ओली शासनको गाइजात्रा,नेपालभन्दा झापा ठूलो

2 महिना अगाडी

हरि अधिकारी 

हाम्रा ठूलो दु:खले आर्ज्याको 'संघीय गणतान्त्रिक लोकतन्त्र' लगातार भीरतिर घचेटिएको देख्दा कुन चाहिँ नेपालीको चित्त नकुँढिएला र! दुर्भाग्यको विषय, यसको सुचारु सञ्चालनको जिम्मा लिएकाहरूले केही वर्षयतादेखि लगातार मञ्चन गरेको गाइजात्राका कारण अब यो सम्पूर्ण प्रणाली नै भीरबाट गुल्टिन लागेको गाई जस्तो भएको छ । अहिले यसको जुन दुर्गति भएको छ त्यसलाई देखेर राम ! राम ! त भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन । वर्षैभरि चलिरहने गाइजात्राका केही नमूना:

१. सांसदलाई ६ करोड 
कानून निर्माताहरूलाई उनीहरूकै तजबिजमा खर्च गर्नसक्ने गरि ६ करोड रुपियाँ दिने यस सालको बजेटमा राखिएको प्रावधान विकास बजेट खर्च र सदुपयोगको हाम्रो अनुभवका आधारमा हेर्दा संस्थागत भ्रष्टाचारको पृष्ठपोषण मात्र बन्ने कुरामा कुनै सन्देह छैन । अहिले संसदमा सत्ताधारी दलका सांसदहरूको संख्या नै अत्यधिक छ । त्यसैले प्रधानमन्त्री ओलीले आफूले क्रेनले तानेर बनाएका अर्थमन्त्री मार्फत यो घोषणा गराएर सरकारी ढुकुटीबाट आफ्नो पार्टीका नेता- कार्यकर्तालाई पोस्ने चोरबाटो निकालेका हुन् भनेर कसैले भन्यो भने त्यसलाई निराधार आरोप भन्न मिल्दैन ।

२. आर्थिक सहायता, तक्मा र पदकको औला-दौला 
सामन्ती राजा- महाराजालाई पनि बिर्साउने गरि देशको निम्छरो ढुकुटी रित्याएर लोकतान्त्रिक सरकारले जसरी आर्थिक सहायता बाँडिरहेको छ यो आर्थिक अपचलन नै हो र गणतन्त्रका नायकहरूको भ्रष्ट मतिको द्योतक पनि हो । त्यतिले नपुगेर यो सरकार आफन्त, आसेपासे र आफ्ना पार्टीका वफादारहरूलाई अनेक नामका तक्मा र पदक पनि थोकको भावमा वितरण गरिरहेको छ । दुई पटक लगाएर, बडो मुश्किलका साथ, त्रुटिहरू कायम नै रहेको, संविधान जारी गरेबापत त्यही काम गर्नका लागि चुनिएकाहरूलाई तक्मा दिनु एउटा अनावश्यक काम मात्र होइन एक प्रकारले गाइजात्रा नै हो । यस मेसोमा गृह मन्त्रालयका हाकिम हुक्कामहरूले कमिसनमा केही लाख कुम्ल्याएका छन् भने 'संविधान तक्मा' मा अफ्नो दलको चुनाव चिन्ह सूर्यको छटा फैलाउन लगाएर प्रधानमन्त्री ओली संविधानको घोषणा एमालेले मात्र गराएको जस्तो देखाउन पनि सफल भएका छन् ।

३. प्रधानमन्त्री गाइजात्रे शृङ्खलाका मूल जोकर
२०७४ साल फागुनमा प्रधानमन्त्री बनेदेखियता स्वयम्शिक्षित विद्वान् केपी शर्मा ओलीले उट्पट्याङ कुरा गर्न, हावादारी सपनाको खेती गर्न, प्रतिपक्षलाई बिनाकाम होच्याउन, आफ्नो दलका नेता-कार्यकर्ता र समर्थकहरूका भ्रष्ट क्रियाकलापको संरक्षण गर्न, जानू नपर्ने देशको यात्रा गर्न, होली वाइन चाख्न र अर्थ न बर्थका ४ थान डक्टरेट उपाधि ग्रहण गर्नमा धेरैजसो समय बिताएका छन् । उनका यी क्रियाकलापले उनलाई यस देशमा पछिल्लो समयमा चलिरहेको गाइजात्रे प्रहसनको सबैभन्दा ठूलो जोकरका रूपमा उभ्याइदिएका छन् ।

४. शक्तिशालीहरूद्वारा न्याय सम्पादनमा हस्तक्षेप
प्रधानमन्त्री ओलीले न्यायिक निरुपणको क्रममा रहेका कतिपय मामिलामा सम्बन्धितहरूको पक्ष वा विपक्षमा बोलेर न्याय सम्पादनमा नाङ्गो हस्तक्षेप गरेका छन् । निर्मला पन्त हत्याकाण्डमा पनि प्रमले बेतुकका कुरा गरे जसलाई गृहमन्त्री र रक्षामन्त्रीले पनि पछ्याए । नेवानि वाइडबडी सम्बन्धी संसदीय प्रतिवेदनलाई पनि प्रमले धोती लगाइदिएका छन् । सो मामिलाका मुख्य आरोपीमध्ये एक स्व. मन्त्री रवीन्द्र अधिकारी निर्दोष भएको दावी लगातार गरिरहेका प्रम संसदीय समितिको प्रतिवेदनमाथि छानबीन गराउँन भने तयार देखिदैनन् । केही दिन अघि मात्र रवीन्द्रको नाममा खोलिएको प्रतिष्ठानलाई सरकारी कोषबाट १ करोड रुपियाँ दिने घोषणा गरेर प्रम ओलीले आफूलाई दानवीर महाराजको लहरमा उभ्याएका छन् तर संसदीय छानबीनले देखाएका अनियमितता सही ठहरिएर रवीन्द्र भ्रष्टाचारी थिए भन्ने प्रमाणित भयो भने के हुन्छ ? भन्ने कुराको भने यिनले हेक्का राखेका छैनन् । साथै, प्रम ओलीले बालुवाटार जग्गा अपचलनका आरोपी पार्टी महासचिव र सांसद विष्णु पौडेलका विषयमा पनि मौन रहेर उनको प्रतिरक्षा गरिरहेका छन् । भ्रष्टाचारप्रति शून्य सहनशीलता भन्ने यिनको नारा हावामा बिलाएको छ ।

५. अभ्यासमा भूमिगत गिरोहको शासन 
प्रमले कतिपय महत्वपूर्ण सरकारी विभाग र निकायहरूलाई आफ्नो सचिवालयमा सारेर तिनको सञ्चालन र नियन्त्रणमा कब्जा गरेका छन् । जाहेर छ, प्रमले ती निकायको सञ्चालन आफैंले गर्ने होइन । त्यो त उनका असेपासे, सल्लाहकार, एउटै भान्सामा खाना खाने र निकट परिजनको मण्डलीले गर्ने हो । नेपाल सरकारको समानान्तर अस्तित्वमा आएको भूमिगत गिरोहको शासन चलाउने अभ्यास बालुवाटारबाट भइरहेको र त्यसको नेतृत्व ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले गरिरहेका छन् भन्ने कुराको बलियो प्रमाण हो यो । सुनिन्छ गृह मन्त्रालयमा मन्त्री रामबहादुर थापाका छोराको नेतृत्वमा र उर्जा मन्त्रालयमा मन्त्रीपुत्र दीपेश पुनको अगुवाइमा यस्तै भूमिगत शक्ति बनेको छ र त्यसैले मन्त्रीहरूको नाममा सबै किसिमको खटनपटन गर्दैछ ।

६. पञ्चायतको झड्केलो छोरो जस्ता सञ्चार मन्त्री 
गणतान्त्रिक लोकतन्त्रका सञ्चारमन्त्री गोकुल बाँस्कोटा दलविहीन निरंकुश पञ्चायत प्रणालीको पात्तिएको झड्केलो छोरोको अवतारमा प्रकट भएका छन् जसको सम्पूर्ण ध्यान यस देशमा संविधानत: कायम भएको स्वतन्त्र प्रेस र नागरिकहरूको अभिव्यक्तिको हकको हनन् कसरी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित छ । मन्त्री पद सम्हालेको पहिलो दिनदेखि नै यिनले सोही दिशामा काम गरिरहेका छन् । मन्त्री बाँस्कोटाले यस बीचमा दुई चार थान प्रतिगामी ऎन नियम लादिसकेका छन् जनतामाथि भने अझ कडा अधिनायकवादी ऎनहरू ल्याउने कसरत गरिरहेका छन् । यिनले समयको आवाज विपरीत देखाउन लागेको गाइँजात्राको अन्त्यमा यिनको नै पतन हुने कुरा भने निश्चित छ ।

७. नेपालभन्दा झापा ठूलो
प्रम ओलीका लागि नेपाल समग्र त लूट्न सकिने खजाना भएको ठूलो ठाउँ मात्र हो यिनको सर्वस्व त झापा पो हो । आफ्नो कार्यकालमा नेपालको विकास भर्सेलामै परे परोस् तर झापा त्यसमा पनि आफ्नो क्षेत्र दमकको नेराघेराको विकास भने अरू जिल्लाका मानिसहरूले सोच्नसम्म पनि नसक्ने किसिमले हुनु पर्दछ भन्ने ओलीको हार्दिक इच्छा भएकोले नै हुनु पर्दछ झापा-दमकमा अर्बौ रुपियाँ खन्याउन लगाएका छन् उनले प्रत्येक सालको बजेट मार्फत । यसै कुरालाई ध्यानमा राखेर यिनले देशको अर्थमन्त्रीको पद एकजना वफादार र मेरूदण्डविहीन पूर्व कर्मचारीलाई दिएका छन् । झापामा अर्थ मन्त्रालयले ओइर्‍याएको रकम देख्दा प्रम ओलीका यी नोकरको मूल काम नै आफ्ना मालिकको हुकुम तामेली गर्नु हो भन्ने प्रष्ट भएको छ ।

८. गाइजात्राका अरू तमासा प्याखँ:
नेपालमा मञ्चित बार्‍हमासे गाइजात्रामा कामरेड केपी ओली एण्ड प्रचण्ड कम्पनी लिमिटेडको मात्र प्याखँ: देखाइने गरेको छ भन्ने चाहिँ होइन । केही सानातिना नाटक प्रहसन अरूहरूले पनि देखाउने गरेका छन् । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा पनि कम छैनन् । सबै छोडी पुच्छरमा हात भनेझैं देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस्. जयशंकरलाई लिखित शुभकामना दिएर साउथ ब्लकप्रतिको अतिभक्ति उजागर गरेका छन् । नेपाली कांग्रेस जस्तो पुरानो र प्रतिष्ठित राजनीतिक दलका सभापतिलाई आफ्नो र दलको प्रोटोकलको कुनै ख्याल नहुनु टीठलाग्दो स्थिति हो ।

नेपालमा अहिले चलिरहेको बार्‍हमासे गाइजात्राको बयान गरिसक्नु छैन । ठूला साना पर्दाहरूमा कि त जोकर देखिएका छन् कि भने खलनायक । कुनै कुनै पात्रलाई जोकर मान्ने कि खलनायक भन्ने द्विविधा पनि हुन्छ । कसैको अनुहारको एउटा पाटो एक किसिमको र अर्को बेग्लै पनि देखिएको छ - उदाहरणका लागि रवि लामिछाने । उनी तथाकथित रूपमा पत्रकार भएर उदाएका छन् । तर उनको क्रियाकलाप हेर्दा कहिले भिजिलान्ते जस्ता त कहिले पुलिस जस्ता देखिन्छन् । उनले पत्रकार र पुलिसले गर्ने कामका बीचको सीमारेखा मेटाइदिएका छन् । रिषी धमला जस्ता अशिष्ट मानिस ठूला एङ्कर भएका छन् जसले प्रस्तुत गर्ने कार्यक्रम पूरै हेरिसक्न कुनै पनि सामान्य मानिसमा ठूलै हिम्मत चाहिन्छ । एक जना मेयर छन् इटहरीका जसले मार्क्सवाद- लेनिनवादको नितान्त नयाँ व्याख्या गरेका छन् । उनले इटहरी उपमहानगरपालिकालाई सोभियत रूसको स्टालिनकालीन गुलागमा परिणत गर्दछु, जसले मेरो विरोध गर्छ त्यसलाई नकटो बनाइदिन्छु भनेर सो काम फत्ते गर्न सरकारी बजेट नै छुट्याउन लगाएका छन् । सामाजिक सञ्जालमा उनका अनुयायी र प्रशंसकहरूको ताँती लागेको छ । गज्जब गाइजात्रा छैन त चलिरहेको हाम्रो लोकतन्त्रमा !


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter