबैको हितका लागि र समग्र एनआरएनका लागि पनि राम्रो होइन र ?

आफुलाई केन्द्रमा राखेर सोच्ने हो भने यस्तो सम्भावना छँदै छैन | तर बामे सर्दै गरेको एनआरएन अमेरिकाको बृहत्तर हितलाई आफ्नो स्वार्थभन्दा माथि राखेर सोच्ने हो भने असम्भव केही छैन | मिल्न सकिएन भने यसपटक एनआरएन अमेरिकामा विभाजनको खाडल बढ्नेछ |

Add comment


Security code
Refresh