मतदान अधिकृत ढकालको परिवारलाई रु २० लाख बिमा रकम

मतदान अधिकृत ढकालको परिवारलाई रु २० लाख बिमा रकम


ग्लोब नेपाल
135
Shares

कर्णाली । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई रु २० लाख बिमा भुक्तानी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी थिए । उनी हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका थिए । निर्वाचनको सिलसिलामा ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि रु २० लाखको दुर्घटना बिमा सम्झौता गरेको थियो । सोहीअनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतले हिजाे मङ्गलबार स्व ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसे, राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतका प्रमुख शिवराज बिसीको उपस्थितिमा स्व ढकालका श्रीमती सुष्मा ढकाललाई रु २० लाखको चेक हस्तान्तरण गरे ।