अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित

अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित



काठमाडौं । एसीसी यू–१९ एसिया कपको आफ्नो दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपाल ७३ रनले पराजित भएको छ ।

आइतबार यूएईको आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १८८ रन जोडेर अलआउट भयो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । उनले १ सय ८ बलमा १३ चौकाको मदतले ९१ रन बनाउँदै टोलीको स्कोरलाई अघि बढाएका थिए ।

कप्तान देव खनाल २४ रन, गुल्सन झा १७ रन तथा दीपक बोहराले १५ रन बनाएर बनाएर पभेलियन फर्किए । दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए ।

त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आजको हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । नेपालले अन्तिम खेल भारतसँग खेल्ने छ ।