‘सभापति देउवा पार्टीको होइन समूहको संरक्षक’

‘सभापति देउवा पार्टीको होइन समूहको संरक्षक’


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा सिङ्गो पार्टीको नभई आफ्नो समूहको मात्र संरक्षक बनेको आरोप लगाएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थपनइतर समूहको भेलापछि महामन्त्री थापाले भेलाले पार्टी सभापति देउवा समूहभन्दा माथि उठ्न नसकेको निश्कर्ष निकालेको बताए । यसैगरी भेलाले आसन्न राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने र त्यो न्यायपूर्ण हुनुपर्ने विषयमा जोड दिएको बैठकपछि थापाले संचारकर्मीलाई जानकारी गराएका थिए ।

‘पार्टीको १४ औं महाधिवेशपछि हामीले तीनवटा चुनाव भए तर हामीले अहिलेसम्म एउटा पनि मापदण्ड बनाउन सकेनौं । सभापतिले न्यायपूर्ण व्यवहार गर्नुभएन । उहाँले आफ्नो समूहमा भन्दा बाहिर हेर्नुभएन । त्यसैले यो पटकको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड बनाउनुपर्छ । न्यायपूर्ण ढंगले गर्नुपर्छ’ थापाले भने ।

अब हुने राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा सभापति देउवा कांग्रेसको सभापति बन्न सक्नुहुन्छ कि सक्नु हुन्न भन्ने विषयमा थप प्रष्ट हुने उनले बताए ।

आजको बैठकले पछिल्लो समयमा देशको सुशासन खस्किदै गएको र एकपछि अर्को आएको काण्डको विषयमा पार्टीभित्र थप गम्भीर छलफल हुनुपर्ने आवश्यक्कता औल्याएको समेत थापाले बताए ।