कांग्रेसकाे घोषणपत्रमा पुरानै एजेण्डा

कांग्रेसकाे घोषणपत्रमा पुरानै एजेण्डा

५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने विषय पनि कांग्रेसले घोषणापत्रमा समेट्नेछ


ग्लोब नेपाल
399.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ पछि आफ्नै नेतृत्वमा ५ वर्ष सरकार चलाउने लक्ष्यसहित घोषणापत्र बनाइरहेको छ । घोषणापत्रको मस्यौदा केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भए लगत्तै समितिले निरन्तरतामा नवीनतासहितको घोषणाापत्र ल्याउन लागेको जानकारी गराएको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ४ को निर्वाचनका लागि तयार हुँदै गरेको घोषणापत्रका महत्वपूर्ण विषयबारे कार्यसम्पादन समितिमा जानकारी गराएलगत्तै केही सुझावसहित घोषणापत्रलाई कांग्रेसले अन्तिम रुप दिने भएको छ ।

बैठकमा नेताहरूले दिएको सुझावलाई समेटेर छिट्टै घोषणापत्र जारी गर्ने समितिको तयारी छ । कांग्रेसको घोषणापत्र ३ खण्डमा विभाजित हुनेछ । कांग्रेसले हालसम्मका परिवर्तनको आन्दोलनमा गरेको योगदानको जस लिने र संविधानको रक्षा गर्ने संकल्प घोषणापत्रमा गर्नेछ । ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बनाउने विषय पनि कांग्रेसले घोषणापत्रमा समेट्नेछ ।

कांग्रेस घोषणापत्रको पहिलो खण्डमा समसामयिक राजनीति, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताबारे चर्चा गर्दै त्यसका लागि आवश्यक आर्थिक प्रक्षेपण समेटिने छ । मंसिर ४ पछि बन्ने सरकार गठबन्धनकै हुने दाबी गर्दै कांग्रेसले घोषणापत्रमार्फत अघि सारेको योजना कार्यान्वयनमा समस्या नहुने उसको दाबी छ ।

कांग्रेसले घोषणापत्रमा परराष्ट्र मामलाको विषयमा पनि चर्चा गर्दैछ । कांग्रेसले सरकार चलाउँदा सँधै सन्तुलित सम्बन्ध राखेको दाबा गर्दै परराष्ट्र मामलाको विषय राष्ट्रिय सहमतिको विषय बनाउनुपर्ने धारणा घोषणापत्रमार्फत अघि सार्दैछ ।

कांग्रेसले घोषणापत्रमा केपी ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक कामको भण्डाफोर गर्ने र कांग्रेसले गरेका राम कामलाई प्राथमिकतामा राखेर बाहिर ल्याउँदैछ । त्यस्तै सामाजिक सुरक्षा, सुशासन, जलवायु परिवर्तन, समन्यायिक समाज लगायतका विषयमा पनि कांग्रेले घोषणामार्फत आफ्नो धारणा बाहिर ल्याउँदैछ । आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलता कांग्रेसको प्राथमिकतामा पर्नेछ ।