अमेरिकी एनआरएनका सारथी

18 दिन अगाडी

न्युयोर्क,अमेरिका,अक्टुबर ५। अमेरिकी नेपाली डायस्पोरामा एक सम्मानित नाम हो खगेन्द्र जीसी । तीन लाखभन्दा बढी नेपाली आप्रवासी बसोवास गर्ने अमेरिकाका औंलामा गन्न सकिने र उदाहरणको रुपमा लिन सकिने नाम हो जीसीको । जीसी पेशाले कानुन व्यवसायी हुन् भने उनको सामाजिक परिचय धेरै क्षेत्रमा छरिएको छ । उनलाई मानव अधिकार,प्रजातन्त्र र गैर आवासीय नेपाली समुदायको अधिकार स्थापनाका लागि निरन्तर वकालत गरिरहेका सामाजिक अभियन्ताको रुपमा चिन्न सकिन्छ । सरल,छलकपटरहित स्वभावका जीसी आफ्नो पेशामा अब्बल छन्,त्यही भएर दुई वर्ष पहिले उनी आफ्नो कर्मथलो न्यूयोर्क शहरमा 'सुपर लयर' को उपाधि प्राप्त गर्न सफल भए ।
 नेपाली कांग्रेसको सिद्धान्तलाई आत्मसाथ गर्दै गुल्मीबाट नवलपरासी हुँदै अमेरिका आइपुगेका हुन् जीसी आजभन्दा साँढे तीन दशक पहिले सन् १९८३ मा । २२ वर्षको अल्लारे उम्मेरमा उच्च शिक्षा अध्ययनका लागि आएका जीसीको त्यो बेलाको संघर्षको आफ्नै कथा,गाथा छ । अमेरिकामा सिमित मात्र नेपाली थिए । नौलो परिवेश,नौलो संसार,सबै नौलो थियो त्यो बेला । कहिले खर्चको अभाव हुन्थ्यो,कहिले थालभरि हातले मुछेर खाने दालभातको नियास्रो लाग्थ्यो । नेपाल र परिवार,खाना र रमझम मिस गर्दै नवलपरासीबाट अमेरिका आइपुगेका युवा जीसीले आफ्नो उद्देश्य पुरा गरे । अर्थात् उनको सपनाले मूर्तता पायो- कोलम्बिया युनिभर्सिटीबाट कानुनमा माष्टर तहको अध्ययन पुरा गरे । जहाँ यसपटक उनी आफ्नै देशका प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको कार्यक्रमको दर्शकदीर्घामा देखिन्थे । 
समयले नेटो काट्यो । विद्यार्थी हुँदाको त्यो क्षण र आज आफ्नै देशको प्रधानमन्त्रीसंग त्यही कलेज परिसरमा पुग्दै गर्दा जीसी नोष्टाल्जिक भए । अनि फर्किए वर्तमानमा । प्रधानमन्त्रीसँगै रहेका जीसीले कार्यक्रमबाट फर्कदै गर्दा भन्न भ्याई हाले,-'दाई मैले यही विश्वविद्यालयबाट कानुनमा मास्टर्स पुरा गरेको हुँ ।'
दाई अर्थात कांग्रेसीले आफ्ना नेताहरुलाई सम्बोधन गर्ने एक पारिवारिक सदस्यको सम्बोधन,जसले सबैलाई अपनत्व महसुस गराउँछ । हो त्यस्तै छ जीसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दाई भन्नु र अमेरिकाको पछिल्लो नेपाली पुस्ताले खगेन्द्र जीसीलाई दाई भनि सम्बोधन गर्नुको तादात्म्यता ।
नवलपरासीका खातापिता नै हुन् जीसी परिवार । महेन्द्रध्वज जीसी खगेन्द्र जीसीका दाई हुन् जो कांग्रेसको राजनीतिमा निरन्तर क्रियाशील छन् । सांसद र सचेतक पनि भए जीसी । पाँच दाजुभाई र पाँच दिदीबहिनी मध्ये दाजुभाइमा माहिलो र चौथो सन्तान हुन् जिसी । पाँच दिदी बहिनी मध्ये दुई दिदी र तीन बहिनी हुन् जीसीका । यसपाली दशैंमा उनकै निवास न्यूजर्सीमा परिवारका दाजुभाई दिदी बहिनीसहित आठ जनाको परिवार एकै ठाउँ जम्मा भएर दशैं मनाए । 

जीसीको बिहे भयो सन् १९९१ मा राजदूत चुडाबहादुर हमालकी जुम्ल्याहा मध्ये माहिली छोरी रेखा हमालसँग । रेखा हमाल नायक राजेश हमालकी दिदी हुन् । नेपालमै भएको यो बिहेमा गिरिजाप्रसाद कोइराला समेत उपस्थित भएर आफुहरुलाई बधाई दिएको बिर्सेका छैनन् जिसी दम्पतीले । एउटा सन्तान छन् जीसी दम्पतिका छोरा नविन । उनी पनि कानुन अध्ययन गर्दैछन् फोर्डम युनिभर्सिटीमा । जुन युनिभर्सिटीबाट जीसीले जुरिष्ट डक्टरेट पुरा गरेका छन् । श्रीमती रेखा पेशाले चिकित्सक हुन् । 
     बिहे,पढाई अनि पेशा गर्दागर्दै सुरु भयो जीसीको आफ्नै ल फर्मको यात्रा । २५ वर्ष पहिले जीसीले क्षेत्री एण्ड एसोसियट्सको नामबाट कानुन व्यवसाय सम्बन्धी ल फर्म खोले । जुन ल फर्म जीसीको पेशागत सफलताका लागि 'यु टर्न' बन्यो र आज उनी अमेरिकाका चार शहरमात्र होइन नेपालमा समेत शाखा राखेर काम गर्ने पेशागत सफलताका उदाहरणीय पात्र बनेका छन् । यत्तिमै सिमित छैन क्षेत्री एन्ड एसोसियट्सको सफलता । आज अमेरिकामा कानुन व्यवसायलाई पेशा बनाएर छरिएर काम गर्दै आएका नेपाली मूलका अधिकांश वकिलका गुरु हुन् जीसी । उनकै ल फर्ममा प्राक्टिस गरेर आफ्नो अलग ल फर्म संचालन गरेका हुन् नेपाली मूलका प्राय: सबै वकिल साहेबहरुले । यस अर्थमा वकिलहरुका वकिल हुन् खगेन्द्र जीसी ।
   राजनीति र सामाजिक दुवै क्षेत्रमा जीसीको चासो र सक्रियता छ । उनी सहयोगी छन्,मिजासिला छन् र इमान्दार छन् । सबैले जीसीबाट मनग्गे सहयोग लिएका छन् । त्यसैले जीसीलाई सहयोग गर्न सबै सधैं अग्रसर छन् । उनले काम गरेका छन्,त्यो कामको जस जीसीले भलै कम नै लिने/पाउने गरेका छन् । भन्छन्,-'आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक पुरा गर्ने मेरो दायित्व हो,म त्यही कर्म गर्छु ।' त्यही कर्मको परिणाम हो आजको नेपाली जनसम्पर्क समिति,अमेरिकाको सांगठनिक स्वरुप र संरचना जसको उनले आफ्नो बुताले भ्याएसम्म रातदिन नभनी काम गरे । बदलामा जस लिने अर्कै भयो तर जीसीले कर्म गर्न छाडेनन् । नेपालमा संविधान सभाको निर्वाचन लाग्यो,कांग्रेसलाई सहयोग चाहियो,पार्टीले जीसीलाई सहयोगका लागि संयोजक बनाएर जिम्मा दियो । त्यो जिम्मेवारी पनि पुरा गरे जीसीले ।
अझ पहिले २०४७ सालमा संविधान बन्ने भो,संविधानमा विदेशमा रहेका नेपालीहरुको हक,अधिकारका लागि के कस्तो व्यवस्था गर्नुपर्छ भनेर सुझाव संकलनका लागि समिति बनाइयो,अनि त्यसका लागि पनि विदेशमा रहेका मध्ये भनेर जीसीलाई नै समितिमा राखियो । अझ पहिले जब नेपालमा प्रजातन्त्र पुनर्वहालीको लागि ज्वारभाटासहितको आन्दोलन चर्कियो,त्यो बेला अमेरिकामा नेपालमा प्रजातन्त्रको पक्षमा अन्तरराष्ट्रिय समर्थन जुटाउने अभियानमा एलायन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स नामक संस्था स्थापना गरी कांग्रेसजन लागे आन्दोलनको पक्षमा अन्तर्राष्ट्रिय जनमत बनाउन । एलायन्सको संस्थापक अध्यक्ष बने जीसी । सिमित कांग्रेसजन मध्ये जीसीसहित डाक्टर अम्बिका अधिकारी,गान्धी पण्डित,गिरिजा गौतम,गौरी अधिकारी,मिनेन्द्र रिजाल,शैल उपाध्याय,महेन्द्र विक्रम शाहका सुपुत्र सानु शाह,विजय सिग्देल जस्ता त्यो बेला सक्रिय हुने कांग्रेसीहरु सम्झन्छन् जीसी ।'हामी सबै लाग्यौं,प्रजातन्त्र,मानव अधिकार र स्वतन्त्रताका लागि नेपाललाई सहयोग गर्नुस् भन्दै हामी अन्तर्राष्ट्रिय निकायसँग पुग्थ्यौं' जीसीले स्मरण सुनाए ।
अस्ति भर्खर...अमेरिकामा एनआरएनको गर्भाधान त भयो तर नेतृत्व जन्मेन । सन् २००६ को एएनएको न्यूजर्सी सम्मेलनका अतिथि बनेका एनआरएन संस्थापक उपेन्द्र महतोले चुनौती दिदैं भनेका थिए,तपाईंहरु एनआरएनमा संगठित हुनुस् र अमेरिकाबाट अबको एनआरएनको नेतृत्व लिनुस् । महतोको चुनौतीलाई सबैले गम्भीरतापूर्वका लिएनन्,एनआरएन मुभमेन्ट अमेरिकामा स्थापित हुन सकेन । बल्लबल्ल सन् २००८ मा न्याकले एनआरएनको स्वरुप ग्रहण गर्यो अनि एनआरएन एनसीसी अमेरिकाको नाम सुनियो । झैझगडा र अदालती लफडा एनआरएनले अमेरिकामा जन्मदा नै लिएर आएको छ । अन्तत: एनआरएनलाई स्थापित गराउन अरु कोही होइन, नेपाली जनसम्पर्क समिति,अमेरिकाका पूर्व संयोजक र एलायन्स फर डेमोक्र्सी एन्ड ह्युमन राइट्सका संस्थापक अध्यक्ष तिनै खगेन्द्र जीसीको नेतृत्व स्थापित भयो एनआरएन अमेरिकाको पहिलो निर्वाचित अध्यक्षका रुपमा ।
२०४७ सालमा दश महिनाभित्र संविधान घोषणा गरेर निर्वाचन सम्पन्न गर्ने सफलताले नेपाली राजनीतिका श्रद्धेय व्यक्तित्व कृष्णप्रसाद भट्टराईलाई जसरी सम्मान गरिन्छ,त्यस्तै सफलताको जश पाउने चुनौतीपूर्ण काम सम्पन्न गरेका छन् जीसीले आफ्नो करीब एक वर्षे कार्यकालमा । तीन सय भन्दा कम सदस्यको अध्यक्ष भएर जिम्मेवारी लिएका जीसीले दश महिनाको छोटो अवधिमा अमेरिकामा दश हजारभन्दा बढी सदस्य बनाए भने १६ वटा च्याप्टर गठन गरेर एनआरएनलाई तल्लो तहसम्म पुर्याए । तिनै जीसीको कार्यकालमा भएको एनआरएनको संस्थागत संरचना निर्माण र पहलले संकलन भएको रकम महाभूकम्पका बेला नेपालमा सहयोग गरियो । तर जश लिने पात्र अर्कै भए जसले आजका दिनसम्म पनि महाभूकम्पका बेलाको रकम कति संकलन भयो र कति कहाँ खर्च भयो भन्ने फेहरिस्त राख्न सकेका छैनन् । एनआरएन भवन निर्माणका लागि अध्यक्ष शेष घलेलाई अमेरिकामा घुमाएर जीसीले एकै भ्रमणमा करीब २ करोड रुपैंया जति सहयोगको प्रतिवद्धता जनाए । तर आजसम्म त्यो रकम मध्ये कति संकलन भयो र कति भवन निर्माणका लागि प्रदान गरियो भन्ने कहीं,कति न अभिलेख छ न त अपडेट नै । किनकी काम गर्ने जीसीले नेतृत्व छाडेपछि एनआरएन अमेरिका जो झुण्ड र कोटरीमा सिमित भएको छ । त्यस्तो झुण्डले संस्था होइन,आफ्नो झुण्डको मात्र हित हेर्छ जसले पदलाई सुरक्षित गराउँछ ।
कर्मशील जीसीले एनआरएन अमेरिकालाई स्थापित गराएर जसलाई सहयोग गरेर छाडे,तिनै उनका वैरी भए । सबैभन्दा कमजोर पक्ष जीसीको यही नै छ,-उनले जसलाई जति सहयोग गरेका छन्,तिनीहरुबाट नै जीसीलाई असहयोग भैरहेको छ । जसको शिकार बने जीसी दुई वर्ष पहिलेको एनआरएन आइसीसीको उपाध्यक्षको निर्वाचनमा । जीसीलाई सफलता मिलेन ।
दुई वर्षपछि फेरि....
अहिले दुई वर्षपछि फेरि जीसी चुनावी मैदानमा उत्रिएका छन् उही पदका लागि । सन् २००६ मा उपेन्द्र महतोले चुनौती दिए जस्तो अहिले पनि एनआरएन अमेरिकाले आइसीसी अध्यक्षको दावी गर्न सक्ने हैसियत बनाएको देखिएन । आजसम्म रतन झा महासचिव र संस्था स्थापनाताका डाक्टर श्याम कार्की उपाध्यक्ष बने बाहेक एनआरएनको उपल्लो पदमा अमेरिकाको अवस्था कमजोर छ । 'धन,इच्छा र सबैकुरा चाहिन्छ एनआरएन आइसीसीको अध्यक्ष हुन,आकर्षण पनि छ तर अमेरिकाको डायस्पोराको आफ्नैखाले समस्या छ जसलाई छिचोलेर नेतृत्व लिन सक्ने हैसियत भएकाहरु पनि अग्रसर हुन सकेका छैनन्' एक जना एनआरएन अभियन्ताले भने । तर त्यसको विकल्प दिन जीसीलाई यसपटक अध्यक्षकै दावेदारका रुपमा अघि सर्न दवाब आएको थियो । जीसीले पनि चासो नदेखाएका होइनन् तर सदाशयतापूर्वक उनी उपाध्यक्षका रुपमा मैदानमा उत्रने निष्कर्षमा पुगे । 'मलाई धेरै साथी,शुभेच्छुकहरुले अध्यक्षका लागि पहल गर्न सुझाव दिनु भएको हो,कुरा पनि भएको हो,तर मैले आफैं एक पटक उपाध्यक्षकै रुपमा काम गर्ने निर्णय गरें'जीसी भन्छन्,-'विश्वभरका एनआरएन डेलिगेट्ससँग सम्पर्क र समन्वय भएको छ,साथीहरु हुनुहुन्छ,दाई तपाईं अध्यक्ष नै लड्नुपर्छ भन्नु हुन्छ,हाम्रो डेमोक्रयाट नेतृत्वको अगुवाई दाईले नै गर्नुपर्छ भन्नुहुन्छ तर एनआरएन सबैखाले विचारको साझा गैर राजनीतिक चरित्र भएको संस्था हुनाले मैले वैचारिक होइन,एनआरएन उद्देश्यलाई थप मजबुत र प्रभावकारी बनाउन यसपटक उपाध्यक्षमा सहयोग लिने निर्णय गरेको छु ।'
एनआरएनको नागरिकता निरन्तर कार्यदलका सह संयोजक,गैर आवासीय मामिला सम्बन्धी परराष्ट्र मन्त्रालयका सल्लाहकारसमेत रहेका जीसी एनआरएनमा अमेरिकाको प्रतिनिधित्व गराउने अभियानमा निरन्तर क्रियाशील छन् । अस्ति भर्खर जीसीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँगको पटकपटकको भेटमा पनि एनआरएनको आगामी नेतृत्वका बारे छलफल गरे । देउवाले साथीहरुसँग सम्पर्क र समन्वय गरेर अघि बढ्नुस् भन्दै जीसीलाई 'ग्रीन सिग्नल' दिएका छन् ।
जसले जे भने पनि अन्तत: राजनीति नै हाबी हुन्छ एनआरएन नेतृत्व चयनमा यसपटक पनि । त्यसका लागि आफ्नो पार्टीको समर्थन खोज्नु नौलो विषय पनि भएन । त्यही समर्थनमा आफ्नो चासो व्यक्त गरे जीसीले । अहिले उपाध्यक्षको बाजी मार्ने यात्रामा निस्किएका छन् जीसी । अर्थात् अमेरिकाको गर्विलो प्रतिनिधित्व गराउने अभियानका एक सारथी बन्ने प्रयासमा । शुभकामना जीसीलाई ।
यस्तो छ जीसीको एजेण्डा 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter