कोरोना संक्रमण ओरालो झर्दै

कोरोना संक्रमण ओरालो झर्दै



काठमाडौं । कोरोना महामारीको तेस्रो लहर विस्तारै मत्थर बन्दै जान थालेको छ । तीव्र गतिमा फैलिएको कोरोना संक्रमण तीन दिनयता ओरोलो झरेको छ । माघको पहिलो सातादेखि अत्यधिक मात्रामा फैलिएको कोरोना संक्रमण ८ माघमा २० हजार ८ सय ८७ जनाको नमुना परीक्षण गरेकोमा १० हजार २ सय ५४ जना संक्रमित भएका थिए ।

नमुना परीक्षणमध्ये झन्डै आधामा कोरोना संक्रमण देखिएको थियो । तर, १२ माघ यता कोरोना संक्रमणदर बिस्तारै मत्थर बन्दै जान थालेको छ । १२ माघमा २० हजार ३ सय ५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४ सय १४ जनामा कोरोना संक्रमण देखिएको थियो । १३ माघमा २१ हजार ८ सय ८ जनामा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण देखियो । जुन अघिल्लो दिनको तुलनामा कम हो । १६ माघसम्म आइपुग्दा १३ हजार १ सय ४५ जनामा परीक्षण गराउँदा ३ हजार ५ सय ४० जनामा संक्रमण देखिएको छ । यो संख्या यो महिनाकै नमुना परीक्षणपछि सबैभन्दा कम संख्या हो ।

कोरोना संक्रमण दर दैनिक अप्रत्याशित ढंगबाट बढेमा अस्पतालमा भर्ना हुने संख्या पनि बढ्न सक्ने आँकलन चिकित्सकहरूले गरेका थिए । तर, माघको दोस्रो साताबाटै कोरोना संक्रमण दर घटेको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार गत साताको तुलनामा यो साता कोरोना संक्रमणको औसत दरमा कमी आएको छ । पछिल्लो हप्ताको तुलनामा संक्रमण दर ५ दशमलव ६ प्रतिशतले घटेको छ ।

गत सातादेखि नेपालमा मात्रै नभई हाल विश्वमै कोरोना संक्रमण दर घटिरहेको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार छिमेकी देश भारतलगायत विश्वका अन्य देशमा जसरी संक्रमण दर बढिरहेको थियो । संक्रमित हुने संख्या विस्तारै घटिरहेको पौडेल बताउँछन् ।

तेस्रो लहरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ जना छन् । आईसीयूमा २ सय ८८ जना र भेन्टिलेटरमा ५० जना छन् । दोस्रो लहरमा जेठ ७ गते सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको थियो । सोही दिन १ सय ७७ जनाको मृत्यु हुनुका साथै आईसीयूमा १ हजार ७ सय १६ र भेन्टिलेटरमा ५ सय ११ जना थिए ।

४६.८ प्रतिशतलाई पूर्ण खोप
सोमबारसम्म कुल जनसंख्याको ४६.८ प्रतिशत अर्थात् १ करोड ४२ लाख ४ हजार २ सय ७० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक मात्रा लगाउने ५४.९ प्रतिशत अर्थात् १ करोड ६६ लाख ७० हजार ७ सय ७ जना छन् । हालसम्म ३ लाख ६९ हजार २ सय २६ जनाले बुस्टर डोज लगाएका छन् ।