डेढ किलो सुन र १ करोड ४३ लाख रूपैयाँसहित ७ जना पक्राउ

डेढ किलो सुन र १ करोड ४३ लाख रूपैयाँसहित ७ जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलो सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन् ।

सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।