ललितपुर उद्योग वाणिज्य संघ: बज्राचार्य समूहले गर्यो उम्मेद्वारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघ: बज्राचार्य समूहले गर्यो उम्मेद्वारी घोषणा



ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा चुनावका लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारीसँगै टिम घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेद्वारीँगै टिम घोषणा गरेको हो ।

असोज १९ गते हुने साधारणसभा तथा चुनावका लागि उम्मेद्वारी दर्ता हुँदैछ । ललितपुरमा मूख्यगरी तीन प्यानलबीच चुनावी भिडन्त हुने देखिएको छ । यद्यपी, दर्ता हुने उम्मेद्वारीबाट चुनावी प्रतिस्पर्धी टुंगो लाग्नेछ ।

बज्राचार्य समूहबाटसंघको अध्यक्ष उम्मेद्वारमा विश्वाज बज्राचार्य छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेशभक्त गुल्मी छन भने महासचिवमा भूमिनन्दन कमार्चाय र कोषाध्यक्षमा मिलन शाक्य छन् ।

कूल २२ सदस्यीय कार्यसमिति रहने संघमा १९ सय जना मतदाता छन् । ‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु ।’

यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने बज्राचार्यले बताए । बज्राचार्य समूहले संघको चुनाव जितेपछि गर्ने १५ कामहरुको सूची समेत तयार पारेको छ । जसमा स्थानीय उत्पादनको ब्राण्डिङ, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका एजेन्डा छन् ।

बज्राचार्यको समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सबिन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णुलाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन् । यस्तै, वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन् । संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन् ।