वामपन्थी एकताको कुरा नगरौं : अध्यक्ष ओली

वामपन्थी एकताको कुरा नगरौं : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै अब त्यस्ता पपुलिष्ट कुरा नगर्न अनुरोध गरे ।

ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ । वामपन्थी एकता विना सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो व्यवहारिक रुपमा मिल्दैन, एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई स्वीकार गरेर मात्र एकता गर्न सकिन्छ । दुईवटा अध्यक्ष राखेर एकता हुँदैन ।’

ओलीले सत्ता गठबन्धनका कारण देशको परिस्थिति अत्यन्त गम्भीर बन्दै गएको दाबी गरेका छन् । उनले अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको पनि बताए ।

उनले भने, ‘देशको सार्वभौम सत्ता र स्वाभिमानमाथि गठबन्धनले प्रहार गराइरहेको छ । यो देशका लागि खतरनाक कुरा हो । सत्ता स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन अगाडि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित कमजोर बनेको छ ।’

सत्ताका लागि अरुका लागि कन्फटेबल हुँदा देशलाई अफ्ठ्यारोतर्फ धकेलिने खतरा बढेको धारणा राखे । उनले राजनीतिक रुपमा अस्थिरता रहेको बताए । ओलीले भने, ‘अस्थिरताको बाटो अस्वभाविक रुपमा भइरहेका छन् । पहिले देखिनै अस्वभाविक क्रियाकलाप भइरहेका छन् । हामीले भन्दाभन्दै नहुनुपर्ने काम भयो । द्वन्द्व व्यवस्थापन जसरी हुनुपर्‍थ्यो त्यसरी भएन । संविधान नमान्ने, कानु्न नमान्ने पक्षलाई सम्मान र सत्ता सुम्पने काम भयो ।’

ओलीले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियान सफल पार्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए ।