एनआरएन अमेरिकालाई बलियो बनाउने मौका नगुमाऔं

AddThis Social Bookmark Button

राम सी पोखरेल

उम्मेदवारी दर्तासँगै  एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उम्मेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रीत छ,जुन स्वाभाविक पनि हो । सामाजिक उत्तरदायीत्व बहन गरेर निश्चित उद्देश्य र लक्ष्यकासाथ अगाडी बढ्न खोज्नुलाई स्वागतयोग्य नै मान्नुपर्छ । उम्मेदवारी दिनु हुने सबैको समाजसेवाप्रतिको बढ्दो लगावको म हृदयदेखि नै सम्मान गर्छु । मेरो एउटै मात्रै चासो र चिन्ता हो– समाजसेवाप्रतिको बढ्दो लगावको सकारात्मक पाटो ,कतै चुनाबका नाममा नकारात्मक द्वन्द र बिभाजनमा पो परिणत हुन्छ कि भन्ने । आफुपनि अध्यक्षको उम्मेदवार भएकोले शुरुमा नै  एउटा कुरा स्पष्ट पार्न चाहन्छु– म समाज र व्यक्ति  बिभाजनकालागि उम्मेदवार भएको होइन । 

मेरो उम्मेदवारी अमेरिकाका सबै नेपालीका लागि र  मातृभूमि–नेपालका लागि हो । नेपाली नेपाली बीचको नजोडिएको साइनो जोड्ने, त्यो साइनोलाई थप बलियो एवं प्रभावकारी बनाउने र जोडिएको त्यो बलियो साइनोलाई अमेरिकीहरुमाझ पनि एउटा सम्पतिको रुपमा स्थापित गर्ने मेरो एउटा मात्र उद्देश्य हो । 

यो उद्देश्य प्राप्तीका लागि मलाई विकासोन्मूख देशहरुमा जस्तो राजनैतिक निर्वाचनमा अपनाइने हथकण्डा अपनाउनु छैन । असाध्यै सकरात्मक सोचकासाथ मैले यसपटक एनआरएन अमेरिकाको अध्यक्षमा उमेदवारी दिएको छु । 

मेरा आफ्ना एजेण्डाहरु छन् । र, ती एजेण्डाहरुलाई कसरी पुरा गर्ने भन्ने मेरा आफ्ना खाकाहरु छन् । व्यक्ति बलियो भए  समाज र समाज बलियो भए राष्ट्र बलियो हुन्छ भन्ने सर्वसम्मत मान्यतामा मेरो पनि ठूलो विश्वास छ । यही बिश्वासका आधारमा मैले  एजेण्डाहरु तय गरेको छु ।  

हामी जस्ता आप्रवासीहरुको कर्तव्य र दायित्व एउटा होइन,दुइवटा राष्ट्रसँग जोडिएको हुन्छ । हामीले कर्मको मात्र सन्तुलन होइन,भावनाको पनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्वन्दी भएपनि र पछि जो जोले जितेपनि हामीसँग कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठूलो जिम्मेवारी छ । यो  कुरा नबिर्सन म सबै उम्मेदवार र मतदाता साथीहरुलाई आग्रह गर्छु । 

हामी कहिलेकाँही आँफैलाई हल्का रुपमा लिन्छौं । र, स-साना हिसाबकिताब र जोड-घटाउ वा पक्ष-बिपक्षमा आफुलाइ धकेल्छौं । यो बानीले हामीलाई कमजोर मात्र बनाएको छैन,कतिपय नेपाली भित्रैबाट पनि तिरस्कृत बनाएको छ । हामीले ‘ओ हो के के न गर्यौं’ र ‘केके न गर्न खोज्दैछौं’ भनेर जति हल्ला पिटेपनि ठूलो नेपाली जमात हामीभित्रकै चरित्र र बानीका कारणले वाक्क छ । हामीबाट बाहिर छ ।  निर्वाचनका बेला आफु-आफुबीच अनेक ‘हल्लाखल्ला र तिकडम’ गरेपनि ठूलो नेपाली जमात हामीसँग रुष्ट छ । हाम्रो शैली र बानीसँग रुष्ट छ । एनआरएन अमेरिका यति हल्का हुनै नहुने थियो । यो त अपरिहार्य हुनुपर्ने संस्था हो,अपहेलित जस्तो भैरहेको छ । 

सदस्यता लिनेहरु भन्दा ‘सदस्यता लिंदै लिन्न’ भनेर अड्डी कसेर बस्नेहरुको जमात बढी छ । मैले बितेका दुइ बर्षमा जसरी अमेरिकी नेपाली समाजलाई बुझें , यही आधारमा मैले यो कुरा भनिरहेको छु । यो कुरा हामीजस्ता समाजसेवाको नेतृत्व लिन्छु भन्नेहरुका लागि निश्चय नै चिन्ताको  बिषय हो । 

यसैले मलाई लाग्यो– नेपाली समाजमाथि प्रश्न उठाउनु भन्दा पहिले किन नेतृत्व लिन्छौं भनेर कस्सिने हामी आफैंले आँफैलाई  प्रश्न नगर्ने ? हामी कसका लागि लडिरहेका छौं ? हामी कसको बलमा लडिरहेका छौं ? 

म  चाहन्छु– हामी आफुमाथि प्रश्न गर्न पनि सिकौं र गल्तीहरुलाई सच्याउँ । यसपटकको एनआरएन अमेरिकाको निर्वाचनलाई एउटा पर्वको रुपमा मनाउँ , जहाँबाट एकता–मेलमिलाप, हर्ष र आशाको नयाँ किरणहरु देखिउन् ।   

हामी संसारको सबैभन्दा शक्तिसम्पन्न राष्ट्रका एनआरएन हौं । ठूलो देशमा असाध्यै सानो चरित्र देखाउन कमसेकम हामीलाई सुहाउँदैन । सुहाइरहेको छैन। 

एनआरएन अमेरिकालाइ बलियो बनाउने र देश सुहाउँदो बनाउने यो ठूलो मौका हो । यो मौकालाई मुर्तरुप दिन मैले गर्न सक्ने कुनै पनि त्याग र योगदानकालागि म तयार छु । एनआरएन अमेरिकालाई बलियो बनाउने र अन्तत: नेपाली नै  बलियो हुने शर्तमा,उम्मेदवारी र पद त गौण कुरा हो । यसो भन्दै गर्दा यो पनि स्पष्ट पार्न चाहन्छु– समाजलाई कमजोर पार्ने चुनावी रणनीति भने मलाई स्वीकार्य छैन । 

(पोखरेल एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष हुन् र अहिलेको निर्वाचनका लागि अध्यक्षका प्रत्यासीका रुपमा मैदानमा छन् |)

Add comment


Security code
Refresh