अखिल क्रान्तिकारी विवाद: पञ्चा सिंहलाई हटाएर विशेष महाधिवेशन बोलाउन माग

अखिल क्रान्तिकारी विवाद: पञ्चा सिंहलाई हटाएर विशेष महाधिवेशन बोलाउन माग


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ ।

संगठनभित्रको विवादबारे स्पष्ट पार्न रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो।

कार्की समुहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो । उनीहरुले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटीको सदस्यहरुसँग पनि आफुहरुको माग पुर्याइसकेको जानकारी दिएका हुन् ।

संगठनका केन्द्रीय उपाध्यक्ष पवन कार्कीले सोचेको जति विद्यार्थी आन्दोलनले आजसम्म उपलब्धी हासिल गर्न नसकेको स्वीकार गर्दै विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल ९क्रान्तिकारी० आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको गुनासो पोखेका छन् ।

जनता बाँच्न नसक्नेगरि बढेको महंगी र मुल्यवृद्धिका विषय उठान गर्नुपर्ने संगठन नै आज अराजक गतिविधिमा रुमलिएको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने बताए। लामो समयदेखि आफ्नो संगठनमा समस्या आइरहेको भन्दै आज अध्यक्ष पञ्चा सिंहको कारण झन् अप्ठ्यारोमा परेको सुनाए ।

२२औं राष्ट्रिय सम्मेलन गत वर्ष असोज १४ देखि १८ सम्म बबलरमहलमा सम्पन्न भएको जानकारी दिँदै उक्त सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबरजस्ती निर्वाचित गरेको स्मरण गराए । उनले संगठनभित्र समस्याको सुरुवात २२औं सम्मेलनबाट भएको र तेस्रो विस्तारित बैठकबाट भने सबै विवाद र लफडा छताछुल्ल भएकोे बताए ।