सन्दर्भ विश्व पानी दिवस : खानेपानीको सास्ती उस्तै

सन्दर्भ विश्व पानी दिवस : खानेपानीको सास्ती उस्तै



काठमाडौं । “एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्छिन् ।

उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उनि भन्छिन्, “मेलम्ची आयो, घरबेटीका लागि । डेरामा बस्नेका लागि कहाँ हो र ?” रामेछाप स्थायी घर भई हाल जडीबुटीमा बस्दै आएकि उनि । उपत्यकामा सुख खोज्दै आउँदा पानीको चरम समस्या भोगिएला भन्ने उनलाई लागेको थिएन ।

मेलम्ची आएपछि सुख पाइएला भन्ने थियो तर घरबेटीले प्रयोग गर्छन्, भाडामा बस्नेहरुलाई प्रयोग गर्न नदिने रहेछन् । “पहिल्यैदेखि नै हामी एक भाँडो पानीका लागि घण्टौँ लाइन बस्दै आयौँ, अब त मेलम्ची आएर सुख पाइन्छ कि भनेको सास्ती उस्तै छ,”भूर्इंमा राखेको भाँडो पर सार्दै उनि भन्छिन्, “सरकारले हाम्रो समस्या छिट्टै बुझिदिए हुन्थ्यो नि !”

त्यही धारामा पालो कुर्दै बसेकि थिइन् मैया श्रेष्ठको चिन्ता पनि उस्तै थियो । उमेरले बुढ्यौली लाग्यो । ठूलो भाँडोमा पानी बोक्न सक्दैनिन् उनि ।

साना बोतलहरु लिएर जाँदा पनि घण्टौँसम्म पनि लाइनमा थिइन् । “मेरो घर भोजपुर हो, हामी जडीबुटी बसेको २० वर्ष भयो, पहिला पनि लाइन बसेर पानी थाप्नुपथ्र्यो, मेलम्ची आएको छ तर कहिले आउँछ कहिले आउँदैन,” उहाँ भन्नुहुन्छ, “ठूलो भाँडामा पानी लानै सकिँदैन, सानासाना भाँडामा पानी थापेर कतिले पुग्नु ।”

पानीकै लागि रात माया मारेर अनिदो बस्न बाध्य कैयौँ गृहिणीमध्ये एक हुनुहुन्छ काठमाडौँ डल्लु बस्दै आएकि सरस्वती बुढामगर । “धारामा पानी रातिमा आउँछ, सुतेपछि निदाइएला र पानी थाप्न नपाइएला भन्ने चिन्ता लाग्छ, पानी आउने दिनमा रातै माया मारेर अनदो बस्छु,” उनि भन्छिन् ।

उनिहरु त एउटा उदाहरणका पात्रहरु मात्रै हुन । उपत्यकामा यी र यस्तै समस्याहरु भोग्नेहरु अरू पनि छन् । मेलम्ची आयोजनाले केही खुसी त ल्याएको छ तर उपत्यकाका सबै बासिन्दाले प्रयोग गर्न पाएका छैनन्, मेलम्ची खानेपानी । आयोजना अनिश्चित हुँदा वर्षासँगै बन्द हुने र हिउँदसँगै खाल्ने मेलम्चीले

उपत्यकावासीलाई आशातीत खुसी दिन सकिरहेको छैन । मेलम्ची आए पनि वर्षासँगै बन्द हुने कुराले चिन्तित हुुनहुन्छ, लैनचौर बस्ने सोधा सापकोटा । “मेलम्ची आएको छ, केही हदसम्म त सजिलै छ,” उनि भन्छिन्, “तर अब फेरि केहिले बन्द हुने हो ? के भर छ र ? अनि समस्या पहिल्यैको जस्तै ।”काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै खानीपानीको माग बढी र सो अनुसार आपूर्ति व्यवस्थापन कम हुँदा समस्या उत्पन्न भएको जानकारी दिएका छन् ।

“अहिले उपत्यकामा खानेपानीको माग भनेको ४७ करोड लिटर छ तर मेलम्चीसहित २६ करोड लिटर मात्रै खानेपानी आपूर्ति भइरहेको अवस्था छ,” उनि भन्छन्, “मागअनुसार खानेपानीको आपूर्ति व्यवस्थापन गर्न खानेपानीको नयाँ स्रोतहरु पहिचान र अन्य नयाँ योजनाहरु तर्जुमा गर्न आवश्यक छ ।” उनले मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको तथा याङ्ग्री र लाक्रे खानेपानी आयोजना निर्माणको टुङ्गो नलागेकाले थप अन्योल उत्पन्न भएको बताए ।

नेपालको संविधानको धारा, ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक हुने व्यवस्था गरिएको छ तर नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न नपाएको र मौलिक हक कार्यान्वयनमा चुनौती रहेको बताउछन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ।

“प्रत्येक नागरिकले मौलिक हकअनुसार सफा पानी पिउन पाउनुभएको छैन भने कानुनी उपचारमा जान पाउनुहुन्छ, तर मौलिक हक कार्यान्वयनका लागि आवाज उठाउनुपर्छ भन्ने जनचेतनाको विकास भइसकेको छैन,” उनि भन्छन् ।