कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ : नेता महत

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ : नेता महत


ग्लोब नेपाल
54
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताए । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, “अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।”

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता डा. महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए ।

“विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ”, उनले भने ।

तारुकाको विकासको आवश्यकताका बारेमा आफू परिचित रहेको उल्लेख गर्दै डा महतले भने, “यहाँ खानेपानीको आवश्यकता छ, १२ महिना चल्ने सडकको आवश्यकता, गाउँगाउँलाई जोड्ने सडकको खाँचो छ, त्रिशूली नदीमा मोटरेबल पुल चाहिएको छ, कांग्रेसको नेतृत्वमा धेरै काम भएकोले यहाँको आवश्यकता पनि पूरा हुनेछ ।

गोरु जुधाइ परम्परा सांस्कृतिक, पर्यटकीय महत्त्वको रहेकाले यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने प्रवक्ता डा महतले जोड दिए । बागमती प्रदेशसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले सांस्कृतिक महत्त्वको गोरु जुधाइ मेलाले स्थानीय पर्यटनको विकासमा भूमिका खेलेको बताए ।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गोरु जुधाइ मेलालाई व्यवस्थापन र गोरु जुधाउन ल्याउने किसानका लागि पालिकाले यो वर्ष रु. आठ लाख बजेट दिएको जानकारी दिए ।

माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ । माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । अर्कोतिर बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्वदन्ती छ ।

पहिलापहिला छिमेकीले रमाइलो स्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका गोरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक देखिन्छन् । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ । कुन गोरु कुनसँग जुधाउने, उमेर र आकार हेरेर निर्क्योल गरिन्छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने नुवाकोट जिल्लाको यो सदियौँ पुरानो परम्परा हो ।