प्रदेश प्रमुख र सिडिओमार्फत् प्रधानमन्त्री कार्यालयलाई निर्माण व्यवसायीको ज्ञापनपत्र (फोटोफिचर)

प्रदेश प्रमुख र सिडिओमार्फत् प्रधानमन्त्री कार्यालयलाई निर्माण व्यवसायीको ज्ञापनपत्र (फोटोफिचर)


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज मंगलबार प्रदेशप्रमुख र जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको समाचार ग्लोब नेपाललाई विभिन्न जिल्लाबाट प्राप्त भएको छ । निर्धारित चरणबद्ध कार्यक्रमअनुसार महासंघले मंगलबार प्रधानमन्त्री कार्यालयलाई प्रदेश र जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका हुन् । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका अल्टिमेटमसहित ९ बुँदे माग अघि सार्दै महासंघ आन्दोलनमा छ ।

नेपाल निर्माण व्यवसायी संघ गुल्मीले मगंलबार जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्री कार्यालयमा अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउँदै ।

निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेलाको निर्णयअनुसार सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे माग अघि सार्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी संघ गुल्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत प्रधानमन्त्री कार्यालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको छ ।

यसैगरी बाग्लुङ र स्याङ्जामा पनि महासंघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री शाह र प्रजिअ कट्टेललाई प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँर र कैलालीका अध्यक्ष टेकबहादुर मल्लले ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सो ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल निर्माण व्यवसायी संघ बैतडीले जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहरामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको महासचिव विकाश चन्दले बताए ।

निर्माण कार्य सम्पन्न गरे पनि अरबौं रकम भुक्तानी नहुँदा मारमा परेका निर्माण व्यवसायीहरुको भुक्तानी समस्या समाधान र भुक्तानी अभावका कारण सम्पन्न हुन नसकेका योजनाहरुको म्याद थपको मागसहित देशभरका निर्माण व्यवसायी संघले सरकारलाई ज्ञापन पत्र बुझाएको सुदुरपश्चिम प्रदेश निर्माण व्यबसायी संघका उपाध्यक्ष मदन मोहन विष्टले बताए ।

धनगढी
बैतडी
बाग्लुङ
पर्सा
कास्की
स्याङ्जा
राैतहट