श्राद्ध कसरी गर्ने,कसका लागि कुन श्राद्ध ?

2 महिना अगाडी

 ज्योतिष शास्री राजेन्द्र खनाल, वासिंटन डिसी/ अमेरिका तपाइ हामी संसारको जुन सुकै ठाउँमा पुगे पनि हाम्रो वैदिक सनातन धर्म जस्तो वैज्ञानिक तथा व्यवहारिक धर्म कुनै पनि ठाउँमा भेट्टाउन सकिँदैन । हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरुलाई गर्नु भनी बताइएको छ । आफ्ना पितृहरु भन्नाले आफ्नो घर र मावली घरमा सद्गति भइसकेका अर्थात् मृत्यु भएको एक वर्ष पुगिसकेकालाई भनिन्छ । सबैभन्दा नजिकका पितृहरुमा घरतर्फका तीन पुस्ता र मावली तर्फका हजुरबुवादेखि माथि तीन पुस्ता पर्दछन् । यसैले पितृक्रममा आफनो रगतका साईनो लाई सम्झिने विषय पर्दछ । अब बुझिसक्नु भएहोला श्राद्ध भनेको के रहेछ त ? 
सजिलो भाषामा भन्नु पर्दा पितृहरुको मृत्यु भएको दिनमा उहाँहरुको सम्झना गरी श्रद्धापूर्वक गरिने स्मरणीय कार्यलाई श्राद्ध भनिन्छ । जुन कुरा चान्द्रमान अर्थात् कृष्णप़क्ष र शुक्ल पक्षका तिथिअनुसार गरिन्छ । श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो– पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरूको मृत्यु भएपछि शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ । 
आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन् । ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धार्मिक सम्प्रदायलाई रोकावट छैन । विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पिता(माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धासुमन चढाउने निर्देशन वैदिक हिन्दुधर्मले दिएको छ । 
अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र देवलोक(स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ । श्राद्धको फलबाट देवलोकमा पितृहरू दीर्घकालसम्म रहन्छन् र सुख पाउँछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ । 
श्राद्ध किन व्यवहारिक र वैज्ञानिक छ ?
श्राद्ध किन व्यवहारिक र वैज्ञानिक छ त ? यसो भन्दा यदि तपाइले आफ्ना पितृहरुको लागि श्रद्धापूर्वक स्मरण गर्नु हुँदैन भने तपाइले पनि आफ्ना सन्तानले मेरो लागि केही गर्लान् कि भनी नसोंचे पनि हुन्छ । त्यसकारण हामीले गर्ने प्रत्येक कृयाकलापलाई हामी सँस्कार भन्दछौं । यसकारण तपाइले गर्दै आएको कृयाकलापलाई छोड्दै जानु भनेको तपाई आफ्नो सन्तानलाई नराम्रो मात्र होईन आफूदेखि धेरै टाढा बनाउँदै हुनुहुन्छ र भन्नुहुन्छ ( मलाई मेरो सन्तानले हेला गर्यो, मैले भनेको मानेन, सम्मान गरेन, हामीदेखि टाढा हुँदै गयो सन्तान बिग्रियो भनेर । सन्तान बिग्रिएको होईन सन्तानलाई तपाई ले नै बिग्रनबाट बचाउन सक्नु भएन । कारण आफ्नो सँस्कार र उत्तरदायित्व पूरा गर्न सक्नु भएन । यसकारण भनिन्छ- "जस्तो सँस्कार उस्तै कर्म, जस्तो कर्म उस्तै फल " । 
त्यति मात्र होईन यदि तपाइले आफ्नो यो जन्ममा आफ्नो सन्तानका अगाडि आफ्नो कर्तव्य पूरा गर्न सक्नु भएन भने अथवा कसैसँग ऋण लिएर पनि तिर्न नसकी तपाईको मृत्यु भएमा पुन स् आफ्नै सन्तान वा जो सँग ऋण लिनु भएको थियो उसैको घरमा जन्म लिई त्यसको पीडामा दोस्रो जन्ममा पनि छट्पटाउनु परेको कुरा पौराणिक कथाबाट बुझ्न सक्नुहुन्छ । यसको लागि भविष्योत्तर पुराण हेर्न सक्नुहुन्छ । 
आजभोलि हाम्रो देशमा तथा देशबाहिर धेरै कुरा पश्चिमी समाजको अनुकरणमा चलाउन खोज्दै गएको पाइन्छ । आफ्नो सँस्कार, मातृभूमि, जाति, धर्म, संस्कृति, दर्शन, रीतिस्थिति, भेषभूषा, आचारसंहिता, खानपान इत्यादिका मूल्यमान्यतालाई आदर गर्ने र तिनमा गौरवानुभूति गर्ने व्यक्ति कम हुँदै गएको पाइन्छ । तपाइ आफ्नो सँस्कारलाई समाप्त गर्दै अरुको धर्म र सँस्कारलाई अनुशरण गर्दै जानु भनेको आफ्नो पहिचानलाई पनि गुमाउनु हो । 
कतिपय विषय बोल्न जति सजिलो छ, तर व्यवहारमा उतार्न र पालना गर्न कठीन विषय हो हाम्रो सँस्कार । हामीले बुझेको संस्कार भनेको सदाचार, शुद्धता, पवित्रता, इमान्दारिता,  निष्ठा, कर्तव्य, इमानदारिता र दायित्व पनि हो । जसलाई हामी हिन्दू धर्म भन्छौं र हिन्दूको घरमा जन्म लिई आउन पाएकोमा सधैं गर्व गर्न पाईरहेका छौँ ।
यसकारण भन्न सकिन्छ "सभ्य र सुसंस्कृत समाज निर्माणको मार्गदर्शन नै वैदिक सनातन (हिन्दु) धर्म हो ।" यसैकारण पश्चिमीहरुलाई महान दार्शनिक प्लेटोले दिएको शिक्षा र पूर्वीयलाई महर्षी वेदव्यासले दिएको शिक्षालाई तुलना गरी गहिरो अध्ययन गरी हेर्ने हो भने अथाह ज्ञान पूर्वीय धर्मशास्स्रहरुमा पाउन सकिन्छ । क्रिश्चियानिटीका कटु आलोचकका रुपमा चिनिएका अरेटले जुडिइजम् र इस्लामको पनि गहिरो अध्ययन गरे । प्रभावित हुन सकेनन्, आलोचक नै बने । तर पूर्वीय दर्शनप्रति उनी धेरै प्रभावित बन्न पुगे । उनले हिन्दूत्वको प्रंशसा गर्दै भनेका छन् ( "हिन्दुहरु शान्तिपूर्ण र निश्चल हुन्छन्, संसारका लागि वेद सबैभन्दा मूल्यवान् उपहार हो, पश्चिमा दर्शन सधैं पूर्वीय दर्शनको ऋणी भएको छ ।" उनी मात्र होईन पश्चिमका धेरै विद्वान, दार्शनिक र वैज्ञानिकहरु हाम्रो वैदिक धर्म संस्कृतिलाई अत्यन्त वैज्ञानिक र व्यवहारिक मान्दछन् । हामीलाई पश्चिमीहरुले तिमीहरुको धर्म महान छ भनेपछि मात्र हामीलाई विश्वास लाग्ने ? तिमीहरुको देशमा सगरमाथा छ, गौतम बुद्द र सीताको जन्मस्थल छ भनी अरुले आँखा खोली देखाउनु पर्ने रु खै त हामीले चिनाउन सकेको ? 
यसकारण पनि हाम्रा चाडपर्व र संस्कारलाई  विश्वसामू चिनाउन ज़रूरी छ । 
हाम्रा चाडपर्व र संस्कारलाई सामाजिक र सांस्कृतिक पर्व र परम्पराका रुपमा हामीले धर्मसँग गाँसेका छौं । यीमध्ये सबैभन्दा गर्नै पर्ने धर्म हो– श्राद्ध, जसले आफूलाई पनि सम्मानित तुल्याउँछ । 

श्राद्धमा के के गरिन्छ ? 
आफ्नो आमाबुवाको श्राद्धको दिन आएपछि अघिल्लो दिन एक छाक मात्र भोजन गरी दारी कपाल काटी शुद्ध भई श्राद्धको तयारी गरिन्छ जसलाई एकछाकी पनि भन्ने गरिन्छ । श्राद्धको दिन गाउँघरका आफ्ना दाजुभाइ इस्टमित्र, गुरु र गरिबहरुलाई पनि श्राद्धको प्रसाद खान बोलाइन्छ । जाने आफै गर्न पनि सकिन्छ आफूलाई आउँदैन भने गुरु पुरोहितलाई घरमा बोलाई वैदिक विधिअनुसार श्राद्ध गरिन्छ । श्राद्ध सकिसकेपछि दालभात, तरकारी, अचार, खीर, मिठाइ, दही घ्यूसहितको परिकार सबैलाई खुवाइन्छ र खाईन्छ । 
श्राद्धमा के के गर्नु हुँदैन ? 
शास्त्रका अनुसार श्राद्धको समयमा घरमा तामसी भोजन (माछामासु, लसुन, प्याज़, मदिरा र असन मानिने खाना) बनाउन पनि अशुभ मानिन्छ । यो समयमा मसुराको दाल,राजमा,धतुरो लगायतका बस्तुहरुको प्रयोग पनि बर्जित मानिन्छ। श्राद्धको दिन शरीरमा नुन, तेल आदि प्रयोग गर्नु पनि अशुभ मानिन्छ। श्राद्धको समयमा यी काम हरु गरेमा घरमा अशुभ र अशन्ति हुने शास्त्रमा उल्लेख छ ।

श्राद्धका प्रकार र विधि 
शास्त्रमा श्राद्धका धेरै भेद बताइए पनि आभ्युदयिक श्राद्ध, एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्धरसोह्र श्राद्ध, र तीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन् । शुभ कार्यको अवसरमा पनि श्राद्ध गर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।  हाम्रा शास्त्रहरुमा कुनै पनि ठूलो शुभ कार्य, वैवाहिक कार्य, ब्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्धरनान्दिमुखी श्राद्ध भनिन्छ । यस्तो खाले श्राद्धलाई आभ्युदयिक श्राद्ध  अर्थात् नान्दिमुखी श्राद्ध भनिन्छ । यो श्राद्ध हाम्रो शुभकार्यमा कुनै पनि नराम्रो घटना, कसैको मृत्यु सूतक घटना आदि नपरोस्, हामीले यस्तो ठूलो शुभकार्य सफलतापूर्वक गर्न सकौँरगर्दैछौं भनी समस्त पितृहरुलाई सम्मानस्वरुप श्रद्धापूर्वक गरिन्छ ।  त्यस्तै एउटा मात्र पितृको उद्देश्य लिएर आफ्नो बुवा अथवा आमाको मात्र गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय वा सोह्र श्राद्ध भनिन्छ ।  यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो । यस बाहेक आफ्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध पनि भनिन्छ ।  शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देशान्तरमा जाँदा सफल हुन घ्यूले गरिने श्राद्धलाई यात्रा श्राद्ध भनिन्छ । जुनसुकै कठिनाई वा आपत(विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख श्रुति(स्मृति(पुराणमा पाइन्छ । त्यसै गरी मृत्यु भएको दशदिनभित्र गरिने श्राद्धलाई दशगात्र विधि अर्थात् मलिन षोडशीश्राद्ध भनिन्छ । एघारौं दिन गरिने श्राद्धलाई मध्यम षोडशी र वर्षदिन भित्र गरिने श्राद्धलाई उत्तम षोडशी भनिन्छ, आजकल यो पनि एघारौं दिन नै गर्ने चलन छ । मृत्यु भएको बाह्रौं दिन गरिने श्राद्धलाई सपिण्डीकरण श्राद्ध भनिन्छ, जुन श्राद्धको माध्यमबाट प्रेतलाई पितृसँग मिलाउने गरिन्छ अर्थात् यो श्राद्ध गरेपछि मात्र प्रेतलाई पितृको नामबाट उच्चारण गरिन्छ । 
वेद पुराण आदि शास्त्रहरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूप्रति गर्नुपर्ने कार्यलाई नै श्राद्ध भनिन्छ । पितृकार्य अन्य कार्यको तुलनामा श्रद्धापूर्वक गर्नुपर्ने भएकोले पनि पितृहरूको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो । यसकारण दूध, दही, घ्यू, मह गुण आदि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नै श्राद्ध हो । यसैगरी पितृहरूको स्मरण गर्दै ब्राह्मणहरूलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नै हो । यी मध्ये एकोद्दिष्ट श्राद्ध र पार्वण श्राद्धको विस्तृत चर्चा गरिन्छ । 
एकोद्दिष्ट श्राद्ध 
आफ्नो पितृको मृत्यु भएको तिथिको दिन गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस विपरीत पार्वण श्राद्धमा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीनपुस्तालाई पिण्ड दिइन्छ । विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ, मध्यम, कनिष्ठ पितामह, काका, मामा लगायतलाई पिण्ड दिइने गरेको पाइन्छ । पार्वण श्राद्धमा तर्पण प्राप्त गर्ने जति पितृहरू सबैलाई पिण्ड दिने चलन पनि छ । कात्यायनश्राद्धकल्पसूत्रमा श्राद्धका दिन सँधै गरिने ब्रह्मयज्ञ र तदंग तर्पण गर्न निषेध गरिएको छ । त्यस दिन तर्पण गर्दा त्यो दिनको श्राद्ध असुर हुने र त्यस दिन पितृका नाममा दिएको पानी रगत समान हुने भनी वर्णन गरिएको छ । अतः परम कल्याण चाहनेले सँधै सन्ध्यावन्दना पछि नित्यतर्पण गरोस् भनी बताइएको छ । यसो गर्न न सक्नेले श्राद्धकै दिन पहिले तर्पण सकेर मात्र श्राद्ध सुरु गर्ने चलन छ । त्यसैले वर्षदिनको श्राद्ध छाडी अघिपछि गरिने श्राद्धमा पहिले तर्पण गर्नु पर्दछ : यस विचारलाई पुष्टि गर्ने निर्णयसिन्धु पृ।३४६ मायस्तो वचन छ-  हेर्नुहोस्

पित्रोःक्षयाहेसम्प्राप्तेयःकुर्यान्नित्य तर्पणम् ।
 आसुरं तद्भवेच्छ्राद्धंतत्तोयं रुधिरं भवेत् ।।
 सर्वदा तर्पणं कुर्याद् ब्रह्मयज्ञपुरस्सरम्।।
 क्षयाहे नैवकर्तव्यंलंकृतंचेन्निष्फलं भवेत् ।।। 

पार्वण श्राद्ध : यसपाली सेप्टेम्बर ६ तारिख बुधवारदेखि सोह्र श्राद्ध शुरु भएको छ । यस श्राद्धलाई चान्द्रमान(तिथि)अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध रमहालय श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लप्रतिपदादेखि औंसीसम्मका १५ तिथि र पूर्णिमालाई समेत जोडेर १६ तिथिका १६ श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो । कसैकसैले सोह्र दिनको गणना गर्दा आश्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धसम्मका सोह्र दिनलाई लिने गर्दछन् ।समग्रमा यसलाई पार्वण श्राद्ध भनिन्छ ।आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ ।  सोह्र श्राद्धको समयमा सूर्य कन्या राशिमा हुन्छ । चन्द्रमा पनि पृथ्वीबाट निकै नजिक हुन्छ । शास्त्रका अनुसार चन्द्रमाभन्दा केही माथि पितृ लोक हुन्छ भनिएको छ ।

कसका लागि कुन तिथि उपयुक्त ?

केही मानिसहरु जसलाई आफ्ना परिवारजनको मृत्यु भएको तिथिमिति थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ । आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध– यस तिथिमा ती जनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई कुमार पञ्चमी पनि भन्दछन् । आश्विन कृष्णपक्ष नवमी श्राद्ध– यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।

आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध– यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ । आश्विन कृष्णपक्ष चतुर्दशी श्राद्ध– यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मा मृत्यु भएको छ, जस्तैः दुर्घटना, हत्या, आत्महत्या आदि ।

 आश्विन कृष्णपक्ष अौंशी – कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ । यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ । 

आश्विन कृष्णपक्षपछिको शुक्ल पक्षको प्रतिपदा– यो तिथि मावलीतर्फका बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ ।यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख–समृद्धिको प्राप्ति पनि हुन्छ । आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो । त्यसैले यसलाई पितृपक्ष भन्दछन् ।

श्राद्ध गर्ने समय र स्थान ( श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रको भनाइ रहेको छ । पार्वण श्राद्धको लागि तिथि सुरुको न्युनतम १९ घडी भएको दिन हुनुपर्छ भने एकोद्दिष्टको लागि न्युनतम १३ घड़ी हुनु पर्ने कुरा शास्त्रमा बताइएको छ । पार्वण तथा एकोद्दिष्ट श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, पवित्र स्थान, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ, तर घरमै श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ । 

श्राद्ध गर्ने विधि – 

श्राद्धको प्रमुख अङ्ग सिधादान, पिण्डदान र ब्राह्मण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । हिन्दू धर्म तथा संस्कृति अत्यन्त प्राचीन भएकोले देश, काल, समय र परिस्थिति अनुसार गर्नु भनेकोले पनि सजिलोको लागि उत्तिकै उदार र लचिलो मानिन्छ । 

पितृपक्षमा मांसाहार गर्नेहरु पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै गुरु, ज्वाइँ, छोरी, भानिज, नाति नातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिन्छन् ।

 हिन्दुधर्ममा नै आस्था राख्ने कुनै जाति विशेषले भने श्राद्धमा पनि रक्सी, मासु चढाउने गरेको पाइन्छ । तर यो सबैको लागि नभई आ(आफ्नो जातीको संस्कृतिअनुसार बनाईएको चलन हो । 

श्राद्धमा पृथिवीका विविध वस्तुसँग मात्र नभई स्वर्गका देवता, पातालका नागदेवता पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रह्मपर्यन्तं देवर्षि पितृमानवा अर्थात् ब्रह्मादेखि किरा फट्यांरासम्मको तृप्तिको कामना गरिएको हुन्छ । सामान्य अर्थमा पिण्ड भनेको सुन्तलाकारजस्तो डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राखेको पाइन्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ । जसमा दूध, दही, घ्यू,मह  र सक्खरसहित यसमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधिअनुसार कर्ताले चोरी औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, उल्लेख गरी पिण्ड वेदीको माथि थालीमा अर्पण गरिन्छ । श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ । अघिल्लो दिन केशमुण्डन गर्न समय नभएको अवस्थामा कुशर जलले टाउको नुहाई पवित्र हुने चलन छ । शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने उल्लेख छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ । जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ । देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने शास्त्रमा उल्लेख छ । 

पार्वण श्राद्धमा चार जना ब्राह्मण चाहिन्छ । तर चारैजना व्राम्हणहरु भेला गर्न नसकिने भएकाले ब्राह्मणको प्रतीकका रुपमा कुशको ब्राह्मण थापी काम चलाउने गरिएको छ । पहिले पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा थियो । त्यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो । दुवै पट्टी दुई–दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राह्मण भनिन्छ । अन्य श्राद्धको विधि जस्तै सुरूमा देव ९मनुष्य०दिव्यपितृ र स्वपितृलाई तर्पण दिइसकेपछि पार्वण श्राद्ध सुरू हुन्छ । यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राह्मण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकरलाई छुट्टै दान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ । प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । सोह्रश्राद्धमा पितृतर्फ र मातृतर्फका गरी तीनतीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाई ससम्मान श्रद्धा गरिन्छ । 

देवता र पितृप्रति श्रद्धापूर्वक नियमित भक्ति गर्नको लागि यो श्लोक पनि आफ्नो नित्यकर्ममा समावेश गर्नसक्नु हुनेछ । 

देवताभ्यस् पितृभ्यश्च महायोगिभ्य एव च ।
नम: स्वधायै स्वाहायै नित्यमेव नमो नम:।।
 
अर्थ (‘देवता, पितृ, महायोगी,  स्वधा (पितृपत्नी) र स्वाहा(देवपत्नी) सहितको लागि मेरो सर्वदा नमस्कार नमस्कार छ ।  (अग्रि पुराण : 117.22)
 
श्राद्धको आरम्भ र अन्त्यमा यो मंत्र तीन पटक उच्चारण गर्नाले श्राद्ध गर्दा भएको त्रुटि क्षम्य हुन्छ । पितृ प्रसन्न भएमा आसुरी शक्तिको नाश भएर जानेछ । 
समीक्षा 

अन्त्यमा संसारमा पितृको आशीर्वाद जस्तो ठूलो चिज कुनै पनि हुँदैन । एऊटा भनाई छ (पितृबाट प्राप्त गरेको वस्तु देवताबाट हरण हुन सक्दैन । जसले जीवित अवस्थामा हुँदा पनि सेवा गरी उहाँहरुको पीड़ा र दुखमा साथ दिएको छ र खुसी राख्न सफल भएको छ भने उसले नपाउने चिज कुनै पनि हुँदैन । यी सबै कुरा गर्नाले प्राप्त गर्ने चीजहरु भनेका सबैभन्दा पहिले राम्रो सँस्कार, सत्संगत, आफ्नो ईच्क्षाअनुसारको सन्तान, राम्रो अध्ययन, सुहाउँदो पेशा र सकारात्मक सोँचाई भएको जस्तो आनन्दमय र सुखी जीवन संसारमा कहीँ पनि हुँदैन । श्राद्धको यति ठूलो महिमा हुँदाहुँदै पनि कतिपय व्यक्तिहरुले यसलाई नबुझेर वा नजानेर यसको बारेमा नकारात्मक टिका टिप्पणी गर्ने गरेको पाइन्छ । तर सोधखोज गर्यो भने सबै कुरा भेटिन्छ । सबैजनाले यस्ता कुराहरु थाहा पाउन संस्कृत नै पढ्नु पर्छ भन्ने छैन । नेपाली, हिन्दी, अंग्रेज़ी भाषामा पनि धेरै कुरा आइसकेका छन् । ज्ञान भयो भने तपाइलाई जीवनमा कुनै पनि अप्ठेरो पर्दैन । सम्पूर्ण कर्मकाण्ड तथा ज्योतिषसम्बन्धी कुनै पनि सल्लाह, परामर्श चाहिएमा सिधै सम्पर्क वा हिन्दु कल्चरल सेन्टरमार्फत सम्पर्क राख्न सक्नु हुनेछ । www.hinduculturecenter.com अस्तु । 

(लेखक  खनाल बिगत १० वर्षदेखि कर्मकाण्ड तथा ज्योतिष सेवामा समर्पित अमेरिकाको भर्जिनिया निवासी हुन् । )


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter