पत्रकार गौतमलाई सहयोग गर्न नेजाको अपील

Globe Nepal
Globe Nepal 2019-01-24

भर्जिनिया,अमेरिका,जनवरी २४ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्ना संस्थापक सदस्य मध्येका एक पत्रकार जयदेव गौतमलाई सहयोग गर्न अपील गरेको छ । पत्रकार गौतम विगत चार महिनादेखि कम्मरदेखि तलको भाग चल्न छाडेपछि अशक्त हुनुहुन्छ । तीन महिनासम्म अस्पताल भर्ना भएर उपचार गरेर हाल भर्जिनियाको हेमार्केट शहरमा बस्दै आउनु भएका पत्रकार गौतम अहिलेसम्म हिंडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न । ह्वीलचेयरको सहारामा रहनु भएका गौतमको उपचार सहयोगका लागि नेजाले अग्रसरता लिंदै सहयोग गर्न अपील गरेको हो । 
जनवरी १२ तारिख नेजाका अध्यक्ष सुदीप पन्तसहितको पत्रकारहरुको टोली गौतमको निवासमा पुगेर उनीसंग भेट गरी स्वास्थ्य अवस्था बारे जानकारी लिएको थियो । सोही भेटका क्रममा अध्यक्ष पन्तले आफ्ना संस्थापक सदस्यको उपचार सहयोगका लागि पहल गर्ने भन्दै पत्रकार गौतमको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।
पत्रकारहरुको त्यो टोलीमा नेजाका संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरिश पोखरेल,पूर्व अध्यक्ष एवं अर्का सल्लाहकार गौतम दाहाल,अग्रज पत्रकार योगेश उपाध्याय,नेजाका पूर्व कार्यकारी सदस्य मधुकर अधिकारी,नेजा संस्थापक सदस्य एवं इन्डियन हेड नगरका उप मेयर किरण सिटौलासहित पत्रकारहरु राजेश मिश्र,रामप्रसाद खनाल,तरुण पौडेललगायत उपस्थित थिए ।

पत्रकार गौतमको उपचार सहयोगका लागि नेजाले गो फण्ड मार्फत एक खाता समेत संचालनमा ल्याएको छ । नेजाले सहयोगका लागि जारी गरेको अपील जस्ताको तस्तै:  जयदेव गौतम सहयोग अभियान:

पाल्पा नेपाल जन्म भई हाल भर्जिनिया अमेरिका बसोबास गर्नुहुने नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका संस्थापक सदस्य जयदेव गौतम कम्मरभन्दा तल नचल्ने अवस्थामा उपचारका क्रममा हुनुहुन्छ । अकस्मात बिरामी भई भर्ना हुनुभएको गौतम तीन महिना अस्पतालमा भर्ना भएर गत महिना डिस्चार्ज भई नियमित उपचारको क्रममा हुनुहुन्छ । काम गर्न नसक्ने अवस्थामा रहनुभएका गौतमलाई हाल सहयोगको आवश्यकता रहेको छ । 
गौतम मिडिया मनिटर जिएमएमपी, नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चको उपाध्यक्ष, नेपाल वातावरण पत्रकार समूहको सदस्य, नेपाल अमेरिका पत्रकार संघको संस्थापक सदस्य रहिसक्नु भएकोछ । 
नेपालमा लामो समय पत्रकारिता गर्दा उहाँले युगसम्बाद साप्ताहिकमा सहायक सम्पादक, कान्तिपुर दैनिकमा सहायक वरिष्ठ उपसम्पादक, चित्रण साप्ताहिक, सत्य साप्ताहिक, सौर्य दैनिक लगायतमा काम गर्नु भएको थियो । उहाँले अमेरिकामा बिश्वसंदेशमा काम गर्नु भएको थियो । उहाँका लक्ष्मण रेखाका दासहरू- निबन्ध सङ्ग्रह, विश्वकप फुटबल:कथा एक गाथा अनेक कृति प्रकाशित भएका छन् । गरिमा, मधुपर्क, अस्मिता, मूल्याङ्कन, नव युवा, नयाँ सडक, कान्तिपुर, राजधानी, नागरिक दैनिक, नेपाली पोस्ट डट कम अनलाइनलगायतका पत्र पत्रिकाहरूमा समसामयिक तथा साहित्यिक सयौँ लेखहरू प्रकाशित भएका छन् ।
नेजाले नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा सहयोग गरिरहेको छ । एक छोरा र श्रीमतीको साथमा भर्जिनियाको मनासस शहरमा बेसमेन्ट भाडामा लिई बसिरहनुभएको छ । अमेरिकामा पत्रकारलाई दुखकस्ट परेको यस अवस्थामा सहयोग गर्नु हामी सबैको मानवीय धर्म सम्झी आफ्नो श्रोतबाट ५०१ डलर राखी यस गोफन्ड एकाउन्ट खोलिएको छ । गौतमलाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन सबैलाई नेजा हार्दिक अनुरोध गर्दछ । सहयोगका लागि यो लिंक मा क्लिक गर्नुहोला 

https://www.gofundme.com/ddeun9-a-cause-i-care-about-needs-help

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com