रुकुम घटना मानवता विरोधी जघन्य अपराध, संसदीय छानबीनको माग

Globe Nepal
Globe Nepal 6 महिना अगाडी

बाल्टिमोर,अमेरिका,मे ३०।  गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको जातीय विभेदको घटना मानव अधिकार र मानवता विरुद्धको जघन्य अपराध भन्दै अमेरिकाबाट घटनाको निन्दा गरिएको छ। अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदको कारण देखाई भएको हत्याले आधुनिक समाजमा कालो धब्बा लगाएको भन्दै अमेरिकामा क्रियाशील दुई छुट्टाछुट्टै संस्थाले यो बर्बर जातीय हिंसाको निष्पक्ष छानबीनका लागि संसदीय समिति गठन गठन गर्न समेत माग गरेका छन्।चौरजहारी घटनामा २१ वर्षीय नवराज विकको हत्या भएको थियो भने अन्य पाँच जनाको शव भेरी नदीबाट निकालिएको छ। 
जातीय विभेदका विरुद्ध क्रियाशील नासो कम्युनिटी,अमेरिका र नेपाली जनसम्पर्क समिति,अमेरिकाले विज्ञप्ति जारी गरी घटनाको निन्दा र भर्त्सना गरेका छन्।  नासोका तर्फबाट अध्यक्ष गोपाल विश्वकर्मा र नेपाली जनसम्पर्क समिति,अमेरिकाको तर्फबाट सभापति एवं कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा यस हत्याकाण्डमा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग समेत गरिएको छ। 
नासोले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ:
आजको २१ औं शताब्दीमा आएर पनि नेपालको रुकुमस्थित चौरजहारीमा दलित भएकै कारण २१ बर्षका नबराज बिक र उनका सथिहरुमाथि भएको सामुहिक र सुनियोजित हत्याकाण्डप्रति नासो कम्युनिटी अमेरिका गम्भीर चासो ब्यक्त गर्दछ। साथै उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरता पुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछ।
रुकुमको यस घटनाले दलितहरुको आत्मसम्मान र मनाबधिकारको मात्र हनन भएको छैन कि, दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको छ। घटनाले नेपालमा जातीय भेदभाब जस्तो अमानबिय प्रथा कायमै रहेको मात्र नभई जकड़ीएर रहेको प्रस्ट हुन्छ। यसले नेपालको संबिधान र कानुनमा भएको जातिय छुवाछुत बिरोधि व्यवस्थाहरुको उलंघन मात्र गरेको छैन कि लोकतान्त्रिक समाजको खिल्ली समेत उडाएको छ। अझ त्यसमाथि छानबिनलाई प्रभावित बनाई घटनामा सलंग्न दोसिहरुलाई उम्काउन गरिएका सबैखालका षड्यन्त्रहरु प्रति समेत हामी खबरदारी गर्न चाहन्छौ। र, घटनाको निस्पक्ष छानबिन गर्न बिशेस प्रकारको संसदिय छानबिनको माग पनि गर्दछौ।
हामी घटनाको यस एस स्थितिमा जातीय भेदभाब विरुद्धको अझ कडा र सार्थक आन्दोलन आबस्यक भएको हुँदा दलित तथा मानवअधिकारका लागि क्रियाशील सबै संघ-संगठनहरुलाई एकताबद्द भै निर्णायक आन्दोलनको लागि पनि आव्हान गर्दछौ।
गोपाल बिश्वकर्मा
अध्यक्ष,नासो कम्युनिटी अमेरिका 
यसैगरी नेपाली जनसम्पर्क समिति,अमेरिकाले जारी गरेको विज्ञप्ति:
मिति: मे ३०,२०२० 
 रुकुमको चौरजहारीमा यही जेठ १० गते २१ वर्षीय नबराज बिकसहितका युवाहरुमाथि भएको जघन्य हत्याकाण्डको घटनाबाट नेपाली जनसम्पर्क समिति,अमेरिका स्तब्ध भएको छ। हामी यसखाले बर्बर घटना र जातीयताका आधारमा हुने विभेदका प्रति घोर निन्दा र भर्त्सना गर्दै घटनामा संलग्न अभियुक्तहरुको तत्काल पहिचान गरी दोषीहरुलाई कडा कानुनी कारवाहीको माग गर्दछौं। जातीय विभेद संविधान र कानुनले नै बर्जित गरेको अवस्थामा कथित् जातीयताका नाममा जोडेर भएको यो घटनाका दोषीहरुले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा हामी सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउन चाहन्छौं। 


 यो घटना मानवता र मानव अधिकार विरुद्धको जघन्य अपराध हो। व्यक्तिको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ। जातीय छुवाछूत र भेदभावले हाम्रो समाजको रुपान्तरण गर्न सक्दैन। यस किसिमको जघन्य अपराध हाम्रो विद्यमान कानुन र व्यवस्थाको विरुद्ध छ। यो नरसंहारको घटना विद्यमान व्यवस्थाका लागि समेत एक कलंक हो। जातीय विभेदको यो कुरुप नमुनाले हाम्रो समाज रुपान्तरणमाथि कालो धब्बा लागेको छ। 
यस घटनाको बारे तत्काल सरकारले निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ भन्ने हामी माग गर्दछौं। यस किसिमको घृणित र जातीय आधारमा हुने जुनकुनै घटना अक्षम्य छन् जसको हामी सधैं विरोध गर्दछौं । साथै अहिले यो नरसंहारको घटनालाई राजनीतिक शक्तिको आडमा प्रभावित बनाई यसलाई अन्यत्र मोड्नेगरी भैरहेका सबैखाले षड्यन्त्रका प्रति हामी खबरदारी गर्दै यसलाई राजनीतिले ढाकछोप गर्ने प्रयास नगर्न पनि हामी सचेत गराउन चाहन्छौं। 

आनन्द विष्ट
सभापति,नेजस अमेरिका 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com