के हुँदैछ ओखलढुंगा कांग्रेसमा ?

के हुँदैछ ओखलढुंगा कांग्रेसमा ?



काठमाडौं । भागवण्डा कस्कोमा पर्ने र टिकट कस्ले पाउने भन्ने संशयले पछिल्लो अवस्थामा नेपालको राजनीति अनुमान र अड्कलमा रुमलिएको छ । यद्यपि मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तयारी सबै राजनीतिक दलले आ–आफ्नै ढंगले गरिरहेका छन् । यसरी तयारी गर्नेमा ओखलढुंगा कांग्रेस धेरै अगाडि पुगिसकेको छ ।

ओखलढुंगा कांग्रेसले हिजो शुक्रबार संघीय निर्वाचनका लागि प्रस्तावित उम्मेदवारहरु र पदाधिकारीहरु राखेर काठमाडौंमा एक छलफल आयोजना गर्‍यो । मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसले गठबन्धनका अन्य दललाई ओखलढुंगा छाड्न नहुने र पार्टीबाट जसले टिकट पाए पनि एक ढिक्का भएर निर्वाचनमा जानुपर्ने सहमति बैठकले गरेको जिल्ला सभापति तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिए ।

संघीय निर्वाचनको उम्मेदवारका लागि ओखलढुंगाबाट सिफारिस भएका चार जना मध्ये रामहरि खतिवडा, प्रदीप सुनुवार, बालकृष्ण दाहाल उक्त बैठकमा सहभागी थिए । सिफारिस भएका अर्का एक उम्मेदवार खिला दाहाल भने विशेष कारणले उपस्थित हुन नसकेको बुझिएको छ ।

संघीय निर्वाचनमा उम्मेदवारका आकांक्षीहरुबीच सर्वसम्मत निर्णय गराउन छलफल गरिएको जिल्ला सभापति खनालले ग्लोब नेपाललाई जानकारी दिए । उनले भने, ‘पहिलो कुरो ओखलढुंगा जिल्ला कांग्रेसले गठबन्धनका अन्य दलहरुलाई नदिन पहल गर्ने, दोस्रो कुरो केन्द्रले जसलाई टिकट दिन्छ, उसले चुनाव हाँक्ने र उसलाई सबैले सहयोग गर्ने वातावरण निर्माण गर्न छलफल आयोजना गरिएको हो ।’

काठमाडौंमा सम्पन्न बैठकको तस्बिर जिल्ला सचिवद्वय राजकुमार ढुंगाना र अजय लुइँटेलले सामाजिक सञ्जालमा पोस्ट गरेपछि तीब्र प्रतिक्रियाहरु प्राप्त भएका छन् । यो समाचार तयार पार्दासम्म ढुंगानाको पोस्टमा १ सय ५५ र लुइँटेलको पोस्टमा ८४ प्रतिक्रिया प्राप्त भएका छन् । अधिकांशले गठबन्धन भए पनि ओखलढुंगा जिल्ला कांग्रेसले नै लिनुपर्ने र टिकट जसले लिए पनि सबै एक ढिक्का भएर निर्वाचनमा जानुपर्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।

बैठकमा सहभागी नभएका ओखलढुंगा कांग्रेसका अन्य नेताहरुसँग ग्लोब नेपालले सम्पर्क गरी उक्त बैठक बारेमा उनीहरुको धारणा बुझेको थियो । पदाधिकारी र उम्मेदवार सिफारिसमा परेकाको मात्र बैठक भनेकाले सबैलाई समेट्न नसके पनि यस्ता छलफलले सकारात्मक नतिजा दिने उनीहरुले बताए ।