पत्रकारिताको चुनौतीबारे अमेरिकामा छलफल

पत्रकारिताको चुनौतीबारे अमेरिकामा छलफल


ग्लोब नेपाल
729
Shares

न्यूयोर्क। अमेरिकामा क्रियाशील रहेका नेपाली पत्रकारहरु र नेपाल पत्रकार महासंघका पदाधिकारीहरुका बीच नेपाली पत्रकारिताका चुनौती र यसलाई चिर्नका लागि संचारकर्मीले खेल्नुपर्ने भूमिकाका बारे एक अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ। तीसौं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आइतवार भर्चुअल माध्यमद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी संचारकर्मीहरुले प्रविधिको तीव्र विकाससंगै संचारकर्मीले सामना गर्नुपरिरहेका चुनौती र नेपाली संचारकर्मीहरुले झेल्नु परेका समस्याका बारे पनि चर्चा गरेका थिए।

कार्यक्रमका प्रमूख अतिथि रहेका नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रेस स्वतन्त्रताको सबैभन्दा ठूलो चुनौती ‘फेक न्यूज’ बनेको भन्दै स्वतन्त्रताको दुरुपयोग समेत हुने गरेको धारणा व्यक्त गर्नुभयो। ‘जसका कारण स्वतन्त्रताका उपलब्धिहरु समेत खतरामा परेका छन्’ विष्टको भनाई थियो। उहाँले अमेरिकामा रहेका नेपाली संचारकर्मीहरुले गरिरहेको योगदानलाई महासंघले नजिकबाट हेरिरहेको भन्दै आगामी दिनमा पनि महासंघसंग समन्वय गरेर नेपाली संचारकर्मीहरुको वृत्ति विकासका लागि सहयोग गर्न समेत अमेरिकाका नेपाली संचारकर्मीहरुलाई आग्रह गर्नु भएको थियो।

महासंघका महासचिव रोशन पुरीले महसंघका गतिविधि र यसका विदेशस्थित शाखाहरुको बारे चर्चा गर्नु भएको थियो। ‘अमेरिकाबाट हामीले धेरै सिक्न सक्छौं,त्यसैले तपाईंहरुप्रति हामी सबैको धेरै भरोसा छ, त्यहाँको पत्रकारिता र नेपाली समुदायको गतिविधि बारे तपाईंहरुले गरिरहनु भएको प्रयासको हामी उच्च सम्मान गर्दछौं’ महासचिव पुरीको भनाई थियो।

महासंघका पूर्व अध्यक्ष एवं प्रधानमंत्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले अमेरिकामा रहेका नेपाली संचारकर्मीहरुले ‘थिङ्क ट्यांक’ को रुपमा प्राज्ञिक बहसका लागि पहल गर्नुपर्छ भन्नुभयो। राइजिङ्ग नेपालका पूर्व पत्रकार एवं नेपाल अमेरिका पत्रकार संघका पूर्व कार्यवाहक अध्यक्ष कृष्ण शर्माको सभापतित्वमा भएको कार्यक्रममा अमेरिकामा रहेका करीब दुई दर्जन नेपाली संचारकर्मीहरुको सहभागिता रहेको थियो।

महासंघका पूर्व केन्द्रीय सदस्य एवं नेपाल अमेरिका पत्रकार संघ-नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पासहित नेजाकै पूर्व अध्यक्षद्वय गौतम दाहाल र भोला आचार्यको समन्वयमा भएको कार्यक्रममा शेर्पाले स्वागत र आचार्यले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा अमेरिकामा रहेका संचारकर्मीहरु नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यद्वय संजय घिमिरे र मोहनसिंह लामा, विष्णु शर्मा,गुणराज लुइँटेल,ज्योति देवकोटा,सतिश चापागाई,सुरज भण्डारी,सुजन पण्डित,अग्नी चौलागाई,इन्दिरा चोङ्गवाङ्ग,चन्द्र खतिवडा,नारायण सापकोटा,लेखनाथ गौतम,संगम बानियाँ, अनिल अधिकारी,विनय देवकोटा,सर्वज्ञ वाग्ले,विनय देवकोटा,हरि गौतमलगायतका संचारकर्मीहरु सहभागी थिए।