हाम्रो बारेमा

AddThis Social Bookmark Button

विश्व द्रूतगतिमा अघि बढिरहेको छ । हरेक क्षण नयाँ नयाँ आविष्कार र प्रविधिको विकास भईरहेको छ । जसले गर्दा आज सम्पूर्ण विश्व नै एउटा सानो गाउँमा समेटिन पुगेको छ । भौगोलिक दूरी जतिसुकै टाढाको भएपनि हामीलाई सूचना प्रविधिको विकासले नजिक ल्याएको छ । जसका कारण विश्वको जुनकुनै कुनामा हुने गतिविधि पनि तत्काल थाहा पाउन सम्भव भएको छ । यही सूचना प्रविधिको विकासको उपयोग गर्दै हामी पनि तपाईंहरुलाई सूचना र मनोरञ्जनको जानकारी दिलाउने माध्यमको रुपमा आएका छौं ।

सुसूचित हुन पाउने तपाईं हाम्रो नैसर्गिक हकलाई कसैले पनि छेकवार लगाउन सक्दैन । तर जहाँ निरकुंशता हावी भएर सुसूचित हुने तपाईं हाम्रो हकलाई कुण्ठित गरिन्छ त्यहाँ हाम्रो पहिलो प्रहार हुनेछ । हामी नागरिकलाई सुसूचित हुने हकबाट बञ्चित गराउन खोज्ने सबैखाले शासन व्यवस्थाको विरोधी हुनेछौं । लोकतन्त्रको आधारभूत परिभाषाभित्र स्वतन्त्र प्रेस पनि पर्दछ । तसर्थ स्वतन्त्र प्रेसको पक्षमा वकालत गर्नेहरु हाम्रा मित्र ठहरिनेछन् । हामी स्वतन्त्र प्रेसको मर्यादामा आँच आउन दिने छैनौं र पेशागत वफादारिता निर्वाह गर्नेछौं । समाचारको रुपमा सूचना प्रवाह गर्न उचित ठहरिने सबैखाले गतिविधि हाम्रा विषय सामाग्री हुनेछन् । प्रेस जगत् अत्यन्त मर्यादित हुनुपर्छ भन्ने हाम्रो ठम्याई छ । राज्यले चौथो शक्तिको रुपमा मान्यता दिएको प्रेस जगत् मुलुकको हितका पक्षमा सधैं पहरेदार भएर उभिनुपर्दछ । तसर्थ हामी राष्ट्रिय हितका पक्षमा सधैं सिपाहीका रुपमा उभिई रहनेछौं ।  हाम्रो पहिचान नेपाली भाषा,संस्कृति र साहित्य हो । विविधतामा एकता नेपाली गौरव हो । आज हामी विश्वका कुनाकुनासम्म फैलिएका छौं र जहाँ पुगेका छौं हाम्रो संस्कृति,परम्परा,भाषा,साहित्य र रीतिरिवाजलाई साथै लिएर पुगेका छौं । जसले हाम्रो नेपाली मन र नेपालीपनलाई विश्वभर प्रवद्र्धन गर्न सघाउ पुगेको छ । नेपाली मन र नेपालीपनलाई प्रवद्र्धन गर्न योगदान गरेका सबैप्रति हामी सम्मान व्यक्त गर्दछौं । हामी जहाँ छौं, हाम्रो आफ्नोपनलाई जोगाएर राख्न सकौं,आपसी सद्भाव र स्नेह बाँड्दै भाइचारा सम्बन्धलाई अझ प्रगाढ बनाउन सिकौं । हामी पनि तपाईहरुसँगै हुनेछौं ।  विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारीमूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई काठमाडौं र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीहरुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।  ग्लोब नेपाल आफैंमा एक पूर्ण वाक्य हो भन्ने हाम्रो बुझाई छ जसलाई विश्वभर छरिएर रहेका नेपालीहरुको साझा थलोको अर्थमा हामीले परिभाषित गर्ने जमर्को गरेका छौं । ग्लोब नेपालको प्रकाशनसँगै हाल हामीले साप्ताहिक नेपाली रेडियो कार्यक्रम नेपालमञ्च पनि सञ्चालन गरिरहेका छौं ।  हाल हाम्रो कर्मथलो अमेरिकाको बाल्टिमोर क्षेत्र भएकोले हाम्रो पहिलो प्राथमिकता पनि बाल्टिमोर आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।