एनआरएन अमेरिका प्रतिनिधि चयन विवाद
क्षेत्रीय संयोजकद्वारा गठित समितिले बुझायो सिफारिश

Globe Nepal
Globe Nepal 8 महिना अगाडी

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ३० । एनआरएन अमेरिकाको तर्फबाट आसन्न एनआरएन आइसीसीको नवौं सम्मेलनमा सहभागी हुने प्रतिनिधि  चयन विवाद समाधान हुने संकेत देखिएको छ । एनआरएन एनसीसी अमेरिकाको तर्फबाट सार्वजनिक सूचीमा समितिका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुसहित १३  जनाले असहमति जनाएपछि उत्पन्न विवाद समाधान गर्न आइसीसीका अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले आइसीसी सदस्य प्रकाश सापकोटाको संयोजकत्वमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरुको जॉंचबुझ, छानबिन तथा पुन: सिफारिस समिति गठन गरेका थिए । शुक्रवार गठित समितिमा आइसीसी सदस्यहरु धर्म भट्टराई, राजन त्रिपाठी र जेदू पोख्रेल तथा आइसीसी विधान समितिका सदस्य प्रमोद सिटौला सदस्य थिए । सोही समितिले क्षेत्रीय संयोजकले दिएको पाँच दिने समयसीमा अनुसार आज आफ्नो सिफारिशसहितको प्रतिवेदन बुझाएको छ ।
समिति गठनका बेला क्षेत्रीय संयोजक जोशीले 'अन्तर्राष्ट्रिय समन्वय परिषदको मापदण्ड,बिधि बिधान र निर्णय बिपरित एनसीसी अमेरिकाले प्रतिनिधी छनौट गरेको र त्यसका बारे क्षेत्रीय संयोजकलाई कुनै जानकारी र समन्वय समेत नगरिएको र प्रतिनिधि चयन विवादमा कार्य समितिकै बहुमत सदस्यहरुको असहमति रहेकोले प्रतिनिधी छनौट प्रक्रियामा भएका त्रुटीलाई पुनरावलोकन गरी आइसीसीले निर्धारण गरेको मापदण्ड बमोजिम प्रतिनिधी छनौट गरी अमेरिकाज् क्षेत्रीय संयोजकलाई पठाउनु हुन' भन्दै समितिलाई जिम्मेवारी दिएका थिए । सोही अनुसार आफुहरुले आज नै सिफारिशसहित प्रतिवेदन बुझाएको संयोजक प्रकाश सापकोटाले ग्लोब नेपाल डट कमलाई जानकारी दिएका छन् । उनले भने,-'समितिमा प्राप्त ४९ जनाको लिखित निवेदन उपर छानबीन गरी हामीले उहाँहरु प्रतिनिधि चयनमा छुट्नु नपर्ने आधार र कारणसहित क्षेत्रीय संयोजकसमक्ष सिफारिश गरेका छौं र यसको बोधार्थ आइसीसी अध्यक्ष र महासचिव अनि एनसीसी अध्यक्षलाई पनि दिएका छौं ।' सापकोटाले यो जिम्मेवारीलाई पुरा गर्ने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । यसैबीच क्षेत्रीय संयोजक गौरी जोशीले सिफारिश समितिको प्रतिवेदन प्राप्त भएको जानकारी दिदैं अब आफुले प्रतिवेदन अध्ययन गरेपछि बाँकी निर्णय गर्ने बताए ।
आइसीसीको विद्यमान विधान अनुसार सम्बन्धित क्षेत्रका क्षेत्रीय संयोजकले हस्ताक्षर गरेर आइसीसीमा पठाएको प्रतिनिधि सूचीलाई मात्र आइसीसीले मान्यता दिनेछ ।
आइसीसीको नवौं विश्व सम्मेलन अक्टुबर १५ देखि १७ सम्म काठमाण्डौमा हुँदैछ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com