टिपीएस खारेज नहुने,वर्क परमिट स्वत: नवीकरण

टिपीएस खारेज नहुने,वर्क परमिट स्वत: नवीकरण



बाल्टिमोर,अमेरिका,मार्च २८ । अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीहरुले पाई आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को सुविधा तत्काल खारेज नहुने भएको छ । अमेरिकी अध्यागमन कार्यालयले बुधवार एक सूचना जारी गर्दै यो सुविधा अर्को सूचना जारी नभएसम्म विस्तार गरिएको जनाएको छ । यस पहिले नेपाल र होन्डूरसलाई प्रदान गर्दै आएको यो अस्थायी सुरक्षाको सुविधा खारेज गर्ने युएससीआइएसले जनाएको थियो । जसका कारण टिपिएस सुविधा लिएका आठ हजार भन्दा बढी नेपालीहरु अब के गर्ने भन्ने अन्यौलमा थिए । तर युएससीआइएसले बुधवार सूचना जारी गर्दै यो अस्थायी सुविधाको अवधि अर्को सूचना जारी नभएसम्म विस्तार हुने र टिपिएसमार्फत अमेरिकामा काम गर्ने अनुमति (वर्क परमिट) लिएकाहरुको वर्क परमिट स्वत: नवीकरण हुने जनाएको छ । जसका कारण टिपिएस सुविधा लिएकाहरुले राहतको महसुस गरेका छन् ।
युएससीआइएसले जारी गरेको सूचनाका अनुसार, अब टिपिएस सुविधा लिएका नेपालीहरुले पनि सुडान,निकारागुवा,हाइटी र एल साल्भाडोरका नागरिकले जस्तै सुविधा पाउनेछन् । जस अनुसार टिपिएस सुविधा लिएकाहरुको वर्क परमिट स्वत:नवीकरण हुनेछ । यस्तै आइ ९४ (आवागमन रेकर्ड) र आइ ७९७ पनि स्वत: नवीकरण हुनेछ । जुन २४ पछि यस्तो वर्क परमिटको अवधि थप नहुने यस अघि उल्लेख थियो । तर अब सोही मितिपछि स्वत: वर्क परमिट नवीकरण हुनेछ भने अन्तिम पटक टिपिएस सुविधाका लागि पुन:दर्ता नगरेका नेपालीहरुले अब पुन:दर्ताका लागि समेत आवेदन दिन पाउने भएका छन् । युएससीआइएसका अनुसार, सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म टिपिएस पुन: दर्ता नगरेका नेपाली मूलका टिपिएस सुविधा लिएकाहरुले अब पुन: आवेदन दिन सक्नेछन् । यसका लागि प्रष्ट र उचित कारण भने खुलाउनुपर्नेछ