युक्रेनकाे आग्रह : रूसी सेनामा आफ्ना नागरिक भर्ती हुनबाट जोगाउनुस्

युक्रेनकाे आग्रह : रूसी सेनामा आफ्ना नागरिक भर्ती हुनबाट जोगाउनुस्

पाँच नेपाली युद्धबन्दी सार्वजनिक



काठमाडौं । युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन आग्रह गरेको छ ।

युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको थियो । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई सार्वजनिक गरेको हो । युद्धका क्रममा विभिन्न स्थानबाट कब्जामा लिइएका नेपालीहरूलाई युक्रेनले एकै स्थानमा भेला गरिसकेको छ ।

युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न अझै कडा कदम चाल्न आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।”

राजधानी किभमा भएको पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकहरूलाई रूसले भर्ती गर्ने र युद्धमा आफ्नो हतियारका रुपमा प्रयोग गर्ने गरेको उनले उल्लेख गरेका छन् ।

नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपालीहरूलाई छुटाउनका लागि सरकारले निरन्तर पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई छुटाउन युक्रेनी पक्षसँग परराष्ट्र मन्त्रालयले आफ्ना संयन्त्रहरूमार्फत गृहकार्य गरिरहेको परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।

रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएर गएका १९ जना नेपालीहरूको मृत्यु भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने बारेमा नेपालले पटक–पटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन ।

रुस-युक्रेन युद्धमा कम्तीमा ९६ नेपाली सम्पर्कविहीन भएका छन् ।