कांग्रेस सशक्त, क्रियाशील र एकतावद्ध भएर अघि बढ्ने छ : नेता आनन्द विष्ट

कांग्रेस सशक्त, क्रियाशील र एकतावद्ध भएर अघि बढ्ने छ : नेता आनन्द विष्ट


ग्लोब नेपाल
648
Shares

हुम्ला । नेपाली कांग्रेस सशक्त, क्रियाशील र एकतावद्ध भएर अघि बढ्ने नेता आनन्द विष्टले बताएका छन् । पार्टीको निर्देशनअनुसार विशेष अभियान सञ्चालन गर्न हुम्ला पुगेका विष्टले कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन विशेष अभियानले सहयोग पुग्ने बताए ।

आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी सुदृढीकरणका लागि नेता कार्यकर्ताहरूमाझ गहन रूपमा विचार विमर्श गरेका थिए ।

‘झरीकै बीचमा हामीले जिल्लाका नेताहरूबीच एकता कायम गर्दै पार्टीका गतिविधिलाई सशक्त रूपमा कसरी अगाडि बढाउने, कसरी पार्टीका निकायलाई परिचालन गर्ने, आन्तरिक मतभेद भए कसरी अन्त्य गर्ने भन्ने विषयमा विचार विमर्श गर्‍यौं’ उनले भने ‘सबै साथीहरूले पार्टीलाई गतिशील तुल्याउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ। जिल्लामा पार्टीका साथीहरूबीचको एकता र सद्भाव देखेर मलाई खुसी लागेको छ।’

प्रतिकूल मौसमका कारण जिल्लामा उपलब्ध हुन नसकेका पार्टीका नेताहरूसँग टेलिफोनमै समन्वय गरेर भए पनि पार्टी गतिशीलताका विषयमा छलफल भएको विष्टले जानकारी दिए। ‘कांग्रेस केन्द्रीय सम्पादन समिति सदस्य एवम् पूर्वमुख्य मन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेशका सभापति ललितजंग शाही, केन्द्रीय सदस्य रंगमती शाही, संविधानसभा सदस्य रिता शाही, प्रदेशसभा सदस्य विजया बुढा, हुम्लाका पूर्वपार्टी सभापति धनपति रोकायालगायत अन्य थुप्रै नेताहरूप्रति आभार व्यक्त गर्छु,’ विष्टले भने ।

अभियान अवधिभर पूर्णरूपमा सहयोग र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा कर्णाली प्रदेशका प्रतिनिधि कर्णबहादुर रावल, जिल्ला सभापति मोहनविक्रम सिंहलगायत सम्पूर्ण जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्य, कर्णाली प्रदेशका सदस्यहरू, जिल्लाका दुवै प्रदेशका सभापतिलगायत कार्यसमितिका पदाधिकारप्रति विष्टले आभार व्यक्त गरेका छन्। उनले सात पालिकाका ४४ वटै वडाका नेताहरू, जनप्रतिनिधिहरू, भ्रातृ र सुभेच्छुक संस्थाका पदाधिकारीहरूसँग समेत अन्तरक्रिया गरिएको बताए।

श्रावण २० गतेदेखि कांग्रेसले थालेको आन्तरिक सुदृढीकरण विशेष कार्यक्रमको पहिलो चरण आजबाट सकिएको छ।