पोखरामा असिनासहित अत्याधिक वर्षा

पोखरामा असिनासहित अत्याधिक वर्षा



पोखरा । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ । दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।  

यस अघि  पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने  त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो । 

लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए ।  उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ । 

असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाई छ ।