टिपीएस खारेज नहुने,वर्क परमिट स्वत: नवीकरण

Globe Nepal
Globe Nepal 2019-03-28

बाल्टिमोर,अमेरिका,मार्च २८ । अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीहरुले पाई आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को सुविधा तत्काल खारेज नहुने भएको छ । अमेरिकी अध्यागमन कार्यालयले बुधवार एक सूचना जारी गर्दै यो सुविधा अर्को सूचना जारी नभएसम्म विस्तार गरिएको जनाएको छ । यस पहिले नेपाल र होन्डूरसलाई प्रदान गर्दै आएको यो अस्थायी सुरक्षाको सुविधा खारेज गर्ने युएससीआइएसले जनाएको थियो । जसका कारण टिपिएस सुविधा लिएका आठ हजार भन्दा बढी नेपालीहरु अब के गर्ने भन्ने अन्यौलमा थिए । तर युएससीआइएसले बुधवार सूचना जारी गर्दै यो अस्थायी सुविधाको अवधि अर्को सूचना जारी नभएसम्म विस्तार हुने र टिपिएसमार्फत अमेरिकामा काम गर्ने अनुमति (वर्क परमिट) लिएकाहरुको वर्क परमिट स्वत: नवीकरण हुने जनाएको छ । जसका कारण टिपिएस सुविधा लिएकाहरुले राहतको महसुस गरेका छन् ।
युएससीआइएसले जारी गरेको सूचनाका अनुसार, अब टिपिएस सुविधा लिएका नेपालीहरुले पनि सुडान,निकारागुवा,हाइटी र एल साल्भाडोरका नागरिकले जस्तै सुविधा पाउनेछन् । जस अनुसार टिपिएस सुविधा लिएकाहरुको वर्क परमिट स्वत:नवीकरण हुनेछ । यस्तै आइ ९४ (आवागमन रेकर्ड) र आइ ७९७ पनि स्वत: नवीकरण हुनेछ । जुन २४ पछि यस्तो वर्क परमिटको अवधि थप नहुने यस अघि उल्लेख थियो । तर अब सोही मितिपछि स्वत: वर्क परमिट नवीकरण हुनेछ भने अन्तिम पटक टिपिएस सुविधाका लागि पुन:दर्ता नगरेका नेपालीहरुले अब पुन:दर्ताका लागि समेत आवेदन दिन पाउने भएका छन् । युएससीआइएसका अनुसार, सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म टिपिएस पुन: दर्ता नगरेका नेपाली मूलका टिपिएस सुविधा लिएकाहरुले अब पुन: आवेदन दिन सक्नेछन् । यसका लागि प्रष्ट र उचित कारण भने खुलाउनुपर्नेछ ।
अमेरिकी अध्यागमन कार्यालयले यस पहिले सन् २०१९ को जुन २४ देखि नेपाललाई दिई आएको टिपिएस सुविधा खारेज गर्ने घोषणा गरेका थियो । नेपालमा सन् २०१५ मा गएको महाविनाशकारी भूकम्पपछि मानवीय सहयोग भन्दै अमेरिकाले सन् २०१५ जुन २४ देखि यहाँ रहेका कागजपत्रविहीन नेपालीहरुलाई यो अस्थायी सुरक्षा अनुमति प्रदान गरेको हो । सन् २०१५ को जुन २४ पहिले अमेरिका आएका र सोही मितिदेखि निरन्तर रुपमा यहाँ बस्दै आएका नेपालीहरुले यो सुविधा प्राप्त गरेका छन् ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com