प्रचण्डको अब प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन : ओली

प्रचण्डको अब प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन : ओली


ग्लोब नेपाल
1.1k
Shares

काडमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् । फेरि एक पटक प्रधानमन्त्री हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ ।

यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैँ झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरी घुमी फिरिकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमाले मात्रै हो जसकाे राष्ट्रिय स्वार्थबाहेक दलगत स्वार्थ छैन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याए । उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।