धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज



चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज भएको छ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण र अभिनय गरेको चलचित्र नयाँ ओटीटी प्लेटफर्म ओहो मुभिज एपबाट रिलिज भएको हो । कमेडी प्रधान चलचित्रमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको पनि अभिनय छ ।

२ घन्टा लामो चलचित्रलाई प्ले स्टोरबाट ओहो मुभिजको एप डाउनलोड गरेर सःशुल्क हेर्न सकिने सितारामले बताए । एक समयको चर्चित हाँस्यटेलिश्रृंखला ‘मेरी बाँस्सै’ मा सिताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीको चरित्रमा दर्शकले निकै रुचाइएका थिए । चलचित्रमा पनि सिताराम र कुञ्जना त्यही चरित्र र गेटअपमा देखिएका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।

२०७२ सालमा गएको भूकम्पपछि सामाजिक कार्यमा सक्रिय रहेका धुर्मुस-सुन्तलीले भरतपुर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको समयमा चलचित्र ‘सेन्टी भाइरस’ बाट अभिनयमा पुनरागमन गरेका थिए । तर, यो चलचित्र बक्सअफिसमा सफल हुन सकेन । क्रिकेट रंगशालाको निर्माण सकिएपछि यो जोडी फेरि चलचित्र निर्माणमा जुट्ने तयारीमा छ ।