कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा दाहाल
कार्यकर्ता नभनौं,प्रजातान्त्रिक आचरण अवलम्बन गरौँ

Globe Nepal
Globe Nepal 2018-07-18

काठमाडौं,साउन २ । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल नियुक्त भएका छन् । कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले दाहाललाई  नियुक्त गरेका हुन् । उपसभापति निधिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम दाहाललाई सो पदमा नियुक्त गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।
चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल ३४ वर्षदेखि वाल्मीकि क्याम्पसमा राजनीतिशास्त्र विषयको प्राध्यापनमा संलग्न छन् । २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न प्राध्यापक दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् । 
प्रखर वक्ता र सशक्त लेखन
कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त भएका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनमा परिचित नाम हो । शहीद भूमि भनेर नेपालको राजनीतिक इतिहासमा चिनिने ओखलढुंगा जिल्लाको बिगुटार गाउँ पुर्ख्यौली थलो भएका दाहाल हाल कपन,काठमाडौंमा बस्छन् । नेपाली कांग्रेसभित्र बौद्धिक व्यक्तित्वका रुपमा समेत सम्मानित दाहाल रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारका संस्थापक संचालक हुन् । जुन कार्यक्रमले दाहाललाई नेपाली भाषा र समसामयिक राजनीतिक विश्लेषणप्रति चासो राख्ने सबैका माझ परिचित गरायो । स्वतन्त्रता,मानव अधिकार र सामाजिक न्यायका पक्षमा निरन्तर आवाज र विचार बुलन्द गर्ने दाहालको वाक कला घटना र विचार मार्फत अभिव्यक्त भैसकेको छ । वाक कला र लेखनमा खरो उत्रिएका दाहालले कांग्रेसको संगठन निर्माण र छरिएर रहेका विचारधाराहरुलाई एकत्रित गरेर संगठन सशक्त बनाउने जिम्मेवारीको नेतृत्व गर्ने अवसर पाएका छन् । पदीय जिम्मेवारीमा नरहँदा पनि विभिन्न अवसरमा देशव्यापी प्रशिक्षणमा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरिसकेका दाहाल कांग्रेस उपसभापति निधिको रोजाईको पहिलो व्यक्ति परेका छन् । त्यसो त यस पहिले उप प्रधान एवं गृहमंत्रीको रुपमा निधिले कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहँदा पनि दाहालले निधिलाई अघोषित प्रमूख सल्लाहकारको रुपमा सहयोग गरेका थिए । 
यस पहिले दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर पनि काम गरेका थिए । यसैगरी २०४८ को आम निर्वाचनका बेला कांग्रेसको केन्द्रीय चुनाव प्रचार समितिको सदस्य र २०५१ मा समितिको सदस्य सचिव भएर काम गरिसकेका दाहाल कांग्रेसका सबै नेताहरुसंग सन्निकट रहेका छन् । दाहालको यो मनोनयन र जिम्मेवारी पार्टीका शीर्ष नेताहरुको सम्बन्ध अझ प्रगाढ बनाउन सहज हुने विश्वास गरिएको छ । उनी चाहे पार्टी सभापति शेरबहादुर देउवा हुन् वा वरिष्ठ नेता रामचन्द्र पौडेल वा अन्य नेतागण सबैसंग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने र सबैले सहज ठान्ने बौद्धिक व्यक्तित्व हुन् । प्रतिष्ठानको कार्यकारी निर्देशकको मनोनयनमा दाहालको प्रस्तावलाई सबै नेताले हार्दिकतापूर्वक लिनु यसकै उदाहरण हो । 'सभापति,वरिष्ठ नेता,अन्य नेतागण सबैले दाहालको नियुक्तिलाई हार्दिकतापूर्वक लिनु भएको छ' कांग्रेसका एक नेताले भने ।
प्रजातन्त्रका पक्षमा २०३१ सालदेखि आन्दोलनरत रहँदा पटकपटक जेल परेका दाहाल बाल्मिकी विद्यापीठ (कलेज) को स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक सभापति (२०३६) समेत हुन् । नेपाल टाइम्समार्फत २०३५ सालदेखि पत्रकारितामा प्रवेश गरेका दाहाल २०३६ देखि राष्ट्रपुकार साप्ताहिकमा क्रियाशील रहे । राष्ट्रपुकारदेखि देशान्तर,नेपालवाणी साप्ताहिक,राजधानी दैनिकको संस्थापक प्रधान सम्पादक,च्यानल नेपालको सम्पादक र अग्नीपरीक्षा कार्यक्रम संचालकलगायत विभिन्न जिम्मेवारीमा रहेर पत्रकारिता मार्फत लोकतन्त्रका पक्षमा निरन्तर लेखन र योगदान गर्दै आएका दाहालले कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको २०५६ को कार्यकालमा संचार सल्लाहकार,राससको अध्यक्ष तथा महाप्रबन्धक समेत भएर काम गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको २०६१ देखि ०६७ सम्म अध्यक्ष रहेका दाहालको शान्ता (उपन्यास),मेरो पत्रकारितालगायत अन्य एक दर्जनभन्दा बढी साहित्यिक कृति समेत प्रकाशित छन् । 'लेखन नै मेरो परिचय हो,लेखन नै मेरो ध्येय हो,म आज जहाँ छु,त्यो सबै मैले मेरो लेखन र प्रस्तुतीले आर्जन गरेको परिचय हो,अहिले मलाई पार्टीमा जुन जिम्मेवारी दिइएको छ,त्यो पनि त्यही लेखनले आर्जन गरेको भूमिका हो भन्ने लाग्छ'दाहालले आफ्नो मनोनयनपछि संक्षिप्त टेलिफोन कुराकानीमा भने ।
कार्यकर्ता नभनौं,प्रजातान्त्रिक आचरण अवलम्बन गरौँ 
कांग्रेसको आन्तरिक सांगठनिक संरचनामा उप सभापति प्रमूख रहने नीति तथा प्रशिक्षण प्रतिष्ठान निकै प्रभावकारी र सशक्त मानिन्छ । यही प्रतिष्ठान मार्फत कांग्रेसले आफ्ना सदस्यहरुलाई प्रशिक्षित गर्ने र समसामयिक नीति तय गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश समेत गर्दछ । यस पहिले वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिष्ठानमार्फत देशव्यापी कार्यक्रम संचालन समेत गरेका थिए । यसै विषयमा अब तपाईं यो प्रतिष्ठानका गतिविधिलाई कसरी अघि बढाउनु हुन्छ भनेर ग्लोब नेपाल डट कमका तर्फबाट हामीले दाहालसमक्ष जिज्ञासा राखेका थियौं । जवाफमा दाहालले कांग्रेसको आफ्नो विचार,नीति,कार्यक्रम र उद्देश्यलाई सदस्यहरुका माझ पुर्याउने र सोही अनुसार प्रशिक्षित गराउने काम आफुले गर्ने बताए ।'मूख्य कुरो कांग्रेसभित्र आन्तरिक प्रजातान्त्रिक आचरणको अभ्यास कमजोर छ, विचारहरु धेरै ठाउँ र समूह समूहमा छरिएका छन् । तसर्थ प्रशिक्षण केन्द्रले आफैंभित्र प्रजातान्त्रिक आचारण र संस्कारका लागि कार्यक्रम बनाउनेछ भने सबैतिर छरिएका विषयलाई समेटेर पार्टीको मूल नीति समय सापेक्ष बनाएर केन्द्रमा सिफारिश गर्नेछ । त्यसबाहेक आम नागरिकमा कांग्रेसको नीति बारे कार्यक्रम लिएर जाने र नयाँ सदस्य बनाउनका लागि प्रशिक्षित गराइने कार्यक्रम समेत गरिनेछ' दाहालले भने ।
साथै आफ्नो मनोनयन लगत्तै दाहालले पार्टीका नेताहरुलाई आफ्ना सदस्यहरुलाई कार्यकर्ता नभन्न अनुरोध समेत गरेका छन् । 'आज मैले सभापतिजीलाई भेटेर अब कार्यकर्ता शब्द प्रयोग नगरौं,पार्टीका सदस्य र साथीहरु भनेर सम्बोधन गरौँ भनेर अनुरोध गरें र उहाँले यसलाई राम्रो प्रस्ताव भन्नु भएको छ' दाहालले भने । 
बधाई र शुभकामनाका केही उदाहरण 
अहिले दाहालको मनोनयनलाई लिएर सामाजिक संजालमार्फत बधाई र शुभकामना दिनेहरु यो मनोनयनका प्रति खुशी मात्र छैनन्, कांग्रेसले अब नीतिगत रुपमा प्रशिक्षण दिने, सदस्यहरुलाई पार्टी गतिविधिप्रति जानकारी अध्यावधिक गराई राख्ने र संगठन गतिशील बनाई राख्न दाहालले भूमिका खेल्ने विश्वास समेत व्यक्त गरिरहेका छन् । कान्तिपुर दैनिक संचालनताका आवद्ध रहेका र हाल क्यालिफोर्नियामा रहेका संचारकर्मी रबी अधिकारीले दाहाललाई बधाई दिदैं लेखेका छन्,-'दाजुलाई धेरै बधाई र शुभकामना । नेपाली कांग्रेसलाई हाम्रो पार्टी भन्न सकिने गौरब पुन: जागोस् ।' यसैगरी हाल लन्डनमा रहेका ओखलढुंगाका शिवजी श्रेष्ठ 'सही ठाउँमा योग्य व्यक्तिको मनोनयन, हामी आशा गर्छौं कांग्रेसजनले दाईको भूमिकाबाट आफुहरुको नेतृत्व विकास र पार्टी सशक्त बनाउन सक्नेछन् । दाईको कार्यकाल उपलब्धिमूलक र परिणाममुखी बनोस् । यसैगरी भानुभक्त ढकाल लेख्छन्,-' नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्राध्यापक तथा बरिष्ठ राजनीतिक बिश्लेषक पुरुषोत्तम दाहाल मनोनित हुनुभएको छ । बर्तमान समयमा यसलाई एउटा अशल र सुयोग्य मानिसको उपयुक्त पदमा भएको चयन मान्न सकिन्छ । आदरणीय पुरुषोत्तम दाईलाई हार्दिक बधाई तथा शुभकामना! जय होस मंगल होस ।' गणेश राज पन्त लेख्छन्,-' अब कांग्रेसले उचित काममा अग्रसर हुनेछ र लोकतन्त्रको विकासमा अझ गति लिनेछ ।' 

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com