मेरिल्याण्डमा कोरोनाको असर कम हुँदै,जनजीवन सामान्य बनाउँदै लैजाने सरकारको तयारी

Globe Nepal
Globe Nepal 7 महिना अगाडी

बाल्टिमोर,अमेरिका,मे ७ । मेरिल्याण्ड राज्यमा कोरोना संक्रमणको प्रभाव क्रमश: न्यून हुँदै गएको छ । पछिल्लो एक साता संक्रमणको असर स्थीर र पहिलेको साताभन्दा कम हुँदै गएको पाइएको छ ।विगत केही सातादेखिको संक्रमणको तुलनामा पछिल्लो साता संक्रमणको आँकडा कम हुँदै गएपछि राज्य सरकारले पनि विस्तारै जनजीवन सामान्य बनाउदै लैजाने तयारी सुरु गरेको छ । यद्यपि गभर्नर लारी होगनले भनेका छन्,-'अहिले नै व्यापार व्यवसाय खोल्ने,जनजीवन सामान्य बनाउन लकडाउन फिर्ता लिने निर्णय चाहिं गरिने छैन । यसो गर्नु हतारो हुनेछ ।'
बुधवार कोरोना भाइरसको संक्रमणका बारे पछिल्लो अपडेट दिंदै गभर्नर होगनले भनेका छन्,-'सुरक्षा र स्वास्थ्य विभागले जारी गरेको मापदण्ड कायम गरेर विस्तारै हामी यो संक्रमणलाई जित्नेछौं ।'
अहिले मेरिल्याण्डमा स्टे एट होम (घरभित्रै बस्ने) राज्य सरकारको आदेश जारी छ । जसका कारण आम मानिस लकडाउनमै छन् । तर पछिल्ला केही दिन यता कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेहरुको संख्यामा कमी आउंदै गरेको रिपोर्ट छ । यसैबीच राज्य सरकारले आज बिहीवारदेखि सर्वसाधारणका लागि घरबाहिर निस्कन यस पहिले जारी गरेको आदेशमा केही खुकुलो गरेको छ । जस अनुसार, बिहीवार बिहानदेखि राज्यमा गल्फ,टेनिस,बोटिंग,माछा मार्ने र क्याम्पिंगमा जाने, समुद्रका किनारा र राज्यका सार्वजनिक खेल मैदान र पार्कहरु खुला गरिएको छ । गभर्नर होगनले भनेका छन्,'यस्तै निर्णय अन्य स्थानीय सरकार (काउन्टी र सिटी) ले पनि गर्न सक्छन् ।' गभर्नरले यसरी खुला गरिएका सार्वजनिक ठाउँहरुमा पनि राज्यले जारी गरेको सार्वजनिक सुरक्षाको निर्देशिका अवलम्वन गर्दै आफु र आफु वरिपरिका मानिसहरुका बीच भौतिक दूरी कायम गर्ने र सुरक्षित हुने अभ्यास कायम राख्नुपर्ने बताएका छन् ।
आगामी साता पनि संक्रमणको दर घट्दै जाने र अस्पताल भर्ना हुनेहरुको संख्यामा तुलनात्मक रुपमा कमी आएमा स्टे एट होम आदेश फिर्ता लिने र चरणवद्ध रुपमा केही निश्चित व्यापार,व्यवसाय खोल्न,कम खतरा रहेका सामुदायिक र अन्य धार्मिक गतिविधि गर्न खुला गर्ने राज्य सरकारको तयारी छ ।
मेरिल्याण्ड राज्य सरकारको स्वास्थ्य विभागको बिहीवार बिहानसम्मको अपडेट अनुसार, हालसम्म राज्यमा कोरोना संक्रमितहरुको संख्या २८ हजार एक सय ६३ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा थप एक हजार ४६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यसैगरी हालसम्म मृत्यु हुनेहरुको संख्या एक हजार तीन सय ३८ रहेको छ भने पछिल्लो चौबिस घण्टामा थप ४८ जनाको निधन भएको छ । मेरिल्याण्ड नेपालीहरुको उल्लेख्य बसोवास रहेको राज्य मध्ये एक हो ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com