ताइवानमा शक्तिशाली भूकम्प, छिमेकी देशहरूमा सुनामीको चेतावनी

ताइवानमा शक्तिशाली भूकम्प, छिमेकी देशहरूमा सुनामीको चेतावनी


ग्लोब नेपाल
216
Shares

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले स्थानीयहरूलाई सुरक्षित स्थानमा लैजान भनेको छ ।

भूकम्पको केन्द्रविन्दु ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरूले बताएका छन् ।

सेप्टेम्बर १९९९ मा, ताइवानमा ७.६ म्याग्निच्युडको भूकम्पले २४ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार भन्दा बढी भवन क्षतिग्रस्त भएका थिए ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

हुआलियन काउन्टीमा घरहरू ढल्केको प्रारम्भिक विवरण प्राप्त भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा सेनाले उद्धारकार्य सुरु गरेको छ । भूकम्पको विस्तृत विवरण आइसकेको छैन ।