एजेन्सी,सेप्टेम्वर ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति निकै अनुदार देखिन्छन् । राष्ट्रपति पदको चुनावको बेला उनको यो छबी निकै चर्चामा थियो । अमेरिका आफैंमा एक आप्रवासीको मुलुक हो । घुमन्ते आप्रवासी क्रिष्टोफर कोलम्बसले नै अमेरिका पत्ता लगाएको इतिहास सबैले पढेकै छन् । अहिले पनि अमेरिकालाई चिनाउनका लागि आप्रवासीहरुले गरेको योगदान महत्वपूर्ण रहेको छ । हरेक क्षेत्रमा आप्रवासीहरुको योगदानका कारण आज अमेरिका सबैका लागि गौरव गर्न लायक राष्ट्र बनेको छ । तर यही मुलुकका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने आप्रवासीका प्रति निकै अनुदार देखिएका छन् ।
अमेरिकाका दुई प्रमूख पार्टी मध्ये डेमोक्र्याट पार्टी आप्रवासीप्रति तुलनात्मकरुपमा लचिलो मानिन्छ भने रिपब्लिकन पार्टी ट्रम्प जस्तै अनुदार । रिपब्लिकनहरुलाई परम्परागत शैलीको विचार अंगाल्ने भनेर टिप्पणी गरिन्छ ।
तुलनात्मक रुपमा उदार देखिएको डेमोक्र्याट पार्टीप्रति आप्रवासी समुदायको विशेष झुकाव रहेको देखिन्छ । तर गत वर्षको निर्वाचनमा ट्रम्प विजयी भएपछि एकाएक आप्रवासीहरु सशंकित मात्र भएनन्, लौ न अब ट्रम्पले के गर्ने हुन् भनेर त्रसित समेत बनेका थिए । चुनावका अवधिमा मेक्सिको र अमेरिका बीचको सीमामा पर्खाल लगाउने,अमेरिकालाई फेरि महान बनाउने र आप्रवास नीतिमा कडाई गर्ने घोषणा गरेका ट्रम्पले राष्ट्रपतिको रुपमा आप्रवासीप्रति अनुदार रबैया अपनाएका छन् । यसको पछिल्लो उदहारण हो मंगलवार मात्र राष्ट्रपति ट्रम्पले रद्द गर्न आदेश दिएको ड्रिम कानुन ।
यो कानुन पूर्व राष्ट्रपति बाराक ओबामाले अध्यागमन सम्बन्धी नयाँ कानुन पास गराउन नसकेपछि ल्याएको एक विशेष आदेशसहितको कानुन थियो । जसमा कागजपत्रबिहीन आमाबाबुका छोराछोरीलाई अमेरिकामा बस्न,पढ्न र काम गर्न पाउने व्यवस्था थियो । तर मंगलवार राष्ट्रपति ट्रम्पले ओबामाले ल्याएको यो विशेष कानुन रद्द गर्ने घोषणा गरेका छन् ।
पाँच वर्ष अघि पूर्व राष्ट्रपति ओबामाले कार्यकारी आदेश मार्फत नावालक हुँदा अभिभावकसँगै अमेरिका छिरेका किशोर किशोरीलाई अमेरिकाबाट देश निकाला गर्न नदिने भन्दै ड्रिम कानुनको व्यवस्था गरेका थिए । तर मंगलवारदेखि यो कानुन रद्द भएको छ र अब त्यस्ता नावालकहरुले डिफर्ड एक्शन फर चिल्ड्रेन अराइवल (डीएसीए) भनेर चिनिने यो ड्रिम कानुनको सुविधा लिन आवेदन दिन पाउने छैनन् । तर पहिले नै यो सुविधा लिएकाहरुले भने नवीकरण गर्न सक्नेछन् । ट्रम्प प्रशासनले मार्च ५,२०१८ पहिले नै यो सुविधाको अन्त्य हुने आवेदकहरुको हकमा अर्को दुई वर्षसम्म नवीकरण गर्न सक्ने प्रवन्ध गरेको छ । तर त्यसका लागि यही अक्टुबर ५ तारिखभित्र नवीकरणका लागि आवेदन दिइसक्नुपर्नेछ । यो कानुनको सुविधा लिएकाहरुले मार्च ५, २०२० पछि देश छाड्नुपर्ने वा अन्य विकल्प खोजिसक्नुपर्नेछ । सोही मितिदेखि ड्रिम कानुन पूर्ण रुपमा अन्त्य हुनेछ । आपाराधिक गतिविधिमा संलग्न नभएको र कुनै आपराधिक समूहमा आवद्ध नभएका र यो कानुन अन्तर्गत सुविधा लिएकाहरुलाई तत्काल देश निकाला गर्ने र प्रहरीले पक्रने वा खोजबीन गर्ने छैन ।
राष्ट्रपति ट्रम्पले अमेरिकी जनताले दिएको म्यान्डेट अनुसार देशको अधिकतम हितका पक्षमा यो निर्णय गरेको जनाएका छन् । यो कानुनको खारेजीसंगै करीब आठ लाख आप्रवासी प्रभावित हुनेछन् । सन् २०१२ मा कार्यान्वयनमा आएको यो कानुनको सुविधा लिने आठ लाख आप्रवासी छन् भने गत वर्ष राष्ट्रपति निर्वाचित भएका ट्रम्पको कार्यकाल सुरु भएयता दुई लाखभन्दा बढी आवेदन दिएर निर्णयको प्रतीक्षामा छन् । आप्रवासी अधिकारका पक्षमा वकालत गर्नेहरुले राष्ट्रपति ट्रम्पको यो निर्णयको विरोध गरेका छन् ।
'अमेरिका सधैं आप्रवासीको मुलुक हो । हामीले सधैं हाम्रो शक्ति अमेरिकालाई उत्कृष्ठ बनाउन सदुपयोग गर्नुपर्छ । आर्थिक सम्मृद्धिका लागि काम गर्नुपर्छ । यो देशमा जब कुनै देशका नागरिक सिक्न,अध्ययन गर्न,काम गर्न र समुदायका लागि केही दिन आउँछन् भने हामीले उनीहरुलाई अवसर र अनुमति दिनुपर्छ' जेपी मोर्गन चेस एण्ड कम्पनीका प्रमूख एवं अध्यक्ष जेमी डिमोन भन्छन् ।
यसैबीच आप्रवासीको शहर भनेर चिनिने विश्वको व्यापारिक राजधानी न्यूयोर्क शहरका मेयरले राष्ट्रपति ट्रम्पको आदेश आफ्नो शहरका आप्रवासीका लागि मान्य नभएको घोषणा गरेका छन् । मेयर बिल डे ब्लासियोले एक विज्ञप्ति जारी गर्दै ड्रिम कानुनको निरन्तरताका लागि राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध अदालत जाने समेत बताएका छन् । उनले भनेका छन् ड्रिम कानुनको अन्त्यबाट प्रभावित हुनेहरु राष्ट्रपति ट्रम्प जस्तै मानव हुन् । सबैलाई समान व्यवहार र सम्मान गर्नुपर्छ । तपाईंहरुको सुरक्षाका लागि म लड्नेछु,तपाईंहरुले यो शहरका लागि ठूलो योगदान गरिरहनु भएको छ । त्यसैले आउनुस् संगै हातेमालो गरौँ,म ड्रिम कानुनको निरन्तरताको पक्षमा लड्नेछु ।
ड्रिम कानुन ल्याउने पूर्व राष्ट्रपति ओबामाले पनि ट्रम्पको यो निर्णयको भर्त्सना गरेका छन् । यो कानुन अन्तर्गत अध्ययन गर्न पाउने,काम गर्न पाउने सुविधा थियो । राष्ट्रपति ट्रम्पको ड्रिम कानुन खारेज गर्ने घोषणाको विरोधमा विभिन्न शहरमा प्रदर्शन सुरु भएको छ ।
ड्रिम कानुनअन्तर्गत सुविधा लिने दश प्रमूख देशका नावालक आप्रवासी मध्ये मेक्सिको,एल साल्भाडोर,ग्वाटेमाला,होन्डुरस,पेरु,दक्षिण कोरिया,ब्राजिल,इक्वेडर,कोलम्बिया र फिलिपिन्सका आप्रवासी रहेका छन् ।