वासिंगटन डिसीमा प्रेस स्वतन्त्रता दिवस भव्य

वासिंगटन डिसीमा प्रेस स्वतन्त्रता दिवस भव्य

वरिष्ठ पत्रकार दाहाल सम्मानित


ग्लोब नेपाल
1.2k
Shares

वासिंगटन डिसी । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहाललाई अमेरिकामा सम्मान गरिएको छ। निजी भ्रमणको क्रममा हाल अमेरिकामा रहनु भएका हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक दाहाललाई आइतवार वासिंगटन डिसीमा नेपाली संचारकर्मी समूहले आयोजना गरेको एक कार्यक्रममा सम्मान गरिएको हो। अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा निर्वाचित नेपाली मूलको पहिलो निर्वाचित बिधायक डाक्टर ह्यारी भण्डारीले राज्य संसदको तर्फबाट सो सम्मान प्रदान गर्नु भएको थियो ।

विचारको स्वतन्त्रता,मानव अधिकार र लोकतन्त्रकालागि दाहालले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको डेलिगेट भण्डारीले प्रदान गरेको सम्मान पत्रमा उल्लेख छ।

यसैगरी अन्तरराष्ट्रिय कलाकार मञ्च अमेरिका, नेपाल मदर डट्कम र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेनमेन्ट हाउस अमेरिकाले पनि दाहाललाई सम्मान गरेको छ । पत्रकारिता, प्राध्यापन, साहित्य लेखनमा नेपाल आमाकालागि पुर्याउनु भएको योगदान स्वरुप सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ । सो सम्मान पत्रकार, कलाकार एवम् लेखक रामप्रसाद खनालले प्रदान गर्नुभएको थियो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारेर अमेरिकामा क्रियाशील रहेका नेपाली पत्रकारहरु गौतम दाहाल,तरुण पौडेल,आङछिरिङ शेर्पा र भोला आचार्यले संयोजन गर्नु भएको कार्यक्रममा आयोजकहरुले पत्रकार डाक्टर प्रदीप भट्टराई र पत्रकार एवं रासस र गोरखापत्रका पूर्व अध्यक्ष पुरन्दर घिमिरेलाई पनि सम्मान गरेका थिए। ‘निर्वाचनमा प्रेस ‘ विषयक अन्तरक्रिया कार्यक्रममा कवि रामप्रसाद खनालको कविता संग्रह ‘माटोको दुखाइ ‘ को संयुक्त लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रममा डेलिगेट डाक्टर भण्डारीले स्वतन्त्र प्रेसको भूमिका समाज विकासकालागि महत्वपूर्ण रहेको विचार व्यक्त गर्दै विचारको स्वतन्त्रताकालागि पाँच दशकदेखि निरन्तर योगदान गर्नुभएको दाहाललाई सम्मान गर्न पाउँदा गौरब अनुभव भएको छ भन्नुभयो ।

सम्मान ग्रहण गर्दै दाहालले विचारको स्वतन्त्रता, प्रेसको स्वतन्त्रता र मानव अधिकार खुला समाजमा मात्र विकसित हुने र लोकतन्त्र विनाको समाजमा यी कुनै पनि संभव नहुने विचार प्रकट गर्नुभएको थियो । रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारका संस्थापक संचालक समेत रहनु भएका दाहालले प्रेस निष्पक्ष र स्वतन्त्र हुन नसक्ने र प्रेस नै अन्तिम सत्य नहुने विचार व्यक्त गर्नुभयो। ‘यद्यपि पत्रकारिता गर्नेहरुले सत्यको नजिक पुग्न निरन्तर प्रयास गर्नुपर्छ’ उहाँको भनाई थियो। प्रेस समाज परिवर्तनको अभिन्न अंग भन्दै उहाँले राजनीतिबाट समेत प्रेस अलग हुन नसक्ने तर राजनीतिक हस्तक्षेपका कारण नेपाली प्रेस कम्जोर हुँदै गएको बताउनु भयो।

उहाँले सन् २०२० मा मेरिल्याण्ड राज्य संसदमा आफू र आफ्नी सहधर्मिणी शान्तालाई गरिएको सम्मानको स्मरण गर्दै नेपाली समुदायको गौरवका रुपमा राजनीति र समाज सेवामा पृथक परिचय वनाउनु भएका डेलिगेट डाक्टर भण्डारीलाई र उहाँ मार्फत मेरिल्याण्ड राज्य संसदलाई आभार प्रकट गर्नुभएको थियो । साथै अन्तरराष्ट्रिय कलाकार मञ्च अमेरिका र साहित्यकार रामप्रसाद खनालसहित आफूलाई सम्मान गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको सभापतित्व सगरमाथा आरोही चर्चित पत्रकार एवम् नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले गर्नुभएको थियो । पत्रकार तरुण पौडेलले स्वागत गरेको कार्यक्रममा नेजाका अर्का पूर्व अध्यक्ष भोला आचार्यले धन्यवाद व्यक्त गर्नु भएको थियो।

ग्लोव नेपाल डटकमका संस्थापक सञ्चालक एवं नेपाल अमेरिका पत्रकार संघ-नेजाका पूर्व अध्यक्ष गौतम दाहाल, नेपाल प्रेस युनियनका पूर्व महासचिव तरुण पौडेल, नेपाल अमेरिका पत्रकार संघ- नेजाका पूर्व अध्यक्ष भोला आचार्य, नेजाका संस्थापक महासचिव कृष्ण शर्मा, पत्रकार डाक्टर प्रदीप भट्टराई, पत्रकार एवं रासस र गोरखापत्रका पूर्व अध्यक्ष पुरन्दर घिमिरे,अन्तर्राष्ट्रीय कलाकार मंचका अध्यक्ष समेत रहेका पत्रकार एवं वरिष्ठ लोक दोहोरी गायक रामप्रसाद खनाल, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ,नेजाकी क्षेत्रीय संयोजक लीला ओझालगायत डिसी आसपास क्षेत्रका सामाजिक संघ,संस्थाका प्रतिनिधिहरुले प्रेस र निर्वाचनका विषयमा आ आफ्ना धारणा व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा संचारकर्मीहरु निदेश अधिकारी,बाबु खरेल, विश्वराज थापा (पूर्व क्षेत्रीय संयोजक-नेजा), विजय थापा, खेम भट्टचन सहभागी हुनुहुन्थ्यो। यसैगरी डेमोक्रेटिक पार्टी मेरिल्याण्डका केन्द्रीय सदस्य अर्जुन हमाल,नेपाली जनसम्पर्क समिति,अमेरिकाका उप सभापति केशब बराल, नेपाली जनसम्पर्क समिति,भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाई,नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टरका सभापति एवं नासो कम्युनिटी अमेरिकाका अध्यक्ष राजेन्द्र सेन्चुरी, इक्वालीटी फाउन्डेशनका अध्यक्ष एवं एएनएका पूर्व अध्यक्ष मेदिनी अधिकारी, अमेरिका नेपाल सहयोगी समाजका सल्लाहकार,निवर्तमान अध्यक्ष केदारप्रसाद तिम्सिना,सोही समाजका वरिष्ठ उपाध्यक्ष रमेश ढकाल, नेपाली जनसम्पर्क समिति,अमेरिका न्यू मेक्सिको च्याप्टरका संस्थापक सभापति डाक्टर देशराज संयोक, नेपाली जनसम्पर्क समिति र एनआरएनमा क्रियाशील सामाजिक व्यक्तित्व ददी ढुंगाना,रामचन्द्र सुबेदी, एनआरएन भर्जिनिया च्याप्टरका निवर्तमान सचिव सुरेश अधिकारी, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरका अध्यक्ष भरत बराइलीलगायतका अतिथिहरुले नेपाली प्रेसको विभिन्न पक्षका बारे आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।