बन्धु पोख्रेल
हामी बीच दक्षिण विरोधी मनोविज्ञान छ जारी,
छिमेकीको बिरोध गर्ने कहलिन्छ नि क्रान्तिकारी ।
बिरोध गर्नेहरु पनि रहेछन् यहाँ अनेक थरिका,
भत्ता खुवाएर भित्री सूचना लिने उनकै तरिका ।
बिरोधी बन्छन् कोही खोजी होस् उताबाट भन्दै,
डुब्दै आफ्नै कल्पनामा मनमनै पाइने भत्ता गन्दै ।
बिरोधीको नियाल्यो भने दैनिक ती कृयाकलाप,
चल्छ लैनचौर दरबारमा तिनको अलाप बिलाप ।
आए एक टुक्के ती छिमेकी बिरुद्ध हल्ला चलाए,
सोचे जनताले यिनले ठूल्दाईलाई साँच्चै गलाए ।
त्यसैको बलमा ती आफूलाई चाहिने फल फलाए,
मै हुँ भन्नेलाई नि सासै फेर्न गाह्रो हुने गरी ढलाए ।
जिज्ञासा छ अति आज्ञाकारी आज बिरोधी किन,
कतै तिर्दैछन् कि छिमेकी विपक्षी पार्टीको ऋण ।
जनचासो छ यी फेरि आज्ञा पालक नदेखिउन्
तर छिमेकीसंगका सम्बन्ध पनि फेरि नबिग्रीउन् ।
न चाकडी न बिरोध सम्बन्ध होस् समान स्तरमा,
बिबाद केही भए मिलाऔं न हो आफ्नै घरमा ।
सत्ता पाउन वा टिकाउन धाउन छाडौं छिमेक तिर,
बनाउन चाहन्छौं यदि भने नेपालीको ठाडो शीर ।