देउवा सरकारले तत्काल पूर्णता नपाउने, किस्ताबन्दीमा मन्त्री !

देउवा सरकारले तत्काल पूर्णता नपाउने, किस्ताबन्दीमा मन्त्री !



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तत्काल पूर्णता नपाउने भएको छ । कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए डा. नारायण खड्काले आज परराष्ट मन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा यो सहमति तय भएको हो । अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न आज फेरि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

माओवादी केन्द्र पनि तत्काल सरकारमा सहभागी हुने सम्भावना रहे पनि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने सम्भावना न्यून छ । समाजवादीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ भने जनता समाजवादी पार्टीलाई दल विभाजनसम्बन्धी अध्यायदेश घाँडो बनेको छ । तत्काल सरकारमा जाँदा असन्तुष्टहरुले त्यही अध्यायदेशमा टेकेर नयाँ दल गठन गर्ने सम्भावना रहन्छ । अध्यायदेश निस्कृय नभएसम्म सरकारमा जाने उसकाे सम्भावना छैन ।

सर्वोच्च अदालतले जति छिटो निर्णय दिन्छ, नेकपा समाजवादी त्यत्ति छिटो सरकारमा सहभागी हुनेछ । यद्यपि सरकारमा सहभागी हुनेहरुको नामावली उसले पनि टुंग्याएको छैन । त्यसो त माओवादीले पनि मन्त्रीको नाम टुंग्याएको छैन । उसका लागि यो त्यत्ति सजिलो काम छैन । किनभने पार्टीभित्र एमसीसी पक्ष र विपक्षीहरुबीच ठूलै द्वन्द्व छ । त्यसलाई मिलाउन अध्यक्ष पुष्पकमल दाहाललाई हम्मे हम्मे परेको छ । पार्टीभित्र सन्तुलन राख्न अध्यक्ष दाहाललाई त्यत्ति सजिलो छैन ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीमा कार्यरत छन् । साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइयाे । अग्रगमनको नारासहित गठबन्धन सरकार बने पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।