नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् ।

विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिनुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

नेकपा स्थापना गर्नुअघि उहाँले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।

नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिनुभएन ।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनुभयो । अध्ययनशील नेताका रूपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो । उहाँले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

सहिद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहनुभएका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । पुष्पलाल राजनीतिमा लागेकै कारण पीता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो ।

विसं २०१७ को राजा महेन्द्रको कदम पछाडि उहाँले भूमिगत निर्वासित जीवन बिताउनुभएको थियो । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । पुष्पलालको सम्झनामा आज पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति उद्यानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।