सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

देशभर सार्वजनिक बिदा, सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे गरिने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय गरेको छ ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् ।

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ । नेम्वाङका २ छोरी र २ छोरा छन् । छोरीहरू भने काठमाडौँमा नै छन् ।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो ।

सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकोले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ ।