न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको छ । संयुक्त राष्ट्र संघको जारी महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क आउनु भएका प्रधानमन्त्री देउवाको सम्मानमा बिहीवार नेपाली जनसम्पर्क समिति,अमेरिकाले आयोजना गरेको रात्रीभोज र कांग्रेस पार्टीका कार्यकर्ता एवं शुभेच्छुकहरुको भेटघाट कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय नेतृत्वमा समितिको प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको हो । सभापति देउवाले विश्वभर छरिएर रहेका जनसम्पर्क समितिका सदस्यहरु अन्तरार्ष्ट्रिय समन्वय केन्द्र बनाएर अघि बढ्न पहल गरिरहेको जानकारी पाएर आफु खुशी भएको समेत बताउनु भएको छ ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको सम्मृद्धि र विकासका लागि विदेशमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै विदेशमा भएपनि आफ्नो जन्मभूमीको विकासका लागि आप्रवासमा रहेका नेपालीहरु सधैं चिन्तित रहेको आफुले अनुभव गरेको बताउनुभयो । ' तपाईंहरु जहाँ बस्नु भएको छ त्यहाँ नेपालीको सम्मान र इज्जत कायम गरेर बस्नु भएको छ,तपाईंहरुले दोहोरो नगारिकता पाउने सम्भावना बढेको छ,हामी त्यसका लागि प्रयासरत छौं र नेपाली कांग्रेस सधैं प्रवासमा रहेका नेपालीहरुको हित र अधिकारका लागि लडेको छ' प्रधानमन्त्री देउवाले भन्नुभयो । हामी सबै खाले निरंकुशताका विरुद्ध लड्यौं,सात सालदेखि निरन्तर हामी लडेका छौं,जनताको हक,अधिकार स्थापनाका लागि लडेका छौं,हामीले नै विदेश जान आवश्यक पर्ने नेपाली राहदानीलाई सहज बनाउने व्यवस्था गर्यौं,आज तपाईंहरुले देशको विकासमा महत्वपूर्ण योगदान गर्नु भएको छ'प्रधानमन्त्री देउवाको भनाई थियो ।
सम्बोधनका क्रममा कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालको नेतृत्वमा संविधान घोषणा भएको र अहिले आफुहरु संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताउनु भयो । 'हाम्रै सभापतिजीको नेतृत्वमा बनेको अहिलेको संविधान कार्यान्वयनको दिशामा हामी अघि बढेका छौं,यस क्रममा अहिले हामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने चरणमा छौं,त्यसपछि प्रदेश र संघीय निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयनको एक महत्वपूर्ण पाटो पुरा हुनेछ'प्रधानमन्त्री देउवाले भन्नुभयो ।
नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा सभापति विष्टले पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको स्वागत गर्दै अनेकौं कठीनाईका बावजुद पनि स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर प्रधानमन्त्री देउवाले आफ्नो समन्वयकारी नेतृत्वदायी भूमिकाको उदाहरण प्रस्तुत गरेको बताउनु भयो । कार्यक्रम समितिका महासचिव मुनेन्द्र नेम्वाङ्गले संचालन गर्नु भएको थियो । रात्रीभोजमा समितिका केन्द्रीय पदाधिकारी,सदस्य,सल्लाहकार,च्याप्टर नेतृत्व र अमेरिकामा रहेका विभिन्न राज्यमा रहेका कांग्रेसका प्रतिनिधि नेताहरुको सहभागिता थियो । बुधवार न्यूयोर्क आईपुग्नु भएका प्रधानमन्त्री देउवा भोली आइतवार स्वदेश फर्कने कार्यक्रम छ ।