एनआरएन इमर्जिंग नेपाल फण्डमा लगानीका लागि आव्हान

एनआरएन इमर्जिंग नेपाल फण्डमा लगानीका लागि आव्हान



अमेरिका,डिसेम्वर २२।  एनआरएनएले आफ्ना सबै सदस्यहरुलाई आफ्नो महत्वकांक्षी योजना इमर्जिंग नेपाल फण्डमा लगानीका लागि आग्रह गरेको छ। अध्यक्ष कुमार पन्तले आफ्नो नेतृत्व दावी गर्दैगर्दा लगानीका लागि यस्तो कोषको गठन गरिने एजेन्डा अघि सारेका थिए। सोही अनुसार अहिले यस्तो कोष निर्माणका लागि एनआरएन नेतृत्वले गैर आवासीय नेपालीहरुलाई लगानीका लागि आग्रह गरेको हो। 
यो कोष दश अरब रुपैंयाको हुनेछ। कोषमा एक जनाले न्यूनतम पचास लाख र अधिकतम पाँच करोड रुपैंया लगानी गर्न सक्नेछन्। नेपालमा कम्पनी दर्ता गरी यो कोषमा रकम संकलन गरिनेछ। अहिले कम्पनी दर्ताका लागि एनआरएनले सबै प्रशासनिक र कानुनी प्रक्रिया अगाडी बढाएको छ। त्यसका लागि एक अरब पचास करोड रुपैंयाको श्रोत (प्रतिवद्धता) एनआरएनले देखाउनुपर्नेछ। कम्पनी दर्ताका लागि आवश्यक पर्ने पुँजी रकम संकलन जारी रहेको र हालसम्म एक अरबभन्दा बढी रकमको प्रतिवद्धता प्राप्त भैसकेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन्। यसरी प्रारम्भिक चरणमा लगानीका लागि प्रतिवद्धता जाहेर गर्नेहरुमा एनआरएनका संस्थापकहरु,पूर्व र वर्तमान नेतृत्वतहका व्यक्तिहरु छन्। ‘यो गैर आवासीय नेपालीहरुको संगठित लगानीका लागि तयार गरिएको प्रोजेक्ट हो जसलाई म मास्टर प्रोजेक्ट भन्न चाहन्छु। यस पहिले एनआरएनका केही साथीहरुले सानो रुपमा जल विद्युत परियोजनामा यसरी लगानी गरेर प्रतिफल लिइरहनु भएको छ भने अन्य प्राय: लगानी व्यक्तिगत रुपमा भैरहेको छ,तर इमर्जिंग नेपाल फण्ड चाहिं सामुहिक लगानीको अवसर हो जसलाई संगठित रुपमा लगानी र सबै सदस्यले प्रतिफल पाउने गरी परियोजना संचालन गरिनेछ’अध्यक्ष पन्तले भने।