अमेरिकी विदेशमन्त्री बर्खास्त
राष्ट्रपति भन्छन्-'रेक्ससंग व्यक्तिगत स्वभाव मिलेन'

Globe Nepal
Globe Nepal 2018-03-13

एजेन्सी,मार्च १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् । उनले आज नै आफ्ना सहयोगी रेक्सलाई बर्खास्त गरेका हुन् । आफुलाई के कारण हटाइएको हो भन्ने बारे आफु जानकार नरहेको रेक्सले प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले रेक्ससंग व्यक्तिगत स्वभाव नमिलेको कारण भनि बर्खास्त गरेको जनाएका छन् ।
राष्ट्र्पति ट्रम्पले नयाँ विदेशमन्त्रीमा अमेरिकी गुप्तचर संस्था सीआइएका निर्देशक माइक पम्पियोलाई नियुक्त गरेका छन् । पम्पियोलाई विदेशमन्त्री नियुक्त गरेपछि रिक्त सीआइए प्रमुखमा राष्ट्रपति ट्रम्पले जीना हास्पेललाई नियुक्त गरेका छन् । गुप्तचर निकायको प्रमूख हुने हास्पेल पहिलो अमेरिकी महिला बनेकी छिन् ।
राष्ट्रपति ट्रम्पले आज आफ्नो निजी ट्वीट मार्फत यस्तो परिवर्तनको घोषणा गरेका हुन् । लगत्तै उनले संचारकर्मीहरुलाई सम्बोधन गर्दै यो महत्वपूर्ण फेरबदलको जानकारी गराउदै विदेशमन्त्रीको रुपमा रेक्सले गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।
व्यापारिक पृष्ठभूमिका रेक्स टिलरसन राष्ट्रपति ट्रम्पको पहिलो रोजाईका विदेशमन्त्री थिए,जसलाई एक वर्ष पहिले ट्रम्पले नियुक्त गरेका थिए । तर रेक्सको नियुक्तिपछि अमेरिका र रुसको सम्बन्धमा निकै प्रश्न उठेको थियो । राष्ट्रपति ट्रम्पसंग रेक्सको विदेश मामिला नीतिमा कैयौं मतभेद पनि सार्वजनिक हुने गरेको थियो । अहिले अमेरिका र उत्तर कोरियाबीच वार्ताको विषयले चर्चा लिइरहेका बेला राष्ट्रपति ट्रम्पले आफ्नो विश्वासपात्र भनि एक वर्ष पहिले नियुक्त गरेका विदेशमन्त्रीलाई बर्खास्त गर्नुलाई विश्लेषकहरुले निकै चासोपूर्वक टिप्पणी गरेका छन् । एक्सन मोबिल नामक तेल कम्पनीका प्रमूख रहिसकेका रेक्स मध्यपूर्वमा अमेरिकी उपस्थिति बलियो बनाउने र खुला व्यापारको पक्षमा आफ्नो विचार व्यक्त गर्दै आइरहेका थिए जुन राष्ट्रपति ट्रम्पको विचार भन्दा भिन्न भएको टिप्पणी समेत गरिएको छ । रेक्सको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग निकट सम्बन्ध रहेको तर यो सम्बन्ध विदेशमन्त्रीको रुपमा रेक्सका लागि उपलान्धीमूलक हुन नसकेको टिप्पणी समेत गरिएको छ ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com