कांग्रेस ठिटाहरु कता छन् ?

कांग्रेस ठिटाहरु कता छन् ?



उपनिर्वाचनको परिणामले इलाममा उत्तराधिकारी छोरालाई अनुमोदन गर्‍यो, तर बझाङमा गरेन । नेकपा एमालेको जनाधार खस्केको देखिएन, एकताबद्ध भएर लागेको देखियो, तर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता त्यस किसिमले लागेको देखिएन । स्वतन्त्र पार्टीको हैसियत अनुसारको मत आएकै हो । पहिचानवादीहरुले राम्रो प्रस्तुति देखाए, त्यस क्षेत्रका मतदाताले के कस्तो मूल्यांकन र विश्लेषण गरेर मतदान गरे, त्यो खुट्याउन अलि कठिन नै छ । दलीय बाहुल्यताको दृष्टिले एमालेको पक्कड क्षेत्र नै हो । उसको जीतलाई अस्वभाविक मान्नुपर्ने अवस्था होइन । जनताको बीचमा रहेर काम गरेको व्यक्तिलाई नै रुचाउँछन् भन्ने पनि देखिएन । देखिएको अनुहारभन्दा सुनिएको अनुहार भए पनि हुने नै रहेछ । अरु के के कुराले काम ग-यो ? खुल्दै जाला । जे–जे भए पनि नेकपा एमालेको प्रभाव र उसको कार्यकर्ताको उत्साहमा कमी नभएको सन्देश गएको छ ।

यसले राष्ट्रिय राजनीतिमा प्रभाव देखाउँदै जानेछ, विस्तारै । बझाङमा तीनवटै कम्युनिष्ट पार्टीहरुका अलग अलग उम्मेदवार हुँदा पनि कांग्रेस पराजीत भयो । यसलाई देउवाको उम्मेदवारको पराजय भन्न पनि सकिएला । रोग संक्रमण हुँदै जाने होला । एउटै दलका धेरै उम्मेदवार नहुने नै हो भने आगामी निर्वाचनमा पनि एउटैले उम्मेदवारी प्राप्त गर्लान् । बाँकी असन्तुष्टहरुले असहयोग गरेको खण्डमा जीत निकाल्न कठिन नै होला । प्रतिस्पर्धीलाई समाप्त बनाउने खेलले निरन्तरता पाउने नै स्थिति हो भने परिणाम यस्तै यस्तै आउँला । एमाले पार्टीमा ओलीको नजर पर्ला भन्ने भयले सबै एक ढिक्का भएर लागे । तर कांग्रेसमा देउवालाई देखाइ दिने रणनीतिमा निर्वाचनलाई उपयोग गरिएको देखियो ।

यस घटनाबाट दीर्घकालीन लाभ एमालेलाई हुने देखिन्छ । सत्ता समीकरणमा पनि एमालेको प्रभाव विस्तार हुने निश्चित छ । भित्रभित्रै अरु केही पाकेको छैन भने प्रधानमन्त्रीलाई यथेष्ट दबाब दिन ओली अग्रसर हुने छन् । एमालेको निर्देशनमा चल्नुपर्ने निरीह प्रधानमन्त्रीको भूमिकामा ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ को लोकोक्ति पुनः चरितार्थ हुनेछ । आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी जाने वातावरण बनाउन ओलीले विशेष रणनीति अख्तियार गर्नेछन् । खास गरी नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाललाई आवश्यक पर्ने गठबन्धन कसैसँग अर्थात् कांग्रेससँग नहोस् भन्ने एमालेको चाहना हो । ओली दाहालसँग गठबन्धन गरेर ‘घाडो’ राख्न चाहदैनन् । आफ्नो एकल राज हुने स्पष्ट तस्बीर अगाडि देख्दा देख्दै अनावश्यक टाउको दुखाउनु किन ? कांग्रेसका ठिटाहरुले यसै निर्वाचन अघिको गठबन्धन अनावश्यक ठहर गरी तदनुरुपको निर्णय गराइ नै सकेका छन् ।

एमालेको निर्देशनमा चल्नुपर्ने निरीह प्रधानमन्त्रीको भूमिकामा ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ को लोकोक्ति पुनः चरितार्थ हुनेछ । आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरी जाने वातावरण बनाउन ओलीले विशेष रणनीति अख्तियार गर्नेछन् ।

कथं यस्तो अवस्था नआओस भन्ने तर्फ ध्यान दिँदै सावधानीपूर्वक माओवादीका अध्यक्ष दाहाललाई ‘इन्गेज’ गरिरहन ओलीको ‘दूरदृष्टि’ नै होला । आउने निर्वाचनसम्म यो व्यवस्थाले निरन्तरता पायो भने दाहाल कसको ‘खुट्टा’ समाउन पुग्छन् कौतुहलको विषय हो । गठबन्धन नगरे कस्तो स्थिति हुन्छ भन्ने तस्बीर त आइनै सकेको छ । अन्य दलहरुको हैसियत र अवस्थामा क्रमशः गिरावट नै आउने हो । शक्ति र सामथ्र्यको आकलन गरेर नेकपा एमाले एक्लै निर्वाचन लड्ने निर्णयमा पुग्नेछ । त्यत्तिबेलासम्म अन्य दलहरुले खासगरी माओवादीले सोच्ने र छलफल गर्ने समयसम्म पाउने छैन । परिणामले एक्लै निर्वाचन जित्ने स्पष्ट आकार इिसकेको छ । ओलीले यस्तो मौकामा उडाउने जेट विमानमा दुईवटा पाइलटको आवश्यकता महसुस गरी दुर्घटनाको जोखिम मोल्ने छैनन् ।

एकपटक फेरि इलाम र बझाङतर्फ नै फर्केर हेरौं न । दुवै जिल्लामा एमालेका उम्मेदवारले जित्ने स्पष्ट आधार र कारण छैन । कोशी प्रदेशको नामाकरणमा सबैभन्दा असन्तुष्टि नै एमाले, ओली र दिवगंत सुवास नेम्वाङसँग देखिन्थ्यो । तर निर्वाचन परिणामले त्यो सबै गलत सावित ग¥यो । ओलीकै प्रभाव, एमालेकै जीत र सुवाङ नेम्वाङकै छोरालाई अनुमोदनको अर्थ पहिचानवादीहरुको असन्तुष्टि अनावश्यक ‘भडकाव’ मात्र रहेछ । यो अरु कसैको इसारामा चालेको–चालिएको कदम भन्ने देखिन्छ । मतदाताहरुले उक्त मुद्दालाई अनुमोदन गरेनन् । ठूलो प्रयासमा पनि थोरै महत्वमा परेको देखियो । त्यहाँका बासिन्दाहरु एक ठाउँमा उभिएर ‘पहिचानको मुद्दामा’ गोलबद्ध भएर लागेको देखिएन । विरोधले एमालेको वा तत् व्यक्तिको प्रभाव वा लोकप्रियतामा असर पारेको देखिएन ।

बझाङको परिणामले कम्युनिष्ट घटकहरु अलग अलग भएर निर्वाचन लड्दा पनि एमोलाई फरक पर्ने रहेनछ भन्ने देखियो । जनाधार कमजोर भएको तथ्यांकबाट देखिएको संसद विघटन होस् अनेकौं भ्रष्टाचारमा काण्ड हुन्, नेकपा विभाजन होस्, माधव, झलनाथलगायतका अलग भएका व्यक्तिहरु नैकिन नहुन्, ओलीकै एकाधिकार किन नहोस् सबै स्वीकार गर्दै अगाडि बढ्न हालको एमाले पंक्ति तयार रहेको र जनता त्यसलाई मतदानमार्फत् पुरस्कृत गर्न इच्छुक नै देखिए । अन्य दलका नेता, उम्मेदवार, कार्यकर्ता, सहयोगीहरुले त्यसलाई चिर्न सकेनन् ।

पार्टीका इमान्दार, असल र योग्य पात्रहरुलाई किनारा लगाएर आफ्नो बाटो खुल्ला भएको ठान्ने ‘ठिटौली’ मनोविज्ञान अझ बढी प्रत्युत्पादक हुने देखिन्छ ।

कांग्रेसको त एउटै भ्वाइससम्म रहेन । पार्टीभित्रको बहुमतका आधारमा अगाडि बढ्ने देउवाको मनस्थिति र त्यसलाई देखाएर आगामी महाधिवेशन वा निर्वाचनमा नेतृत्व हत्याउने कोइराला–थापा समूहको रणनीतिले निर्वाचनलाई लोकतान्त्रिक प्रकृयामा सहभागिता जनाउनेमा मात्र सीमित गरेको देखियो । को कसले कस्तो भूमिका निर्वाह गरे भन्ने त स्थानीय उम्मेदवार, नेता, कार्यकर्ताले जानकारी पाएकै छन् । चिन्ता ‘बुढी मरिन् भन्नेभन्दा पनि काल पल्कियो’ भन्ने हो । धेरै लामो समयदेखि पल्किएको कालले पनि बुझ्न बाँकी नै के छ र ? हामी केही न केही सुधार गर्छौ, नयाँ दिन्छौं भन्ने ठिटाहरु देश विदेश घुम्दै छन कि, प्रतिक्रियाविहीन देखिन्छन् । सुधार अरुबाट देख्न चाहने तर आफू नहुने, नयाँ सोच, चिन्तन र प्रस्तुति अरुबाट खोज्ने आफू यथास्थितिमा रमाउने परम्पराको निरन्तरताले के त केवल स्टन्ट न बुझाउँछ । पार्टीका इमान्दार, असल र योग्य पात्रहरुलाई किनारा लगाएर आफ्नो बाटो खुल्ला भएको ठान्ने ‘ठिटौली’ मनोविज्ञान अझ बढी प्रत्युत्पादक हुने देखिन्छ ।

एकातर्फ चलेको सत्ता दलाली अर्कोतर्फ चालु राजनीतिक दलालीले सिंगो शासन प्रणालीमाथि नै प्रश्न उठाइरहेको छ । राजनीतिमा स्थापित हुन वा चर्चा कमाउन बद्मासीका कम्तीमा आधा दर्जनभन्दा बढी रेकर्ड हुनुपर्ने र त्यसलाई रुचाइने भाष्य बन्दै गएको छ । कर्तुतहरु लुकाउन छिपाउन सत्तामा रहनुपर्ने मानसिकता, बाध्यता र आवश्यकताले नै होला देशका एकसे एक ठग, बद्मास, अपराधि, ठेकेदार डन, विचौलिया, दलाल, तस्कर, व्यापारी, व्यवसायी सके सत्तामा नै पुग्ने, त्यो नभए सत्तासिनहरुको स्वार्थपूर्तिको साधन बन्ने, भ्रष्टहरुलाई असन्तुष्ट बनाउने देशको पहिचान, परिचय र मौलिकतामाथि प्रहार गरी शक्तिकेन्द्रहरुको इसारामा संस्कृति र सभ्यता नष्ट बनाउने अभियानमा देखिन्छन् । दलपतिहरु त्यस्ता पात्र र प्रवृत्तिलाई सयनकक्षसम्मकै पहुँच दिने उनीहरुकै इसारामा शासन चलाउँछन् । अनि हाम्रा ठिटाहरु परिणामविहिन मुख चलाउँछन् ।