समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना

Globe Nepal
Globe Nepal 2017-08-09

मधुकर अधिकारी/वेदभक्त जोशी अमेरिकामा रहेका नेपालीहरुमा संभवत स्सवैभन्दा पुराना आप्रवासी हुनुहुन्छ । सन् १९६८ मा अमेरिका आउनु भएका जोशीले सन् १९७३ मा अमेरिका नेपाल सोसाईटी क्यालिफोर्निया शुरु गरेदेखि नै समाजसेवामा समर्पित हुनुभएको थियो । पछि कामवाट अवकाश पाएपछि विगत २४ वर्ष देखि सामाजिक काममा समय वितेको छ । स्वप्न भूमिको रुपमा चिनिने अमेरिकामा झण्डै आधा शताव्दि विताउनु भएका जोशी भावी पिढीका लागि मेहनत नै सफलताको कसी भएको सुझाव दिनुहुन्छ । मेहनत गर्दिन भन्ने र अनुशासनमा वस्न नरुचाउनेलाई अमेरिकामा सहज नहुने उहाँको ठम्याई रहेको छ ।८५ वर्षको उमेरमा पनि उहाँको उत्साह र सक्रियता देख्दा विदेशी भूमिमा नेपालीहरुको पहिचान दिन जोशी सफल हुनु भएको अनुभूति हुन्छ । गत साता सम्पन्न नेपाल अमेरिका पत्रकार संघ नेजाको अधिवेशनमा भेट हुनुभएका जोशी सँग समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना स्तम्भका लागि मधुकर अधिकारीले गर्नु भएको कुराकानीको सम्पादित अंशहरु :  

तपाईले प्रवासी जीवन विताउनु भएको कति भयो ? 

म सन् १९६८ मा अमेरिका आएको हुँ । यस हिसावले ४८ वर्ष भयो । 

अमेरिकी भूमिमा आफना प्रारम्भिक दिनहरुलाई कसरी स्मरण गर्नु हुन्छ ?

अमेरिका स्वर्ग भूमि हो भनेर त्यही वेलामा पनि सुनेको थिए । त्यसैले यहाँ आउँदा मलाई पनि रोमाञ्चक वनाएको थियो,जसरी पहिलो पटक पाईला टेक्ने नेपालीलाई कौतुहलता हुन्छ । साँच्चै यहाँको पूर्वाधार, कानूनी शासन र न्यूनतम आवश्यकताको लागि यो स्वर्ण भूमि हो । तर तपाईसँग मेहनत र ईमान्दारिता हुनै पर्छ । मेरो स्मरणमा भन्नु हुन्छ भने त्यो वेलामा केही पनि मिलेन । न खानपीन न त वातावरण नै, तर मिहिनेत गर्दा विस्तारै सवै कुराहरु मिल्दै आए । त्यो समयमा नेपाली नभएपनि अमेरिकनहरुले सहयोग गरे । अहिले आएर हेर्दा एउटा जुग काटेको जस्तो अनुभूति भएको छ । 

तपाई अहिले नेपालवाट अमेरिकामा  आउने नेपालीलाई के भन्नुहुन्छ ? 

खासमा नेपालवाट आउँदा अमेरिकामा डलरको वोट छ, टिप्न जाने हो भन्ने भ्रम हटाउनुपर्छ । म कानून सम्मत तरिकाले मेहनत गर्छु र कमाई गर्छु भन्ने हो भने यो भूमिमा अथाह अवसर रहेका छन् । त्यसैले नयाँ आउनेहरुलाई मेरो सुझाव छ :" तपाईहरु  समयको व्यवस्थापन,साथीभाईसँग परामर्श गर्दे अगाडि वढेको खण्डमा अमेरिकामा व्यवस्थित जीवन यापन गर्न सक्नुहुन्छ । 

यत्रो वर्ष प्रवासमा वस्नु भयो, विदेशी भूमिमा वसेपछि नेपालको माया हुन्न भन्ने सुनिन्छ । तपाईलाई के लाग्छ ?

यस्तो कुराको पछि लाग्नु हुन्न्, मातृभूमिको माया कहिल्यै मेटिन्न,आमाको माया मेटिन्छ र ?  मेरो कुरा गर्नुहुन्छ भने, अहिले पनि शिक्षामा लगानी गरेको छु, अर्थात छात्रवृत्तिको माध्यमवाट जेहेन्दार विद्यार्थीलाई पढाई अगाडि वढाउन मद्दत गरेको छु । मलाई शिक्षा नै शक्ति हो जस्तो लाग्छ । त्यसरी भन्नेहरुले मायाको मापन गर्न जानेका छैंनन जस्ते लाग्छ। 

नेपाललाई समृद्ध वनाउन कुन विषयलाई ध्यान दिनु पर्छ जस्तो लाग्छ? 

मेरो विचारमा देशलाई समृद्ध वनाउने पूर्वाधार भनेको नै पहिलो वाटो,दोश्रो विजुली र तेश्रो पानी हो । यसलाई व्यवस्थापन गर्न सक्यो भने उद्योग कलकारखाना सृजना हुने रोजगारी वढने यावत कुरा हुन्छ । त्यसपछि मानिसको दिनचर्यामा कायपलट आउँछ । त्यसैले मेरो विचारमा यी विषयलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्न सवै लाग्नु पर्छ । 

यत्रो वर्ष विदेश वस्नु भयो, मातृभूमिको सामु देखिएको चुनौती के हो जस्तो लाग्छ ?

हेर्नोस,खासमा वाहिर वसेर अनावश्यक टिप्पणी गर्नुहुन्न मेरो विचारमा जो मानिसले जे काम आफनो जिम्मेवारीमा आएको छ त्यसले निस्वार्थ भावले काम गरयो भने देश कहाँवाट कहाँ पुग्थ्यो । विकास वोकेर जाने मान्छे होस, समाजसेवामा जाने मान्छे होस सवैले देश वनाउन आएका हुन भन्ने भावनाले काम गरेको खण्डमा देशलाई समृद्ध वनाउन सकिन्छ ।  

तपाईलाई आगामी पन्ध्र वर्ष भित्र देश समृद्ध हुन्छ जस्तो लाग्छ ?

मलाई मेरो जीवन कालमा मातृभूमि समृद्ध भएको हेर्ने ईच्छा त छ । तर त्यो पूरा हुने संभावना देखेको छैंन् । 

किन ?

किनकि म संविधान जारी हुने समयमा नेपालमा नै थिए । संविधान आयो,त्यसपछि देशले विकासको गति लिन्छ होला भनेको त्यसको लगत्तै नाकावन्दी भयो, अव त्यो नाकावन्दी भोगेको मैले जुन विषयहरु देखे त्यसपछि मलाई निकै अप्ठयारो महसुस भएको छ । यसलाई चिर्दै अगाडि वढन धेरै सुझवुझको आवश्यकता छ । त्यसैले तपाईले भन्नु भए जस्तो पन्ध्र वर्षमा समृद्ध नेपाल हुने संभावना म देख्दिन् । 

अन्त्यमा,तपाईले नेपालमा गर्नु भएको या गर्ने सोचमा रहनुभएको कुनै योजना छ की ? 

हेर्नोस,हामीहरुले नेपालमा छात्रवृत्ति मार्फत विद्यार्थीहरुको शिक्षामा योगदान दिएका छौं । हामीहरुले क्यलाफिोर्नियामा रहेको अमेरिका नेपाल सोसाईटी मार्फत वेस्टी एण्ड मेरिल गुडल छात्रवृत्ति कोषवाट ३६ जनाले छात्रवृत्ति प्राप्त गरिसकेका थिए छन् । यसैगरी वेद एण्ड केन्या क्याना जोशी छात्रवृत्ति कोषवाट ५२ जनालाई दिईसकेका छौं । यसमा मेरा छोराछोरीले एक लाखडलर चन्दा दिएका हुन् । यसमा अहिले करिव एक लाख ६० हजार डलर रहेको छ । तर यसमा भएको रकम केवल व्याजमा मात्र चलाउन पाईने भएकाले अहिले यसवाट व्याजको आम्दानीले एक जनालाई पनि छात्रवृत्ति दिन सक्ने अवस्था छैंन् , त्यसैले हामीहरुले वेद तथा क्याना फाउण्डेशनले अलग्गै छात्रवृत्ति दिदै आएको छ । हाल यसरी छात्र वृत्ति पाउनेहरुमा १५ जनाले दश जोड दुईको छात्रवृत्तिमा अध्ययन गरिरहेका छन भने तीन जनाले स्नातक तहको अध्ययन गरेका छन् । यसलाई निरन्तरता दिईरहेको छु ।  अमेरिका नेपाल सोसाईटीमा राखेको अक्षयकोष र त्यसको व्याजले छात्रवृत्ति सञ्चालन गर्न अप्ठयारो परेकोले मैले कम्तिमा दश प्रतिशत रकम खर्च गर्न पाउन अनुरोध गरेको छु । त्यो भएको खण्डमा मलाई सहज हुने थियो ।

 अर्को नेपालमा यस्तो कोष सञ्चालन गर्नका लागि संस्था दर्ता गर्नुपर्ने व्यवस्था रहेछ । मलाई सिधै खाता खोलेर सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने लागेको हो । अरु त मेरो केही छैंन्, नेपाली समुदायमा सधै सक्रिय भएर आफूले सक्ने सहयोग गर्न पाए हुन्थ्यो भनेर लागिरहेको छु ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com