संविधान संशोधन आवश्यक : नेत्री संग्रौला

संविधान संशोधन आवश्यक : नेत्री संग्रौला



महोत्तरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान निर्वाचन प्रणालीमा सुधार जरुरी भएको धारणा राखेकी छन् । आज महोत्तरीको बर्दिवासमा नेपाली कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनमा बढेको विकृति अन्त्यका लागि निर्वाचन प्रणालीमा तत्काल सुधारका लागि संविधान संशोधनको आवश्यकता औँल्याइन् ।

अहिलेको निर्वाचन प्रणालीले स्थायी सरकार दिन नसक्ने भन्दै उनले चुनावमा बढेको विकृति निस्तेज गर्न र प्रतिस्पर्धालाई विचार र निष्ठासँग बाँध्न अपर्याप्त देखिएको हुँदा यसमा संशोधनको आवश्यकता रहेको उल्लेख गरिन् ।

नेपाली कांग्रेसमा निर्वाचन प्रणाली सुधार र शासकीयस्वरुपलगायतका विषयमा बहस सुरु भएको संग्रौलाले बताइन् ।

राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य र सुशासन प्रवद्र्धनका कुरा गरे पनि यसलाई कार्यान्वयन गर्नेतिर सुदृढ इच्छाशक्ति देखाउन नसकेका उनको भनाइ थियो । पछिल्ला केही वर्षयता सरकार बन्ने, ढल्ने अस्थिर प्रक्रियाले जनतामा झन् बढी निराशा बढेको उनले उल्लेख गरिन् । मुलुकमा बढेको अस्थिरताको सम्बोधन नेपाली कांग्रेसले मात्र गर्नसक्ने उनको दाबी छ ।

उनले भनिन्, “हामी यो पद्धतिलाई आत्मसात् गरेर मुलुकको समृद्धि र सुदृढ सरकार दिन अघि बढेका छौँ ।” आगामी निर्वाचनमा जनताको साथले कांग्रेस यो अभिभारा पूरा गर्ने जिम्मेवारीसाथ सङ्गठन सुदृढीकरणमा लागेको उनको भनाइ छ ।