लुसुक्क आए,खुसुक्क फर्किए प्रचण्ड

7 महिना अगाडी

गौतम दाहाल 
सत्तारुढ कम्युनिष्ट पार्टीका दुई मध्ये एक अध्यक्ष पुष्पकमल दाहाल दश दिने अमेरिका बसाइपछि आज राती स्वदेश फर्केका छन् । श्रीमतीको उपचारका लागि भनेर आएका प्रचण्डको अमेरिकाको यसपटकको भ्रमण बारे अनेकथरि संशय,चासो र कौतुहल उनको स्वदेश फिर्तीसंगै सकिएको छ । अर्थात् हात्ती आयो,हात्ती आयो फुस्सा । 
बिरामी पत्नी,छोरी,ज्वाईं र हेरचाह गर्ने नर्ससहित अमेरिका उड्दै गर्दा प्रचण्डले विमानस्थलमा भनेका थिए,-'यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो,श्रीमतीको उपचार गराउनका लागि ।' दुई दुई पटक प्रधानमन्त्री भैसकेका तर अमेरिकाले विगतमा आतंककारी सूचीमा राखेको पूर्व माओवादीका अध्यक्ष प्रचण्डमाथि १७ हजार नेपालीको हत्याको घण्टी झुण्डीरहेकै अवस्थामा हुँदै गरेको अमेरिका भ्रमणलाई धेरैले संशयका साथ हेरेका थिए र उनकै समर्थकले समेत आशंका व्यक्त गरेका थिए,कतै अध्यक्ष कमरेडलाई जेल हाल्ने त होइन भनेर ? अमेरिका उड्न लाग्दा एयरपोर्टमा उतारिएका लावालस्करको भीड जुन नियोजित रुपमा जुटाइएको थियो,यसले पनि त्यो आशंकालाई बल पुग्ने आधार प्रदान गरेको थियो । 
तर केही भएन,अमेरिकी भूमिबाट उनी सकुशल बाहिरिएका छन् । अर्थात् आउँदा पनि उनी लुसुक्क आए भूमिगत शैलीमा, कम्युनिष्ट कार्यकर्ता भेटे र भूमिगत शैलीमै खुसुक्क स्वदेश फर्किए । ढाल बनेर अमेरिकामा देखिए अर्का विकासे कम्युनिष्ट कार्यकर्ता डाक्टर अर्जुन कार्की,जो अहिले अमेरिकाका लागि नेपाली राजदूत छन् । नेपालीमा आह्वान छ,बिरालोले आची लुकाए जस्तो भन्ने । त्यही आव्हान जस्तै अर्जुन कार्कीले प्रचण्डलाई लुकाए,घुमाए,खातिरी गरे र आज राती न्यूयोर्कबाट कुनै बाधा,अवरोध बिना बिदाई पनि गरे । अर्थात् उनले आफ्नो कमरेडी ड्युटी इमान्दारीपूर्वक पुरा गरे । यसरी ड्युटी पुरा गर्दैगर्दा उनले आफु देशको राजदूत हुँ भन्ने ख्याल गर्नुपर्ने आवश्यकता पनि ठानेनन् । उनको राजदूत पद नेपालको मंत्रीसरहको मर्यादा कायम गरिएको पद हो । राजदूत सबै नेपालीको प्रतिनिधि हो/हुनुपर्छ भन्ने तथ्यलाई डाक्टर कार्कीले आफ्नो चार वर्षे कार्यकालमा कहिल्यै पनि आत्मसाथ गरेको महसुस समेत गर्न पाइएन । उनको चार वर्ष अमेरिकामा नेपाली कम्युनिष्टहरुलाई मलजल गर्न र उनीहरुका लागि अनुकुल माहौल बनाउनमा नै बितेको छ । भुकम्पको संकलित पैसामा समेत दुरुपयोग गरेर बदनामी कमाएका राजदूत कार्कीले दोश्रो कार्यकाल पनि विना अवरोध अवधि लम्ब्याउन यसपटक प्रचण्डको ढाल बनेर प्रस्तुत भएको टिप्पणी पनि डिसी क्षेत्रमा गर्न थालिएको छ । राजदूत कार्कीकै कारण प्रचण्डको भ्रमणका बारे खोजीखोजी बोलाइएका कम्युनिष्टहरुले बाहेक अरुले जानकारी लिन समेत पाएनन् । देशको सरकारी ढुकुटीको रकम खर्च गरेर रात्रीभोज गराउदै अमेरिकाभरि छरिएर रहेका कम्युनिष्टहरुलाई एकत्रित गराउने काममा राजदूत डाक्टर कार्कीले यसपटक नाङ्गो नाच नै देखाए । 
यता डिसी क्षेत्रका प्रचण्डको राजनीतिक विचारधारामा असहमत रहेका कांग्रेस सदस्यहरुले कार्यदल नै बनाएर प्रचण्डको सार्वजनिक उपस्थिति हुने सबैखाले कार्यक्रम बहिष्कार गर्ने र त्यस्तो कार्यक्रम भएको खण्डमा विरोध गर्ने कडा विज्ञप्ति सार्वजनिक गरेपछि राजदूत र कम्युनिष्टहरुको सबै तयारी रद्द नै गर्नु पर्यो । त्यति मात्र होइन,केन्टकीमा रहेका डाक्टर तिलक श्रेष्ठले प्रचण्ड अपराधी हुन् भन्दै फेडेरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) मा उजुरी नै गरे । जवाफमा प्रचण्डलाई 'नो इन्भेस्टिगेशन' सर्कुलर जारी गरेको समाचार सार्वजनिक गरियो । त्यतिले मात्र तिलक श्रेष्ठ चुप बसेनन् उनले आफ्नो क्षेत्रका कांग्रेसमेन र सिनेटरहरुलाई समेत पत्र लेखेर अमेरिकामा आतंककारी आएको भन्दै उनीहरुको ध्यानाकर्षण गराए । जसका कारण नेपालमा रहेका कम्युनिष्टहरुको समेत मुटूमा ढ्यांग्रो ठोकियो भने अमेरिकाका कम्युनिष्टहरु भड्खालोमा जाक्ने भए भन्दै खादा थन्क्याएर गुपचुप भए । तर राजदूत कार्कीले डराएका कम्युनिष्टहरुलाई पुठ दिए र गत आइतवार आफ्नो सरकारी निवासमा रात्रीभोजसहित कम्युनिष्टको जमघट गराए । सोही दिन बाल्टिमोरमा गर्ने भनिएको कार्यक्रम यहाँका कांग्रेस समर्थकहरुको विरोधको तयारीपछि रातारात डिसीमा पुर्याइयो,जहाँ कम्युनिष्ट झुण्ड बाहेक अरु कसैलाई निम्त्याईएन भने प्रचण्डले बोलुञ्जेल सबैको मोबाइल अफ गर्न लगाइयो । प्रचण्डले बडो आदर्शका कुरा गरे,कम्युनिष्टको क पनि उच्चारण नगरी बामपन्थी शब्द प्रयोग गरे । अनि आफ्नो तीव्र विरोध हुने भन्ने समाचारप्रति लक्षित गर्दै प्रचण्डले यति भने,-अमेरिकामा बस्ने नेपालीहरुलाई पनि शान्ति चाहिएको रहेछ,कतिपय अशान्त हुनुहुँदो रहेछ ।'
अमेरिका आउँदा गुपचुप रहेका प्रचण्डको गत सोमवार एकैपटक बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालको परिसरमा खिचेको पारिवारिक तस्वीर छोरी गङ्गा दाहालले सार्वजनिक गरिन् । त्यसपछि दूतावासमा पुगेको तस्वीर,अनि देशको दूई पटक प्रधानमन्त्री भैसकेको भन्ने कुटनीतिक मर्यादा र गरिमा समेत बिर्सेर विदेश मन्त्रालयमा एक कर्मचारीलाई भेट्न पुगेको सोमवार बिहानको तस्वीर र दिउँसो मेरिल्याण्डको राजधानी एन्नापोलिसमा अमेरिकाको राज्य संसदमा निर्वाचित पहिलो नेपाली युवा एच बी भण्डारीलाई भेटेको तस्वीर पनि गङ्गा दाहालले सार्वजनिक गरिन् । त्यसबाहेक न्यूयोर्कमा नेपाल मिशन अफिसमा भएको भ्रमण र स्वदेश फर्कन लागेको विमानस्थलसम्मको तस्वीर छोरी गङ्गा दाहालले सार्वजनिक गरेकी छिन् । आफ्नो फेसबुक वालमा अमेरिकाबाट फर्कनु अघि गंगाले फोटो पोष्ट गर्दै लेखेकी छिन्,-'

प्रचण्ड आफूमाथि युद्ध अपराधीको मुद्दाको चर्चाले आतंकित छन् । त्यही मुद्दाका कारण कतै हेगस्थित अन्तर्राष्ट्रिय युद्ध अपराध सम्बन्धी अदालतमा समेत पुग्नु पर्ने त होइन भन्नेमा उनी भयभित छन् । जसलाई अमेरिकाले मत्थर पार्न र आफुलाई उन्मुक्ति दिलाउन सहयोग गरिदियोस् भन्ने प्रचण्डको खास मनशाय हो । तर उनले चाहे जस्तो सहज र ठाने जस्तो सुरक्षित स्थिति अहिले पनि छैन । मानव अधिकार संरक्षणको विश्वव्यापी वकालत गर्ने प्रमूख मुलुक अमेरिकाले मानव अधिकारका जघन्य हननकर्ता प्रचण्डलाई उनले अपेक्षा गरे अनुसार जोगाउन सहयोग गर्नुपर्ने कुनै आवश्यकता छैन । अमेरिकाले प्रष्ट बुझेको छ,प्रचण्ड त्यही व्यक्ति हुन् जसले खुल्ला रुपमा अमेरिकालाई साम्राज्यवादी भन्दै गाली गर्थे र अमेरिकी सरकारको नेपालस्थित निकायमा विगतमा आक्रमण समेत गराएका थिए । त्यति मात्र होइन अस्ति भर्खर भेनेजुयला प्रकरणमा अमेरिकाका विरुद्ध वक्तव्यवाजी समेत गरेर प्रचण्डले आफ्नो परिचय दिइसकेका छन् । प्रचण्ड समर्थकहरुले के बुझ्नु जरुरी छ भने एकपटक अमेरिका भ्रमण गरेर सुरक्षित स्वदेश फर्कनासाथ अब प्रचण्डलाई केही गर्दैन,हुँदैन भन्ने ठान्नु मूर्खता पनि हुन सक्छ । किनकि अमेरिकामा त लिबियाका नेता मोउमर गद्दाफी पनि आएका थिए संयुक्त राष्ट्र संघको ६४ औं महासभालाई सम्बोधन गर्न सन् २००९ मा ।
यसपटक प्रचण्ड लुसुक्क आए,गुपचुप भेटघाट गरे र खुसुक्क स्वदेश फर्किए । तर यदि नेपाली राजदूतावासमा भएको गोप्य भेट,नेपाल मिशनका सरकारी कर्मचारीहरुले मुलुकका पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रचण्डलाई गरेको स्वागतलाई नै उपलब्धि ठान्ने हो भने निजी भनिएको भ्रमण पनि औपचारिक जस्तै अत्यन्त सफल भएको छ ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो

बाल्टिमोरमा कांग्रेसको क्रियाशील सदस्यता बाँडियो  ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter