कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं : माधव नेपाल

कांग्रेसलाई शत्रु घोषणा गरे हामी सक्किन्छौं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल रहेको टिप्पणी गरेका छन् ।

युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको बताए ।

उनले भने, ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन् । एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ । त्यसैले कोही पनि घमण्डी नहोस् । दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो । तर, प्रधानमन्त्रीले लचकता देखाउनुभयो । अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ । अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ । कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन् । त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो ।

उनले एमालेलाई लक्षित गर्दै अहिले आफूहरुले गरेको गठबन्धन भएपनि कसैलाई त्यो शब्द प्रयोग गर्न अफ्ठ्यारो परेको टिप्पणी गरे ।

नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै हिटलरसँग तुलना गरेका छन् । नेकपा दुई तिहाइमा पुर्याएपछि अहंकार बढेपछि कम्युनिष्ट आन्दोलनमा क्षति पुर्याएको बताए ।

उनले भने, ‘हामी दुई तिहाइको अवस्थमा पुगेका थियौं, त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्न सक्नुपर्थ्यो । त्यो हुन सकेन । समयको सदूपयोग हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो । मैमत्त शक्तिको कारणले अहंकार पैदा भयो । त्यो अहिले कम्युनिष्ट पार्टीमा पनि देखिएको छ । ३० को दशकमा त्यस्तै व्यक्ति जर्मनीमा जन्म भएका थिए त्यसको नाम हिटलर हो । त्यसैले सत्ता शक्तिमा पुगेपछि मात्तिनु हुँदैन । गएको निर्वाचनमा त्यसको क्षति कम्युनष्टि आन्दोलनमा क्षति पुग्यो ।’